Logo

नागढुंगा-नौविसे सुरुङमार्ग : दशैंलगत्तै मुख्य सुरुङको ब्रेकथ्रु, निर्माण सम्पन्न हुन अझै म्याद थप्नुपर्ने

नागढुंगा-नौविसे सुरुङमार्ग : दशैंलगत्तै मुख्य सुरुङको ब्रेकथ्रु, निर्माण सम्पन्न हुन अझै म्याद थप्नुपर्ने



काठमाडौं । दशैंपछि नागढुंगा–नौविसे सुरुङमार्गको मुख्य सुरुङमार्गको ब्रेकथ्रु (वारपार) हुने भएको छ । हाल धमाधम काम भइरहेको उक्त सुरुङमार्गको सहायक सुरुङको भने यसअघि नै ब्रेकथ्रु भइसकेपनि मुख्य सुरुङको ब्रेकथ हुन भने बाँकी नै छ । कात्तिकको दोस्रो साता अर्थात दशैं लगत्तै ब्रेकथु्र हुनेगरि धमाधम काम भइरहेको नागढुंगा नौविसे सुरुङमार्ग आयोजनाका प्रमुख नविनमान श्रेष्ठले जानकारी दिए । ‘हामीले हाल दशैंलगत्तै मुख्य सुरुङमार्गको ब्रेकथ्रुको तयारी थालेका छौं,’ उनले भने, ‘त्यसैका लागि लगातार तीव्र गतिमा काम भइरहेको छ ।’

laxmi

अब यो सुरुङमार्गको मुख्य सुरुङमार्ग ३ सय ९ मिटर मात्रै खन्न बाँकी छ । ३ सय ९ मिटर खनेपछि सुरुङको ब्रेकथ्रु हुनेछ । आयोजनाले मुख्य सुरुङमात्रै २ हजार ६ सय ८८ मिटर खन्नुपर्नेमा त्यसमध्ये हालसम्म २ हजार ३ सय ७८.४० मिटर खनिसकेको छ । बाँकी रहेको ११ प्रतिशत सुरुङ भने दशैंसम्म खनिसक्ने आयोजनाले जनाएको छ । यसअघि यसै सुरुङको सहायक सुरुङ मार्गको २ हजार ५ सय ५७ मिटर लामो खण्ड ब्रेकथ्रु भइसकेको छ । यस्तै मुख्य सुरुङ र सहायक सुरुङमार्ग जोड्ने क्रस प्यासेज १ सय २८ मिटर पनि खनिसकिएको छ ।

दशैंपछि लगत्तै मुख्य सुरुङमार्गको ब्रेकथ्रु गरिसकेपछि आयोजनाको फिनिसिङको काम हुने आयोजना प्रमुख श्रेष्ठ बताउँछन् । उनका अनुसार पेभमेन्ट निर्माण, कलरिङ, फ्लाईओभरको काम, कल्भर्टलगायतको काम पनि त्यसपश्चात सम्पन्न हुने उनले बताए । हालसम्म आयोजनाले ३ ओटा अन्डरपास, ४ ओटा बक्स कल्भर्ट, एउटा ओभरपास र ३ ओटा पुल निर्माण गरिसकेको छ । यस्तै सुरुङमार्गसम्म पुग्न पहुँचमार्गका लागि आवश्यक फ्लाईओभरका लागि भने आयोजनाले ३ ओटा फाउन्डेसन र २ ओटा सबस्ट्रक्चर बनाईसकेको छ ।

फ्लाईओभरको बाँकी कामका लागि भने जग्गाको मुआब्जाको विवाद टुंग्याउन समय लागेको आयोजनाको भनाई छ । हालसम्म फ्लाईओभरका लागि आवश्यक ९५ प्रतिशत जग्गाको अधिग्रहण भईसकेको छ भने बाँकी ५ प्रतिशत जग्गामा केहि विवाद छ । यही विवाद समाधानका लागि भने सुरुङमार्ग निर्माण सम्पन्न हुन केहि समय लाग्ने देखिएको छ । सरकारले कोरोना महामारीलगायतका कारणे निर्माणमा केहि ढिलाई भएपछि आयोजनाको म्याद एक बर्ष थपिदिएको थियो ।

थपिएको म्याद २०२४ अप्रिलसम्मको छ । यो म्यादसम्म पनि आयोजनाको फिनिसिङको काम भने नसकिने आयोजना प्रमुख नविनमान श्रेष्ठ बताउँछन् । ‘सुरुङ ब्रेकथ्रु गरेर मात्रै हुँदैन, यसका लागि अन्य आवश्यक पूर्वाधार निर्माण, सुरुङमा कंक्रिट लाईनिङलगायतका काम पनि गर्नुपर्छ,’ उनले भने, ‘त्यसैले हामीलाई थपिएको म्यादमा पनि थप ६ महिना म्याद आवश्यक हुने देखिएको छ ।’

उक्त आयोजना निर्माणमा जापानी सहयोग नियोग जाइकाले साढे १६ अर्ब ऋण र नेपाल सरकारको करिब ६ अर्ब गरी कुल साढे २२ अर्ब रूपैयाँ लागत लाग्ने बताईएको छ । काठमाडौं भित्रिने र बाहिरिने मुख्य नाकामा पछिल्लो समय बढ्ने सवारी जामलाई न्यूनीकरण गर्न सरकारले उक्त सुरुङमार्गको अवधारणा अघि बढाएको थियो । यसले काठमाडौं भित्रिने बाटो पनि केहि छोट्याईदिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL