Logo

मन्त्रिपरिषद ठूलो कि बोर्ड ?, स्टक लाइसेन्समा मन्त्रिपरिषद्को निर्देशन लत्याएर किन अघि बढ्दैछन् अध्यक्ष हमाल

मन्त्रिपरिषद ठूलो कि बोर्ड ?, स्टक लाइसेन्समा मन्त्रिपरिषद्को निर्देशन लत्याएर किन अघि बढ्दैछन् अध्यक्ष हमाल



काठमाडौं । नयाँ स्टक एक्स्चेञ्जको लाइसेन्स जारी गर्ने सम्बन्धमा बैशाख २६ गते बसेको मन्त्रिपरिषद्को बैंठकले ‘पुँजी बजार विकास र लगानीकर्ताको हितलाई संरक्षण गर्ने दृष्टिले थप अध्ययन गरी यस सम्बन्धमा निर्णय गर्नु उपयुक्त देखिदा अनुमतिपत्र प्रदान गर्नेसम्बन्धी काम कारबाही हाललाई अघि नबढाउने’ भन्दै धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो ।

laxmi

मन्त्रिपरिषदले तत्कालका लागि नयाँ लाइसेन्स प्रक्रिया रोक्दै दिएको उक्त निर्देशनअनुरुप धितोपत्र बोर्डले अहिलेको पुँजी बजारको अवस्थामा नयाँ लाइसेन्स आवश्यक भए नभएको सम्बन्धमा थप अध्ययन गर्नुपर्ने हुन्छ । तर, धितोपत्र बोर्डका अध्यक्ष हमालले भने मन्त्रिपरिषदको उक्त निर्णय लत्याउँदै कुनै अध्ययन नै नगरी नयाँ लाइसेन्स जारी प्रक्रिया अघि बढाएका छन् ।

आफ्नो कार्यकालको अन्तिममा जसरी पनि नयाँ स्टकको लाइसेन्स जारी गर्ने उद्देश्यअनुरुप अध्यक्ष हमालले गत शुक्रबार संचालक समितिको बैठक राखेर सो सम्बन्धमा सहजिकरण तथा निर्देशनको लागि भन्दै अर्थ मन्त्रालयलाई पत्र लेखेको थियो । अर्थ मन्त्रालयले यही सोमबार जवाफी पत्र लेख्दै मन्त्रिपरिषद्को तत्कालीन निर्देशनअनुरुप थप के अध्ययन भयो सो सम्बन्धमा बोर्डको स्पष्ट धारणा खुलाई पठाउन निर्देशन दिएको थियो । तर, अध्यक्ष हमालले बुधबार पुनः संचालक समितिको बैठक बोलाए ।

उक्त बैठकमा हमाल अल्पमतमा परेपनि बैठक सकेपछि नयाँ स्टक लाइसेन्स दिनेसम्बन्धमा अर्थ समिति र सर्वोच्च अदालतबाट क्लिन चिट पाइसकेकाले थप अध्ययन गर्न नपर्ने भन्दै माइन्युट तयार पारेर अर्थ मन्त्रालयलाई पत्र पठाउने निर्णय गरेको बोर्ड स्रोतले जानकारी दिएको छ । बुधबार बसेको संचालक समिति बैठकलाई कानुन मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक हुमबहादूर केसी र नेपाल उद्योग वाणिज्य महासंघकोतर्फबाट प्रतिनिधित्व गर्ने संचालक सुरकष्ण बैद्यले बहिस्कार गरेका थिए भने नेपाल राष्ट्र बैंककोतर्फबाट प्रतिनिधित्व गर्ने संचालक डा. प्रकाशकुमार श्रेष्ठ भने नयाँ स्टक एक्सचेञ्जको विषयमा अहिले प्रक्रिया अघि बढाउन नहुने भन्दै बाहिरिएका थिए । तर, अध्यक्ष हमालले भने माइन्युटको उक्त टिप्पणी उठाएर संचालकको घरमैमा पुर्याएर हस्ताक्षर गराउने गरी अघि बढेको उक्त स्रोतले जानकारी दिएको छ ।

बुधबार भएको बैठकमा अर्थ समिति र सर्वोच्च अदालतको निर्णयअनुसार अर्थमन्त्रालयलाई पत्र लेख्ने विषयमा छलफल भएको तर उक्त माइन्युटमा आफुले हस्ताक्षर नगरेको अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने संचालक रितेश शाक्यले बताए । ‘बुधबार भएको बैठकमा प्रकाश सर चाडै निस्कनुभयो भने कानून मन्त्रालय र निजी क्षेत्रबाट प्रनिनिधित्व गर्ने संचालकहरु आउनुभएको थिएन,’ उनले भने, ‘हामी त्यसपछि अध्यक्ष, स्वतन्त्र संचालक भोलानाथ ढुंगाना केही समय कफी खाएर निस्कियौं ।’

पछिल्लो समय नयाँ स्टक लाइसेन्स वितरणमा ठूलो आर्थिक चलखेल भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ । तर, हमाल धितोपत्र बार्डमा अध्यक्ष हुनपूर्व नै जसरी पनि स्टक लाइसेन्स दिन्छु भनेर स्वार्थ समूहसँग प्रतिवद्धता जनाएका कारण अन्तिम समयमा भएपनि दू्रत गतिमा प्रक्रिया अघि बढाएको सम्बद्ध स्रोतले जानकारी दिएको छ । साथै अध्यक्ष हमालले बैठकपश्चात संसदीय समिति र सर्वोच्च अदालतबाट क्लियरेन्स पाएका कारण यस विषयमा थप अध्ययन गर्न नपर्ने भन्दै माइन्युट गर्न लगाएर हस्ताक्षरका लागि संचालकलाई प्रभाव र दबाब दिइरहेको समेत उक्त स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL