Logo

आईएमएफको मिसन टोली र सिबिफिनबीच भेटघाट, आर्थिक क्षेत्र सुधारका लागि छलफल

आईएमएफको मिसन टोली र सिबिफिनबीच भेटघाट, आर्थिक क्षेत्र सुधारका लागि छलफल



काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ)का प्रतिनिधि र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन)का पदाधिकारीबीच भेट भएको छ । नेपालमा थर्ड रिभ्युका लागि आईएमएफको मुख्यालयबाट टिडिआन किन्दाको नेतृत्वमा नेपाल आएको टोली र सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वको टोलीबीच गत शुक्रबार भेट भएको हो ।

laxmi

आईएमएफको नेपालस्थित कार्यालयसँगको समन्वयमा यस अघि नै तय गरिएको उक्त भेटघाटका क्रममा चालू मौद्रिक नीति, चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन र आर्थिक एवं बैंकिङ क्षेत्रका जल्दाबल्दा विषयहरुमा सघन छलफल भएको छ ।
भेटघाटका क्रममा सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले नेपालको वर्तमान आर्थिक एवं बैंकिङ क्षेत्रको अवस्था, सुधारका लागि अवलम्बन गरिनुपर्ने नीतिगत एवं व्यवहारिक पक्ष र विकास साझेदार संस्थाहरुको भूमिकाका विषयमा प्रकाश पारेका थिए ।
मिसन टोलीका प्रमुख टिडियान किन्दासहितका प्रतिनिधिहरुले विश्व अर्थतन्त्रमै शिथिलता छाइरहेको सन्दर्भमा नेपालको अर्थतन्त्रमा समेत संकुचन देखिनु स्वभाविक भएको बताए । यस्तो अवस्थामा नेपाल सरकारले तत्काल सुधारका कदमहरु चाल्न आवश्यक रहेको उनीहरुको भनाई थियो ।

नेपाल जस्तो सुन्दर, प्राकृतिक सम्पदा र युवा जनशक्तिले भरिपूर्ण देशले आर्थिक उन्नतिको लय समात्न नसक्नुका कारण, नेपालले आर्थिक सुधारका लागि तत्काल पहलकदमी लिनुपर्ने मुख्य विषय र साझेदार संस्थाहरुको संभावित भूमिकाका विषयमा जिज्ञासा व्यक्त गरेका थिए ।

मिसन टोलीको जिज्ञासा मेट्दै सिबिफिनका अध्यक्ष गोल्यानले नेपालको कृषि, वनपैदावर, उर्जा, पयर्टनलगायतका क्षेत्रहरुमा देखिएका अथाह संभावनालाई ध्यान दिनुपर्ने बताए । उनले नेपाल सरकार तथा मातहतका नियामक निकायहरुले मैत्रीपूर्ण नीति र वातावरण बनाइ समग्र निजी क्षेत्रमा उत्साह जगाउनुपर्ने, पूँजीगत खर्च प्रणालीमा व्यापक सुधार गरी पूर्वाधारको विकासमा विशेष जोड दिइनुपर्ने, उत्पादनमूलक, रोजगामूलक र निर्यातमूलक क्षेत्रलाई प्रोत्साहनसहित प्राथमिकता दिइनुपर्ने उल्लेख गरे ।

त्यसैगरी दातृ निकाय तथा विकास साझेदार संस्थाहरुले पनि आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा सकारात्मक भूमिका निर्वाह गर्दै नेपालका बैंक तथा वित्तीय संस्थाहरुमार्फत सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराउने विषयमा आवश्यक पहल गर्न अध्यक्ष गोल्यानले टोलीसमक्ष आग्रह गरेका थिए । त्यसैगरी सिबिफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, उपाध्यक्ष राजेश उपाध्याय र कार्यकारी सदस्य उपेन्द्र प्रसाद पौडेललगायतले नेपालको बैंकिङ क्षेत्रले अनपेक्षित चुनौतीहरुको सामना गरिरहेको भएतापनि विश्वासिलो वातावरण, नीतिगत स्थिरता र समय–सान्दर्भिक नीतिको अवलम्बन हुन सकेमा अर्थतन्त्रलाई चलायमान बनाउने सामथ्र्य बैंकिङ क्षेत्रमा रहेको विश्वास व्यक्त गरेका थिए ।

उक्त भेटघाटका क्रममा अध्यक्ष गोल्यानले ‘आत्मनिर्भर अर्थतन्त्र र निर्यात संभावनाका क्षेत्रहरु’ नामक अध्ययन पुस्तक र विभिन्न समयमा गरिएका महत्वपूर्ण अध्ययन प्रतिवेदनहरुवारे ब्रिफिङ गर्दै मिसन टोली प्रमुख टिडियान किन्दालाई हस्तान्तरण गरेका थिए । उक्त अध्ययन पुस्तक तथा प्रतिवेदनहरु ग्रहण गर्दै मिसन टोली प्रमुख किन्दाले सिबिफिनले उठाएका विषयहरुका वारेमा आईएमएफलगायतका निकायहरुमा आवश्यक छलफल गर्ने सन्देश व्यक्त गरेका थिए ।

उक्त भेटघाट तथा छलफलमा आईएमएफ मिसनबाट मिन्क गोर्ट, रसेल ग्रिन, आईएमएफ नेपालकी आवासीय प्रतिनिधि टेरेसा डवान सान्चेज, अर्थशास्त्रीद्वय सुधा दाहाल, सरस्वती शर्मा र सिबिफिनका कोषाध्यक्ष तुल्सीराम अग्रवाल, सचिव कुश प्रसाद मल्ली, सदस्य उपेन्द्र केशरी न्यौपानेलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL