Logo

फूल व्यावसायीको गुनासो : महानगरले तोकेको स्टलबाट बेच्दा घर फर्किने भाडासम्म उठेन

फूल व्यावसायीको गुनासो : महानगरले तोकेको स्टलबाट बेच्दा घर फर्किने भाडासम्म उठेन



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तोकेको भृकुटीमण्डपको स्टलबाट फूल बिक्री नभएको भन्दै किसान–व्यापारीले गुनासो गरेका छन् ।

laxmi

काठमाडौँ महानगरले भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडीगाउँ र बालाजु भ्याली कोल्ड स्टोर छेउमा फूल बिक्रीका लागि ठाउँ तोकेर ती ठाउँहरूबाट फूल बिक्री भइरहेको छ । तर त्यो ठाउँमा फूल बिक्री गरिरहेका किसानले भने महानगरको निर्णय ढिला हुँदा समयमा प्रचारप्रसार नपुगेका कारण आफूहरुको फूल बिक्री राम्रो नभएको दुःखेको गरेदद्धका छन् ।

भृकुटीमण्डपका फूल व्यापारीले निश्चित ठाउँ तोकेर बिक्री गर्नु राम्रो भए पनि ठाउँबारे समयमै प्रचार हुन नसक्दा सोचेअनुसार बिक्री हुन नसकेको बताए । व्यापारी मंगेश लिम्बूले आफूहरू मर्कामा परेको बताए । फुटपाथमा राख्नुभन्दा यहाँ व्यवस्थापन गर्नु राम्रो भए पनि विज्ञापनमा ढिलाइ गर्नाले समस्या आफूहरुको लगानी र मेहनत खेर गएको बताए । व्यापारी लिम्बूले भने, ‘निश्चित ठाउँ तोकिनु अत्यन्तै राम्रो । विज्ञापन १५ दिनअघि गरेको भए व्यापारी र किसानलाई मर्का पर्ने थिएन । जानकारी भएको भए मान्छे फूल किन्न आउँथे ।’

त्यस्तै काभ्रे कोशिपारिबाट फूल बेच्न भृकुटीमण्डप आएका व्यापारी सुजन श्रेष्ठले भृकुटीमण्डप कोल्टे ठाउँ भएकाले फूल किन्न ग्राहक नआएको दुःखेसो गरे । उनले गाडी भाडा समेत नउठेको बताए । उनले भने, ‘भृकुटीमण्डप कोल्टे ठाउँ भएकोले फूल बेच्न पाएनौँ । ग्राहक आएनन् । गाडी भाडासम्म उठेन । घर जानलाई उल्टै ऋण गरेर जानुपर्ने अवस्था आयो । यहाँ राखेर महानगरपालिकाले धेरै नराम्रो गर्‍यो ।’

ओखलढुङ्गाबाट फूल व्यापार गर्न आएका तेजेन्द्र विष्टले नेपाली उत्पादनको फूललाई अपहेलना गरिएको दुःखेसो गरे । उनले अझै पनि बजारीकरणको समस्या भएकाले व्यापारीले फूल खोलामा फालेर हिँड्नुपर्ने स्थिति आएको बताएका छन् । उनले भने, ‘सरकारले भारतबाट फूल आउन नदिने भयो, किसानहरुले फूलको खेती बढाए । अहिले बिजोग छ । बिकेकै छैन । असन, इन्द्र चोकतिर सडकको पेटीमा बेच्ने गरेका थियौं । त्यता हुँदा धेरै ग्राहकहरु फूल खोज्दै आउँथे । अहिले त्यहाँ बेच्न नपाएर यहाँ आएका छौं । यहाँ माला बेच्न राखेको पहिलो पटक हो त्यसकारण यहाँ किन्न मान्छेहरु नै आउँदैनन् । जस्तो ल्याएर राखेको त्यस्तै छ, सोध्न आउने पनि कोही छैनन् ।’

प्रतिक्रिया दिनुहोस्
MBL