Logo

विवादै-विवादमा फसेको एनसेलले नेपाल टेलिकमलाई उछिन्यो, यसकारण घटेन एनसेलमा ग्राहकको आकर्षण ?

विवादै-विवादमा फसेको एनसेलले नेपाल टेलिकमलाई उछिन्यो, यसकारण घटेन एनसेलमा ग्राहकको आकर्षण ?



काठमाडौं । सरकारी लगानी रहेका कम्पनीमध्ये सबैभन्दा सफल कम्पनी मानिएको नेपाल टेलिकमलाई निजी लगानीको एनसेलले उछिनेको छ । नेपाली दूरसञ्चार क्षेत्रको सबैभन्दा प्रमुख सेवाप्रदायक रहेको नेपाल टेलिकम ग्राहकका आधारमा निजी सेवाप्रदायक एनसेलभन्दा पछि परेको हो । उचित व्यवस्थापनको कमी र सुस्त सेवाका कारण नेपाल टेलिकम एनसेलभन्दा पछि परेको देखिएको हो ।

laxmi

हालै नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा भ्वाइस टेलिफोन सेवामा ५१.४० प्रतिशत हिस्सा एनसेलको पुग्दा जम्मा ४८.५९ प्रतिशत हिस्सा मात्रै नेपाल टेलिकमले ओगटेको देखिन्छ । नेपाली दूरसंचार बजारमा लामो समयदेखि राज गर्दै आएको नेपाल टेलिकम सिम वितरणका हिसावले एनसेलभन्दा धेरै अघि भएपनि सक्रिय ग्राहकका आधारमा पछाडि देखिएको हो ।

नेपाल टेलिकमले हालसम्म २ करोड ८ लाख ८७ हजार सिमकार्ड वितरण गर्दा एनसेलले जम्मा १ करोड ३२ लाख ३४ हजार सिमकार्ड वितरण गरेको छ । तर, एनसेलभन्दा करिव ८० लाख बढी सिम वितरण गरेपनि नेपाल टेलिकमका सक्रिय ग्राहक जम्मा १ करोड १६ लाख मात्रै छन् । यो सिम वितरणका आधारमा झण्डै आधाले कम हो । यता एनसेलले भने १ करोड ३२ लाख सिमकार्ड वितरण गरेपनि सक्रिय ग्राहक नेपाल टेलिकमको भन्दा १४ लाखले बढी अर्थात १ करोड २९ लाख बढी छन् । एनसेलले वितरण गरेको सिमकार्डको तुलनामा सक्रिय ग्राहकको संख्याको अन्तर करिव ४ लाखको मात्रै छ ।

नेपाल टेलिकमले नेपालमा पछिल्लो समय आफ्नो ग्राहक र सेवा विस्तारलाई उच्च प्राथमिकता दिएपनि यसमा सफल नभएको यो तथ्यांकले देखाएको छ । पछिल्लो समय देखिएको ग्राहक डाईभर्टको सिलसिलाले आगामी समय नेपाल टेलिकमको ग्राहक संख्यामा थप गिरावट आउने देखिन्छ । तर, के कारणले ग्राहक डाइभर्ट भए भन्ने ठ्याक्कै भन्न नसकिने नेपाल टेलिकमका सहप्रवक्ता परमात्मा भट्टराई बताउँछन् । ‘तथ्यांकमा भनेको कुरा गलत भन्न सकिन्न, जे हो त्यही हो,’ उनले भने, ‘तर, के कारणले सक्रिय ग्राहक घट्दैछन् अहिले नै भन्न सकिने अवस्था छैन ।’ ग्राहकको इच्छालाई रोकेर रोक्न नसकिने हुँदा ग्राहक डाइभर्ट हुनुलाई पनि सामान्य रुपमा लिनुपर्ने उनको भनाई छ ।

यता निजी सेवाप्रदायक एनसेल विवादै–विवादमा फसिरहँदा पनि ग्राहक नेपाल टेलिकमबाट डाइभर्ट भइरहेको देख्न सकिन्छ । एनसेलभन्दा अघिनै नेपालमा दूरसंचार सेवा उपलब्ध गराउन थालेको नेपाल टेलिकमका सक्रिय ग्राहक न्यून बन्दै जाँदा त्यसको असर आम्दानीमा पनि परिरहेको छ ।

सक्रिय ग्राहकको संख्यामा एनसेल नेपाल टेलिकमभन्दा अगाडि देखिएपनि सिमकार्ड वितरण र सक्रिय ग्राहकबीचको अन्तरमा एनसेल धेरै पछि छ । अर्थात एनसेलको सिमकार्ड वितरणको आधारमा सक्रिय ग्राहकको अन्तर जम्मा ४ लाखको छ । यस्तो अन्तर नेपाल टेलिकमको झण्डै ८० लाख बराबरको छ । एनसेलको ग्राहक अन्तरमा न्यून संख्या देखिनुलाई प्राधिकरणका एक अधिकारी कम्पनीले धेरैभन्दा धेरै सिमकार्ड बजारबाट फिर्ता ल्याउनुलाई मान्छन् । सरकारले नै लामो समयसम्म प्रयोग नभएका सिमकार्डलाई बजारबाट फिर्ता ल्याएर पुनःप्रयोग गर्न मिल्ने व्यवस्था गरेको छ । यही व्यवस्थामा टेकेर एक बर्षमै ठूलो संख्यामा सिमकार्ड एनसेलले बजारबार फिर्ता लिएको उनले बताए ।

यसअघि गत बर्षको असोज महिनासम्म एनसेलले वितरण गरेको सिमकार्डको संख्या १ करोड ७३ लाख बढी थियो । त्यसयता यस्तो वितरण गरेको सिमकार्डको संख्या जम्मा १ करोड ३२ लाख पुगेको छ । एनसेलले एक बर्षकै अवधिमा वितरण गरिएकामध्ये ४० लाख सिमकार्ड बजारबाट फिर्ता ल्याएको देखिन्छ । अर्थात सिमकार्ड वितरण गरेपनि निश्चित अवधिसम्म निष्क्रिय रहेका सिमकार्ड कम्पनीले फिर्ता ल्याएर सोही नम्बरमा पुनः सिमकार्ड वितरण गर्न पाइने व्यवस्थाको उपयोग गरेर एनसेलले बजार रणनीति बनाएको देखिन्छ ।

यता नेपाल टेलिकमले भने निश्चित अवधिसम्म निष्क्रिय रहेका सिमकार्डहरु फिर्ता ल्याएपनि ठूलो संख्यामा ल्याउन सकेको छैन । गत बर्षको असोजसम्म नेपाल टेलिकमको वितरित सिमकार्डको संख्या २ करोड १५ लाख ६८ हजार थियो । चालु बर्षको असोजसम्म आईपुग्दा यस्तो संख्या २ करोड ८ लाखमा पुगेको हो । अर्थात एक बर्षको अवधिमा टेलिकमले जम्मा साढे ६ लाख सिमकार्ड बजारबाट फिर्ता ल्याएको देखिन्छ । यसले टेलिकमको बजार रणनीति चुस्त दुरुस्त नभएको बुझ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL