Logo

निर्माण व्यवसायीको पीडा : सरकारले दशैंअघि दिने भनिएको भुक्तानी अझै पाएनन, ४० अर्ब बढी बाँकी

निर्माण व्यवसायीको पीडा : सरकारले दशैंअघि दिने भनिएको भुक्तानी अझै पाएनन, ४० अर्ब बढी बाँकी



काठमाडौं । निर्माण व्यवसायीले सरकारले दशैंअघि नै निर्माण व्यवसायीको खातामा पठाउने भनेको भुक्तानी अझै नपाएको बताएका छन् । गत असोजमा अर्थमन्त्री डा. प्रकाशसरण महतले चितवनमा आयोजित एक कार्यक्रममा निर्माण व्यवसायीको भुक्तानी दशैंअघि नै हुने घोषणा गरेका थिए । लामो समयसम्म सरकारबाटै निर्माण व्यवसायीले पाउनुपर्ने रकम पाउन नसकेको भन्दै निर्माण व्यवसायीहरुले गुनासो गर्दै आएका थिए ।

laxmi

कार्तिक दुई गते निर्माण व्यवसायीको दवावमै अर्थमन्त्रालयले विभिन्न मन्त्रालयलाई निर्माण व्यवासायीको रकम भुक्तानी गरिदिन परिपत्र गरेको थियो । तर, दशैं विदाको अघिल्लो दिनमात्रै भुक्तानीका लागि परिपत्र गरिदिँदा अन्य मन्त्रालयले भनेकै समयमा रकम भुक्तानी गर्न नसकेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंह बताउँछन् ।

गत आर्थिक बर्षको बिल भईसकेको रकम मात्रै निर्माण व्यवसायीले ६ देखि ७ अर्ब पाउन बाँकी रहेको उनको भनाई छ । त्यसमध्ये पनि चालु आर्थिक बर्षमा बजेट छुट्याईएका आयोजनाले मात्रै भुक्तानी पाउने र बजेट नछुट्याएका आयोजनाले भने भुक्तानी नपाउने समस्या देखिएको उनले बताए । ‘गत बर्ष बिल भईसकेको रकम मात्रै ६ देखि ७ अर्ब बढी पाउन बाँकी छ,’ उनले भने, त्यसमध्ये पनि धेरैजसो आयोजना यो बर्ष बजेट नपरेका आयोजनाहरु हुँदा पाउनेजति रकम नपाउने समस्या ज्युँकात्युँ छ ।’

निर्माण व्यवसायीहरुले पाउनुपर्ने खास भुक्तानी ४० देखि ५० अर्ब रुपैयाँ नै भएको उनको दावी छ । माईलस्टोन नहटेको र म्याद नथपिएका कारण धेरैजसो आयोजनाको बिलसमेत बनाउन बाँकी रहेको उनको भनाई छ । ‘हामीले बिल बनाउन बाँकी रहेको आयोजनाको रकमसमेत जोडेको अवस्थामा ४० देखि ५० अर्ब पुग्छ,’ उनले भने, ‘यी आयोजनाको पनि माईलस्टोन हटाउनुपर्ने र म्याद थपको व्यवस्था गरिदिनुपर्ने हाम्रो माग छ ।’

तर, दशैअघि भुक्तानी भईसक्ने भनिएको रकम नै धेरैजसो निर्माण व्यवसायीहरुले अझै पाउन नसकेको उनले बताए । ‘एक त दशैं विदाको अघिल्लो दिनमात्रै भुक्तानीका लागि परिपत्र गरियो त्यसले पनि दशैं अघि नै भुक्तानी हुन सक्ने अवस्था यसै पनि थिएन,’ उनले भने, ‘दशैं विदाको यत्रो दिन वितिसक्दा पनि धेरैजसो बिल बनिसकेका र चालु आवमा पनि बजेट पाएका आयोजनालेसमेत भुक्तानी पाउन सकेका छैनन् ।’

यता अर्थमन्त्रालयका प्रवक्ता धनिराम शर्मा भने धेरैजसो निर्माण व्यवसायीको भुक्तानी भईसकेको बताउँछन् । ‘अर्थमन्त्रालयले विभिन्न मन्त्रालयलाई दशैं विदाको अघिल्लो दिन नै परिपत्र गरिसकेको थियो,’ उनले भने, ‘सोहीअनुसार अन्य मन्त्रालयले पनि धेरैजसो रकम भुक्तानी गरिसकेको जानकारी हामीलाई दिनुभएको छ ।’

तर, चालु आर्थिक बर्षमा बजेट नपरेका आयोजनाका लागि भने छुट्टै बैठक बसेर टुंगो लगाउनुपर्ने उनको भनाई छ । ‘गत आवको भुक्तानी पाउन बाँकी चालु आवमा कार्यक्रम परेका धेरैजसो आयोजनाले भुक्तानी पाईसक्नुभएको छ,’ उनले भने, ‘तर, यो बर्ष कार्यक्रम नपरेका आयोजनाका लागि भने छुट्टै छलफल गरी टुंगो लगाउनुपर्ने देखिएको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL