Logo

भारतीय प्याजको भरमा नेपाली बजार, भारतमा मूल्य बढ्दा नेपालमा हाहाकार

भारतीय प्याजको भरमा नेपाली बजार, भारतमा मूल्य बढ्दा नेपालमा हाहाकार



काठमाडौं । हुन त नेपाललाई कृषिप्रधान देश भनिन्छ । तर, यहाँ उत्पादन भएका धेरैजसो कृषि उपजले देशभित्रैको मागलाई धान्न नसकेपछि विदेशबाट ल्याएर उपयोग गर्ने बाध्यात्मक अवस्था छ । यसैको एउटा उदाहरण हो प्याज ।

laxmi

नेपालमा प्याज प्रशस्तै मात्रामा उत्पादन हुने भएपनि यसले आन्तरिक खपत नधानेपछि भारतबाट आयात गर्नुपर्ने अवस्था जगजाहेरै छ । यसैका कारण भनौं नेपालले चालु आर्थिक बर्षको कार्तिकसम्म मात्रै १ अर्ब ६२ करोड रुपैयाँ बराबरको ३ करोड ९१ लाख किलो प्याज आयात गरेर खपत गरेको छ ।

यसरी आयात गरेको प्याजको ९९ प्रतिशत हिस्सा भारतीय प्याजले धानेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार भारतबाट मात्रै यस अवधिमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको ३ करोड बढी किलो प्याज आयात भएको देखिन्छ ।
यसरी नेपालले खपत गर्ने धेरैजसो प्याज भारतबाट मात्रै आयात गरेर उपभोग गर्नुपर्ने अवस्थाकै कारण भारतले प्याज निर्यातमा सानो परिवर्तन गर्नेवित्तीकै यसको असर नेपाली भान्सामा पर्छ ।

यसैको शिलशिला भनौं गत भदौ २ गते मात्रै भारतको वित्त निगमले भारतीय बजारमा प्याजको मूल्य बढ्दै गर्दा यसकाे मूल्यमा उत्तारचढाव हुन नदिनका लागि भन्दै यसको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेको थियो । शनिबार गरिएको यस्तो निर्णय सार्वजनिक सूचनाद्वारा सार्वजनिक गरिएको थियो ।

त्यसको भोलीपल्टै नेपालमा प्याजको मूल्य बढेर प्रतिकिलो ६१ रुपैयाँबाट ७८ रुपैयाँमा पुगेको थियो । त्यसयता नेपालमा लगातार प्याजको मूल्य हालसम्मै बढिरहेको छ ।

तर, पुनः गएको हप्ता बिहीबार भारतीय वैदेशिक व्यापार महानिर्देशनालयले प्याजको निर्यातमै प्रतिवन्ध लगाएको जानकारी दिएको छ । महानिर्देशनालयका अनुसार भारतीय बजारमा प्याजको मूल्य सन्तुलन गर्नकै लागि भन्दै आगामी २०२४ को मार्चसम्म प्याज निर्यातमा प्रतिबन्ध लगाईएको हो ।

यसले नेपाली बजारलाई झन ठुलो असर गर्याे । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले त्यस्तो घोषणा गरेको केहिदिनमै अर्थात सोमबार मात्रै नेपाली बजारमा प्याजको मूल्य प्रतिकिलो १ सय ४१ रुपैयाँ पुगेको छ । यसअघि गत हप्ताको सोमबारसम्म नेपाली बजारमा प्याज प्रतिकिलो ९७ रुपैयाँका दरले कारोबार भईरहेको थियो ।

त्यसबीचमा नेपाली प्याज व्यापारीले प्याजमा भ्याट लगाएको भन्दै यसको विक्री नै रोकेका थिए । पछि आन्तरिक राजश्व विभागले प्याजमा भ्याट नलगाएको स्पष्टिकरण त दियो तर, केहि समयपछि भारतले भने यसको निर्यातमा प्रतिवन्ध लगायो । जसका कारण हाल नेपाली बजारमा प्याजको मूल्य अत्याधिक उच्च विन्दुमा पुगेको छ ।

यसरी भारतीय एक निर्णयले नेपाली बजारमा प्याजको मूल्य बढेको मात्रै छैन बजारमा यसको हाहाकार पनि मच्चिएको छ । हाल धेरैजसो पसलमा प्याज भेटिँदैन ।

खासगरी भारतीय प्याज उपयोग गर्ने नेपाललगायत म्यानमार, भुटान, बंगलादेशलगायतका देशमा पनि यसको मूल्य उच्च र आपुर्ति न्युन रहेको विभिन्न अन्तरराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

प्याजको मूल्य बढेसँगै र भारतले निर्यातमा प्रतिवन्ध लगाएसँगै कालिमाटी तरकारी बजारमा पनि यसको आपुर्ति न्युन हुनलागेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् । उनका अनुसार पछिल्लो एक हप्तामा मात्रै कालिमाटीमा आउने भारतीय प्याजको आयात ६१ हजार किलोले घटिसकेको छ ।

गत हप्ताको सोमबार ९८ हजार बढी किलो आयात भएको प्याज यो हप्ताको सोमबारसम्म घटेर ३७ हजार किलोमा सीमित भएको हो ।

नेपाली भान्सामा मसला र तरकारीका रुपमा प्रयोग गरिने प्याज भारतबाटै बढी आयात हुने भएपछि यस्तो समस्या निम्तीएको उनी बताउँछन् ।

हालसम्मको तथ्यांक हेर्दा नेपालमा भारत, चीन, ईजिप्ट, अष्ट्रेलियालगायत ८ देशबाट प्याज आयात हुनेगरेको छ । त्यसमध्ये भारतले मात्रै नेपालमा आयात हुने कुल प्याज आयातको ९८ प्रतिशत हिस्सा ओगटेको छ ।

पछिल्लो ५ बर्षकै तथ्यांक हेर्दा पनि नेपालले भारतबाट २३ अर्ब ४० करोड रुपैयाँ बराबरको प्याज आयात गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL