Logo

प्राधिकरणको निर्देशन टेर्दैनन् बीमा कम्पनी, पुँजी वृद्धिको लक्ष्य भएन पूरा

प्राधिकरणको निर्देशन टेर्दैनन् बीमा कम्पनी, पुँजी वृद्धिको लक्ष्य भएन पूरा



काठमाडौं । बीमा कम्पनीहरुले बीमा प्राधिकरणको निर्देशन उल्लंघन गरेका छन । अधिकांश बीमा कम्पनीहरुले बीमा प्राधिकरणले चुक्ता पुँजी बढाउनको लागि दिएको निर्देशन समयावधि कटेको ४ महिना बितीसक्दा पनि पुँजी वृद्धि गर्न नसकेका हुन् । बीमा कम्पनीहरुले प्राधिकरणले तोकेको सीमामा चुक्ता पुँजी पुर्याउन नसकी प्राधिकरणको निर्देशन उल्लंघन गरेका हुन् ।
हाल निर्जीवन बीमा कम्पनी र जीवन बीमा कम्पनी गरेर २८ वटा बीमा कम्पनीहरु नेपालमा सञ्चालनमा छन । जसमध्ये १४ निर्जीवन र १४ नै जीवन बीमा कम्पनी छन ।

laxmi

नेपाल बीमा प्राधिकरणले गत आर्थिक वर्षको चैत मसान्तभित्र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको थियो । तर, उक्त समयमा पनि बीमा कम्पनीहरुले तोकेको जती पुँजी वृद्धि गर्न नसकेपछि प्राधिकरणले कम्पनीलाई गत असार मसान्तसम्ममा पुँजी वृद्धिको प्रक्रिया पुरा गर्न भन्दै म्याद थपिदिएको थियो ।

तर, प्राधिकरणले दिएको समय सकिएकै ४ महिना हुँदासम्म पनि केहि कम्पनीबाहेक धेरैजसो कम्पनीले चुक्ता पुँजी पुर्याउन सकेका छैनन् । प्रधिकरणले बीमा कम्पनीले सेवाग्राहीलाई दिने सेवा सुविधा प्रभावकारी नभएका कारण चुक्ता पुँजी वृद्धि गर्न दबाब दिँदै आएको थियो । प्राधिकरणले बीमा कम्पनीहरुलाई मर्जर वा अन्य माध्यमबाट चुक्ता पुँजी वृद्धि गर्न सुविधासमेत दिएको छ ।

चुक्ता पुँजी वृद्धि गर्नको लागि कतिपय कम्पनीले बीमा प्राधिकरणमा आफ्ना योजनाहरु पठाएको बीमा प्रधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेल बताउँछन । उनका अनुसार चुक्ता पुँजी नपुर्याउने अधिकांश कम्पनीले प्राधिकरणमा पुँजी वृद्धिको योजना पेस गरेका छन । बीमा कम्पनीले पुँजी वृद्धि गर्नको लागि हकप्रद सेयर जारी गर्ने, बोनस सेयर बाँड्ने देखी एफपिओ निष्कासन गर्नेसम्मका योजनाहरु प्राधिकरणमा पेस गरेको पौडेलले बताए ।

यसैगरी, बीमा प्राधिकरणले बीमा कम्पनीको संख्या धेरै भएका कारण पुँजी वृद्धि गर्नको लागि कम्पनीहरु मर्जरमा जानुपर्ने व्यवस्था पनि गरेको थियो । उक्त निर्देशन दिएको समयसम्म निर्जीवन तथा जीवन गरी ३९ वटा कम्पनी सञ्चालनमा थिए । मर्जरकै कारण कम्पनीको उक्त संख्या घटेर हाल २८ वटामा सीमित भएको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये ३ जीवन बीमा कम्पनीको मात्र चुक्ता पुँजी ५ अर्बभन्दा माथि रहेको छ । यस अवधिसम्म सबैभन्दा धेरै चुक्ता पुँजी भएको जीबन बीमा कम्पनीमध्ये नेपाल लाईफ इन्स्योरेन्स एक हो । कम्पनीको चुक्ता पुँजी यस अवधीसम्म ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५ सय रुपैयाँ रहेको छ । यसैगरी, चुक्ता पुँजी प्राधिकरणले तोकेको सीमाभन्दा माथि पुर्याउन सफल इन्स्योरेन्स कम्पनी नेशनल लाईफ इन्स्योरेन्स र हिमालयन इन्स्योरेन्स पनि छन् । यी कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँभन्दा माथि रहेको छ । बाँकी कम्पनीले चुक्ता पुँजी प्राधिकरणले तोकेको सीमासम्म पुर्याउन सकेका छैनन् ।

जीबन बीमा कम्पनीको चुक्ता पुँजी सूचीमा

यसैगरी, सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीमध्ये ४ कम्पनीले मात्र प्राधिकरणले तोकेको सीमासम्म चुक्ता पुँजी बनाउन सफल भएका छन । यस अवधिसम्म आउँदा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी सबैभन्दा धेरै रहेको छ । यस कम्पनीले यस अवधिसम्म ३ अर्ब २ करोड रुपैयाँ माथि चुक्त पुँजी बनाउन सफल भएको छ ।

यो कम्पनीले मर्जरमा गएर चुक्ता पुँजी वृद्धि गरेको हो । यसैगरी प्राधिकरणले तोकेको सीमामा पुँजी पुर्याउन सफल निर्जीवन बीमा कम्पनी शिखर इन्सोरेन्स कम्पनी, सगरमाथा इन्स्योरेन्स कम्पनी, सिद्धार्थ इन्स्योरेन्स कम्पनी रहेका छन । बाँकी १० निर्जीवन बीमा कम्पनीले प्राधिकरणले तोकेको सीमामा पुँजी पुर्याउन सकेका छैन्न ।

निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी सूचीमा

प्रतिक्रिया दिनुहोस्
MBL