Logo

अध्ययनका लागि बिधार्थी विदेशिदा देशको ढुकुटी रित्तिदै, वार्षिक १ खर्ब बढी रकम विदेश पुग्दै

अध्ययनका लागि बिधार्थी विदेशिदा देशको ढुकुटी रित्तिदै, वार्षिक १ खर्ब बढी रकम विदेश पुग्दै



काठमाडौं । पछिल्लो समय नेपालमा सरकारी खाता दिनानुदिन घाटामा गइरहेको छ । यता भुक्तानी सन्तुलनको खाताभित्र पर्ने सेवा आय पनि लगातार ऋणात्मक हुँदै आएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको ४ महिना अर्थात साउनदेखि कार्तिकसम्म मात्रै नेपालको सेवा खाता २८ अर्ब २० करोड रुपैयाँले घाटामा छ ।

laxmi

अर्थात नेपालले यस अवधिमा सेवा विक्री गरेवापत ७२ अर्ब ७६ करोड रुपैयाँ आम्दानी गर्दा सेवा खरिद गरेवापत भने १ खर्ब ९६ करोड रुपैयाँ खर्च गरेको छ । यसरी सेवा विक्री गरेकोभन्दा खरिद गरेको मूल्य बढी हुँदा नेपालले पछिल्लो ४ महिनामा मात्रै २८ अर्ब बढीको घाटा व्यहोर्नुपरेको हो ।

यो गत आवको यही अवधिको तुलनामा ५.३ प्रतिशतले बढी पनि हो । अर्थात नेपालले गत आवको यहि अवधिमा २६ अर्ब ७८ करोड रुपैयाँ सेवा घाटा व्यहोर्नुपरेको थियो । खासगरी कोरोना महामारीपछि नेपालमा पर्यटन आवागमनमा लगातार गिरावट आउँदा नेपालले सेवा विक्री गरेवापतको आम्दानी गुमाइरहेको छ ।

राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्दा चालु आवको पहिलो ४ महिनामा सेवा आय शीर्षकको पर्यटन आयमा मात्रै ३६ अर्ब १८ करोड रुपैयाँ घाटा व्यहोर्नुपरेको छ । अर्थात यस अवधिमा नेपालमा आएका विदेशी पर्यटकले जम्मा २५ अर्ब ७३ करोड रुपैयाँ खर्च गर्दा नेपालीले भने विदेशमा गएर ६१ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेका छन् । यसरी नेपालले पर्यटन आयमा ठूलो घाटा व्यहोरेको हो ।

यसरी सेवा आय घाटामा गइरहँदा सबैभन्दा ठूलो प्रभाव पार्ने शीर्षक भने शिक्षा व्यय हो । नेपालबाट बर्षेनी हजारौं युवाहरु विकशित राष्ट्रहरुमा अध्ययन गर्ने भन्दै खर्बौं रुपैयाँ लिईरहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकका अनुसार नेपालले पछिल्लो ४ महिनामा मात्रै शिक्षा शीर्षकमा ३६ अर्ब ५९ करोड १६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अर्थात चालु आवको पहिलो ४ महिनामा मात्रै नेपालबाट विभिन्न देशमा पढ्न जाने विद्यार्थीले ३८ अर्ब ५५ करोड रुपैयाँ विदेश लिँदा यो शीर्षकमा ठूलो घाटा व्यहोर्नुपरेको देखिन्छ ।

खासगरी नेपालबाट विदेश पढ्न जाने विद्यार्थीले गत आर्थिक बर्षको यही अवधिमा २२ अर्ब ६१ करोड रुपैयाँ विदेश लिएका थिए । यसरी हेर्दा शिक्षाकै लागि भन्दै विभिन्न देशमा जाने यस्तो रकम गत आवको तुलनामा ७० प्रतिशतले बढेको छ । गत आव २०७९/८० मा नेपाली विद्यार्थीले नेपालबाट १ खर्ब ४२ करोड रुपैयाँ लिएका थिए । यो अघिल्लो आवको तुलनामा १११ प्रतिशतले बढी हो । आव २०७८/७९ मा नेपालबाट पढ्न जाने विद्यार्थीले ६७ अर्ब ७० करोड रुपैयाँ विदेश लिएका थिए

विदेश जाने विद्यार्थीको संख्या बढ्दै

खासगरी नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीको संख्या बढेपछि नै शिक्षाका लागि भन्दै बाहिरिने पैसा पनि बढेको देखिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म मात्रै करिव ५० हजार विद्यार्थीले नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन् । मन्त्रालयका अनुसार गत आर्थिक बर्षभर यस्तो एनओसी लिने विद्यार्थीको संख्या १ लाख १० हजार २ सय १७ थियो । यो अघिल्लो आव २०७८/७९ को तुलनामा करिव ८ हजारले बढी हो ।

उक्त आवमा करिव १ लाख २ हजार विद्यार्थीले मन्त्रालयबाट एनओसी लिएका थिए । अझ आव २०७७/ ७८ मा भने कोरोना महामारीका कारण पनि विदेश जाने विद्यार्थीको संख्यामा गिरावट आएको थियो । त्यो बर्ष नेपालबाट २८ हजार ८ सय ८३ विद्यार्थीले मात्रै एनओसी लिएका थिए । यसरी प्रत्येक बर्ष ठूलो संख्यामा विदेश पढ्न जाने विद्यार्थीको संख्यामा वृद्धि हुँदै जाँदा यसको प्रत्यक्ष प्रभाव नेपालको सेवा खातामा देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL