Logo

आर्थिक मन्दीकै बीचपनि सुन व्यापार बढ्ने आशामा व्यापारी, स्टक फालाफाल भएपनि व्यापार न्यून

आर्थिक मन्दीकै बीचपनि सुन व्यापार बढ्ने आशामा व्यापारी, स्टक फालाफाल भएपनि व्यापार न्यून



काठमाडौं । पछिल्लो समय बढेको सुनको मूल्य र आर्थिक संकुचनका बीच पनि सुनचाँदी व्यवसायी चाडपर्वमा व्यापार बढ्ने आशामा छन् । अघिल्ला बर्षहरुभन्दा अत्याधिक घटेको सुन चाँदीको व्यापारले लय समातिसकेको छैन । तर, तिहारका बेला मनाइने धनतेरश पूजाका लागि भने सुन र चाँदीको व्यापार बढ्नसक्ने आशामा रहेको व्यापारीहरु बताउँछन् ।

laxmi

सबै क्षेत्रमा मन्दीको असर छाइरहँदा सुनचाँदीको व्यापारमा पनि लगातार गिरावट आइरहेको छ । अघिल्ला बर्षहरुको तुलना सामान्य समयमा प्रतिदिन ५ किलोसम्म सुनको व्यापार घटेको व्यवसायी बताउँछन् । तर, सबैभन्दा बढी विक्री हुने धनतेरशका दिन र विवाहका लगनमा सुनको विक्री बढ्ने आशामा रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् । ‘सबैतिर छाएको आर्थिक मन्दीको असर सुनचाँदीको व्यवसायमा पनि देखिएको छ, गत बर्षभन्दा यसको व्यापार घटेको छ,’ उनले भने, ‘तर नेपालमा सबैभन्दा बढीे विक्री हुने समयमा गत बर्षको जति नभएपनि अहिलेको तुलनामा बढ्ला भन्ने आशामा छौं ।’

उनले तिहारको धनतेरश नजिकिँदै गर्दा यसको व्यापार पनि बढेको बताए । अघिल्ला बर्षहरुमा धनतेरशका लागि भन्दै एकैदिन १ हजार किलोसम्म चाँदीको व्यापार भएको उनी बताउँछन् । सुनको व्यापार भने प्रतिदिन ३० किलोसम्म हुने गरेको थियो । यसपटक भने सोहीअनुसार नभएपनि त्यसको आसपास पुग्नसक्ने उनले बताए ।

खासगरी प्यालेस्टाइन र इजरायलको युद्धले उचाईमा पुगेको सुनको मूल्य र नेपालमा देखिएको आर्थिक मन्दीको चपेटामा सुनको व्यापार पनि परेको छ । यसैबेलामा राष्ट्र बैंकले दैनिक २० किलोसम्म सुनको आयात गर्न सकिने व्यवस्था गरेपछि बजारमास्टक पनि त्यत्तिकै रहेको अध्यक्ष शाक्य बताउँछन् । ‘हाल बैंकहरुसँगै ६ सय किलो बढी सुनको स्टक छ, व्यापारीसँग पनि उत्तिकै मात्रामा स्टक छ,’ उनले भने, ‘सुन स्टकमा भएकै कारण यसको अभाव भने कमै होला ।’

अघिल्ला बर्षहरुमा सुनको माग उच्च हुँदा व्यापारीहरुले सुनको अभाव भइरहेको बताउने गरेका थिए । कोरोना महामारीका कारण आर्थिक क्रियाकलापमा देखिएको संकुचनकै कारण राष्ट्र बैंकले पनि प्रतिदिन १० किलो मात्रै सुन ल्याउन पाइने व्यवस्था गरिदिएको थियो । तर, व्यापारीहरुले प्रतिदिन भित्र्याउने सुनको कोटा बढाउनुपर्ने माग राख्दै आएका थिए ।

सुनको मूल्य अझै उकालो लाग्ने

बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो दिन मंगलबारको तुलनामा प्रतितोला ३ सय रुपैयाँले कम हो । पछिल्लो एक हप्तादेखि सुनको मूल्य लगातार ओरालो लागेपनि अझै यसको मूल्य बढ्ने महासंघका अध्यक्ष शाक्य बताउँछन् ।

सुनको मूल्यमा विश्व राजनीतिले प्रभाव पार्ने भएकाले हाल इजरायल र प्यालेस्टाइनबीचको युद्धका कारण नेपाली बजारमा सुनको मूल्य गत ११ र १२ गते हालसम्मकै उच्च प्रतितोला १ लाख १७ हजार रुपैयाँसम्म पुगेको थियो ।

त्यसपश्चात सुनको मूल्य लगातार ओरालो लागेको थियो । खासगरी इजरायलमाथि हमास समुहले जित हात पारेको खबरहरु प्रकाशित भएपछि सुनको मूल्य केही ओरालो लागेपनि पुनः युद्ध चर्किएपछि यो उकालो लाग्ने उनको भनाई छ । आज चाँदीको मूल्य प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मंगलबारको तुलनामा २० रुपैयाँले बढी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL