Logo

हिमालयन रि–इन्स्योरेन्सको आईपीओमा २४ हजारले दिए आवेदन

हिमालयन रि–इन्स्योरेन्सको आईपीओमा २४ हजारले दिए आवेदन



काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीको आईपीओमा शुक्रबार साँझसम्म २४ हजार १ सय ३ जनाको आवेद परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार शुक्रबार साँझ ५ बजेसम्म ५० करोड ९४ लाख ३५ हजार ९ सय ४० रुपैयाँ बराबरको २४ लाख ७२ हजार ९ सय ९० कित्ता सेयरमा आवेदन परेको छ ।

laxmi

यस कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि मंसिर ४ गतेबाट प्रिमियम मूल्यमा आइपीओ खुला गरेको हो । यस आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले मंसिर १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०६ रुपैयाँ दरमा आइपीओ ल्याएको हो । हिमालयनले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

यसअनुसार कम्पनीले यसको १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गरेको हो । यसपछि सर्वसाधारणमा आइपीओ खुला हुनेछ । यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले यस इन्सुरेन्सको आइपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ ए’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ । यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL