Logo

सुधारको लयमा काठमाडौं : सडकदेखि फुटपाथसम्म परिवर्तन, बालेनको नेतृत्वको प्रशंसा

सुधारको लयमा काठमाडौं : सडकदेखि फुटपाथसम्म परिवर्तन, बालेनको नेतृत्वको प्रशंसा



काठमाडौं । धूलो, धूवाँ र फोहरको पर्यायका रुपमा चिनिने देशको संघीय राजधानी शहर काठमाडौंमा पछिल्लो समय सुधारका संकेत देखिन थालेका छन् । महानगरको नेतृत्वमा बालेन्द्र शाह (बालेन) ले लिएसँगै काठमाडौंका सडकदेखि फुटपाथसम्ममा परिवर्तन देखिएको छ । पछिल्लो समय काठमाडौंका मुख्य सडकहरुमा पहिलेजस्तो खाल्डाखुल्डीहरु कम देखिन्छन भने फुटपाथमा उल्लेखनीय सुधार भएको छ । अहिले काठमाडौं महानगरका धेरै स्थानमा फुटपाथ सुधारको काम धमाधम भइरहेको छ ।

laxmi

काठमाडौंमा सुधारको प्रयास भएको भन्दै अहिले सर्वसाधारणले नेतृत्वको प्रशंसा पनि गरिरहेका छन् । काठमाडौं महानगरपालिकाले गत आर्थिक बर्षदेखि थालेको फुटपाथ सुधारको कामलाई यो बर्ष तीव्रता दिएपछि हाल काठमाडौंका सडकपेटीहरु र फुटपाथहरु चम्किला हुँदै गएका छन् । काठमाडौं महानरपालिकाले चालु आर्थिक बर्ष मात्रै आफ्नो क्षेत्राधिकारभित्र पर्ने सडक साइडका फुटफाथहरु मर्मत गर्नकै लागि भन्दै २ अर्ब रुपैयाँ लागत अनुमान गरी विभिन्न कम्पनीहरुलाई ठेक्का दिएको छ । हाल ठेकेदार कम्पनीहरुले आफुले जिम्मा पाएको कामको करिव ६० प्रतिशत काम सम्पन्न गरिसकेको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।

चालु आर्थिक बर्षभित्रै काठमाडौंका सडकलाई पैदलयाुत्रमैत्री बनाउने योजनासहित महानगरपालिकाले फुटपाथ मर्मतकै लागि भन्दै करिव १ दर्जन बढी कम्पनीलाई ठेक्का दिएको छ । यी कम्पनीहरुले आफुले जिम्मा पाएको काममध्ये औसतमा ६० प्रतिशत काम सम्पन्न गरिसकेको काठमाडौं महानगरपालिकाका सार्वजनिक निर्माण विभाग प्रमुख रामबहादुर थापाले बिजखबरलाई बताए । उनका अनुसार पछिल्लो समय धमाधम काम भईरहेको छ । धेरैजसो स्थानमा पुराना टायल र कर्भ स्टोनहरु निकालेर व्यवस्थित गर्ने र नयाँ टायलहरु हाल्ने काम भइरहेको उनको भनाई छ ।

हाल महानगरपालिकाले लैनचौर, सोह्रखुट्टे हुँदै बालाजुसम्म सडकको दुवैतर्फका फुटपाथ सुधार करिव अन्तिम चरणमा पुर्याएको छ । महानगरपालिकाका अनुसार उक्त खण्डको लागत ४ करोड ५५ लाख रुपैयाँ हो । यस्तै यही लाइनको लैनचौरबाट लाजिम्पाट, महाराजगन्ज हुँदै चक्रपथसम्मको खण्ड सुधारका काम पनि करिव ६० प्रतिशत सम्पन्न भईसकेको छ । यता प्रदर्शनीमार्ग त्रिपुरेश्वरदेखि सुन्धारा महाबौद्ध, रत्नपार्क, जमल हुँदै लैनचौरसम्मको फुटपाथ निर्माण अघि बढेको छ । त्रिपुरेश्वरदेखि सुन्धारा महाबौद्ध, रत्नपार्क, जमल हुँदै लैनचौरसम्मको खण्डका लागि भने ठेक्का भइसकेपनि विभिन्न समस्याका कारण काम भने अघि बढ्न सकेको छैन ।

काठमाडौं महानगरपालिकाले यसरी फुटफाथ सुधारको काम गरिरहँदा नेपाल विद्युत प्राधिकरणसँग पनि समन्वय गरेर पहिले तार भूमिगत गर्न लगाएर मात्रै फुटपाथमा टायल बिछ्याईरहेको छ । यसो गर्दा पुनः चाँडै फुटपाथ खनिहाल्नुपर्ने अवस्था आउँदैन । यस्तै महानगरपालिकाले पुतलीसडक, अनामनगरलगायत क्षेत्रका फुटपाथ पुर्ण रुपमा मर्मतसम्भार गरिसकेको छ । यता नयाँ बजारखण्डमा पर्ने जग्गा एकीकरण आयोजना क्षेत्र, बालुवाटार सडकखण्ड, तीनकुनेदेखि सिनामंगल, त्रिभुवन विमानस्थल प्रवेशद्वार, सञ्चारग्राम, तिलगंगा हुँदै गौशालासम्मकाको काम धमाधम भएर धेरैजसोको काम अन्तिम चरणमा पुगेको महानगरपालिकाले जानकारी दिएको छ । नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, थापाथलीदेखि टेकु हुँदै कालिमाटीसम्म, बागबजारदेखि चारखाल, डिल्लीबजार पीपलबोट, मैतीदेवी चोक, सेतो पुल, पुरानो बानेश्वर, भीमसेनगोला हुँदै सिनामंगल सडक खण्डको काम पनि करिव ६० प्रतिशत सम्पन्न भएको देखिएको छ ।

यसरी धमाधम काम गरेरै महानगरपालिकाले चालु आर्थिक बर्षभित्रै काठमाडौंका सबैजसो फुटपाथहरुलाई व्यवस्थित गर्न लागेको निर्माण विभाग प्रमुख थापा बताउँछन् । यसरी फुटपाथ व्यवस्थित गर्दैगर्दा महानगरपालिकालाई नेपाल विद्युत प्राधिकरणले सडक पेटी नै ढाक्नेगरी राखेका डिस्ट्रिब्युसन प्यानल, व्यक्तिगत जग्गा र विदेशी नियोगका कार्यालयहरुका कारण समस्या देखिएको पनि उनले बताए ।

सडकपेटी छेक्नेगरी राखिएका विद्युत डिस्ट्रिब्युसन प्यानलहरुलाई पातला प्यानलले नेपाल विद्युत प्राधिकरणले स्थानान्तरण गर्ने तयारी गरिरहेको छ । फुटपाथ सुधारमा व्यक्तिगत जग्गा ज्यादै न्यून पर्ने भएकाले समस्या नआएपनि केही स्थानमा भने विदेशी नियोगका निकायहरुका कारण फुटपाथ नै नहुँदा के गर्ने भन्ने समस्या छ । यसको समाधानका लागि भने महागरपालिकाले परराष्ट्र मन्त्रालयको सहजीकरण खोजेको महानगरको भनाई छ । काठमाडौं महानगरपालिकाले हाल फुटपाथमा विछ्याईरहेका नयाँ रंगिन टायलहरु भने एशियन कंक्रिटोसँग खरिद गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL