Logo

नगद अनुदानको घोषणाले खानेपानीको निर्यातमा सुधार, नेपाली स्वच्छ पानीको माग भुटानदेखि अमेरिकासम्म

नगद अनुदानको घोषणाले खानेपानीको निर्यातमा सुधार, नेपाली स्वच्छ पानीको माग भुटानदेखि अमेरिकासम्म



काठमाडौं । सरकारले घोषणा गरेको निर्यातमा नगद अनुदानकै कारण यो बर्षको सुरुवातमा नेपालबाट निर्यात हुने खानेपानीको परिमाण बढेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो ४ महिना (साउन–कार्तिक)सम्म १४ लाख ४ हजार रुपैयाँ बराबरको १३ हजार ३ सय ४७ लिटर खानेपानी निर्यात गरेको छ । यो गत आर्थिक बर्ष २०७९/८० को पहिलो ४ महिनाको तुलनामा अत्याधिक बढी हो । गत आर्थिक बर्षको यहि अवधिमा जम्मा १३ हजार रुपैयाँ बराबरको ४ सय ८८ लिटर शुद्ध खानेपानी मात्रै निर्यात भएको थियो ।

laxmi

अर्थमन्त्री जनार्दन शर्माले गत आवको बजेटमै खानेपानीलगायत थप ९ वस्तुलाई निर्यातमा नगद अनुदान पाउने वस्तुको सूचीमा समावेश गर्ने व्यवस्था गरिने घोषणा गरेका थिए । यस्तै बजेटमै हिमालको पानी ब्रान्डिङ गर्ने व्यवस्थासमेत गरिएको थियो । त्यसको कार्यान्वयन सुरुसमेत भईसकेको छ । त्यसपश्चात भने नेपालमा खानेपानीको निर्यात केहि उकालो लागेको देखिएको छ ।

भन्सार विभागकै तथ्यांकलाई आधार मान्दा अघिल्लो आर्थिक बर्ष २०७८÷७९ को तुलनामा गत आर्थिक बर्षभमा खानेपानीको निर्यात भने घटेको थियो । अर्थात गत आर्थिक बर्षमा नेपालले विभिन्न ३ शीर्षकमा १४ लाख ५१ हजार रुपैयाँ बराबरको १५ हजार ५ सय ९३ लिटर मात्रै खानेपानी निर्यात गरेको थियो । यो अघिल्लो आवको तुलनामा ४३ लाख ३१ हजार रुपैयाँले कम हो । अघिल्लो आवमा नेपालले ५७ लाख ८२ हजार रुपैयाँ बराबरको ४३ हजार ४ सय १२ लिटर पानी निर्यात गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा पानी निर्यातको परिमाण र रकम नबढेपनि चालु आवको पहिलो ४ महिनामा भने पानी निर्यातमा उच्च वृद्धि भएको देखिएको हो ।

यद्यपि चालु आवको ४ महिनामा निर्यात भएको खानेपानीले यहि समयमा आयात भएको खानेपानीको परिमाणलाई भने उछिन्न नसकेको भन्सार विभागले जानकारी दिएको छ । यसै अवधिमा नेपालले विभिन्न देशबाट २३ लाख ४७ हजार रुपैयाँको २२ हजार ४ सय ७ लिटर खानेपानी आयात गरेको हो । यो नेपालको निर्यातको तुलनामा झण्डै दोब्बर हो ।

गुलियो मिसाईएको पानीे निर्यात १४ करोडले घट्यो

चालु आर्थिक बर्षको पछिल्लो ४ महिनामा शुद्ध खानेपानीको निर्यात अत्याधिक बढेपनि गुलियो वा रसायन मिसाइएको पानी निर्यातमा भने उच्च गिरावट देखिएको छ । भन्सार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आवको तुलनामा यस्तो पानीको निर्यात १४ करोड२९ लाख ६९ हजार रुपैयाँले घटेको हो । गत आवको पहिलो ४ महिनामा नेपालले विभिन्न देशमा १४ करोड ४३ लाख ७८ हजार रुपैयाँ बराबरको २४ लाख ९७ हजार ९ सय ७२ लिटर पानी निर्यात भएकामा यो बर्ष जम्मा १८ हजार रुपैयाँ बराबरको ८ सय ६४ लिटर पानी मात्रै निर्यात भएको छ । यसरी चालु आर्थिक बर्षको पहिलो ४ महिनामा पानीको समुहमा पर्ने गुलियो मिसाइएको पानीको निर्यात घट्दा समग्र पानी निर्यातमा भने गिरावट आएको भन्सार विभागले जानकारी दिएको छ । तर, शुद्ध पानीको मात्रै निर्यात भने बढेको तथ्यांकमा उल्लेख छ ।

तथ्यांकअनुसार नेपालले जर्मनी, भुटान, भारत, जापान, अमेरिका, अष्ट्रेलियालगायतका देशहरुमा पानी निर्यात गर्ने गरेको हो । पछिल्लो समय विश्वबजारमै स्वच्छ खानेपानीको माग बढ्दो छ । नेपालका नदीनालाहरुमा बगिरहने प्राकृतिक पानी निर्यात गरेर अथाह आम्दानी गर्न सकिने सम्भावना रहेको बहस डेढ दशक अघिदेखि नै चल्दै आएको छ । तर, यस क्षेत्रका सरोकारवालाहरुले खासै चासो नदिँदा र सरकारले पनि उचित व्यवस्था नगरिदिँदा नेपालको पानी विभिन्न देशमा पुग्न नसकेको निर्यातकर्ताहरु बताउँछन् ।

विश्व व्यापारको तथ्यांक राख्ने ट्रेडम्यापका अनुसार विश्वका विभिन्न देशहरुले बर्षेनी १८ अर्ब अमेरिकी डलर बराबरको पानीको आयात गर्छन । यस्ता देशहरुले खासगरी तेस्रो मुलुकबाट पानी आयात गर्ने गरेको तथ्य उक्त तथ्यांकमा देखिन्छ । तथ्यांकअनुसार विश्वमा सबैभन्दा बढी पानी आयात गरेर खपत गर्ने देश भने अमेरिका हो । अमेरिकाले मात्रै बर्षेनी १ अर्ब डलर बढीको खानेपानी आयात गरेर खपत गर्ने गरेको छ । यस्तो पानी आयात गरेर खपत गर्ने देशको सूचीमा हंगकंग, जर्मनी, नेदरल्याण्ड, चीन, बेलायत, फ्रान्स, जापानलगायतका देशहरु छन् । यी देशहरुले बार्षिक ५० करोड अमेरिकी डलरमाथिको पानी आयात गरी खपत गर्नेगरेको तथ्यांकमा देखिन्छ ।

यसरी विश्वका ठूला देशहरुले पानी आयात गरेर खपत गरिरहेको मौकालाई छोप्दै अथाह सम्भावना भएको नेपालले पनि पानी निर्यातमा अग्रसरता देखाउनुपर्ने नेपाल बोटल वाटर्स इन्डष्ट्रिज एशोसिएसनका अध्यक्ष ध्रुब गौतम बताउँछन् । उनी सरकारले हालसम्म मौखिक रुपमा पानी निर्यातका लागि सुविधा ल्याउने भनेपनि भौतिक रुपमा त्यस्तो सुविधा दिन नसकेको गुनासो गर्छन । ‘अघिल्ला बर्षहरुको तुलनामा यो बर्ष पानीको निर्यात केहि बढेको छ,’ उनले भने, ‘यसै बेलामा सरकारले पानी निर्यातकर्ताहरुका लागि भनेर गरिएको घोषणाहरु पुरा गरे यसमा झन सहजीकरण हुने थियो ।’ हाल नेपालको गोसाईँकुण्ड, ककनी, लेलेलगायतका स्थानको पानीको गुणस्तर विश्वका अन्य बजारको पानीको तुलनामा बढी छ । यहि पानीलाई निर्यात गर्न सकेको अवस्थामा अर्थतन्त्रमा ठुलो फड्को मार्न सकिने उनको भनाइृ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL