Logo

देशमा बेहाल, डामाडोल अर्थतन्त्र, प्रधानमन्त्री प्रचण्डको आधा महिने देशाटन

देशमा बेहाल, डामाडोल अर्थतन्त्र, प्रधानमन्त्री प्रचण्डको आधा महिने देशाटन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एक सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘देशमा आर्थिक संकट गहिरिँदो छ, मौद्रिक नीति र वित्त नीति मिलाउन नसक्नु अहिलेको चुनौती हो यसले थप संकट निम्त्याउने छ ।’ देशको बागडोर सम्हालेका प्रधानमन्त्री स्वयंले नै उक्त कुरा बोल्नुले पक्कै पनि देशमा गम्भिर आर्थिक संकट निम्तदै छ भन्ने स्पष्ट संकेत गर्दछ ।

laxmi

तर त्यसो भनेको भोलीपल्टै प्रधानमन्त्री दाहाल लावालस्कर सहित विदेश भ्रमणमा निस्किए । एकतर्फ देशमा आर्थिक संकट छ भने अर्कोतर्फ सरकारको विरुद्धमा शिक्षक तथा डाक्टर नर्सहरु आन्दोलित छन् । सरकारले तत्कालका लागि ६ बुँदे सहमति गरेर शिक्षकको आन्दोलनलाई स्थगित गराएपनि त्यसले मूर्त रुप भने पाएको छैन ।

अहिले दैनिकजसो माईतीघर मण्डलामा सरकार विरुद्ध ठूलै जमात आन्दोलमा उत्रिएका छन् । डाक्टरको आन्दोलनले अहिले काठमाडौं नै अस्तव्यस्त बनेको छ । तर त्यसलाई सम्बोधन गर्ने सरकार भने रमिते बन्दै सँस्कृति र धार्मिक भ्रमणको लागि देशाटनमा छ । कुनै आर्थिक वा कुटनीति एजेण्डा भन्दा पनि सामान्य कार्यक्रम संयुक्त राष्ट्रको महासभाका भाग लिन प्रधानमन्त्री दाहाल भदौं ३० गते अमेरिका प्रस्थान गरे ।

उक्त कार्यक्रमसँगै प्रधानमन्त्री दाहाल अमेरिकामा एक हप्ता विताएर असोज ५ गते चीन पुगे । विशेष कार्यक्रम विनानै चीन भ्रमणमा निस्केका प्रधानमन्त्री दाहालले उनका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङबीच असोज ८ गते ग्रेट हल अफ दी पिपल सामान्य विषयमा १३ बुँदे सम्झौता गरे । जसबाट नेपाललाई कुनै ठूलो लाभ हुनेछैन ।

सामान्यतया दुइ देशमा राष्ट्र प्रमुखबीच समझदारी वा सम्झौता भएपछि भ्रमणमा गएका प्रधानमन्त्री उक्त देशबाट बाहिरिने गर्दछन् । तर प्रधानमन्त्री दाहाल भने लावालस्कर सहित कहिले ग्रेटवाल, कहिले मानसरोवर, पोतला दरबारजस्ता सम्पदाको भ्रमणमा रमाईरहेका छन् । जुन आफैमा लजास्पद हो ।

सम्भवतः हाम्रो पुस्ताले भोगेको यो पहिलो गहिरो आर्थिक मन्दी हो । अहिले उद्योगी व्यवसायी निरास छन् भने कपितय उद्योगी व्यवसायीले आर्थिक संकटकै कारण आत्महत्या गरिरहेका छन् । कुनै पनि क्षेत्रका उद्योगी व्यवसायी सहज अवस्थामा छैनन् । दैनिक रुपमा कालोसूचीमा पर्ने उद्योगी व्यवसायीको संख्या उच्च छ । काम सम्पन्न गर्दा समेत भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायी आन्दोलित छन् ।

सरकारको राजस्व उठौती गत वर्षकोभन्दा घटेको छ भने चालू आर्थिक वर्षको लक्ष्यभन्दा २२ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै चालू वर्षमा २४ दशमलव ३७ प्रतिशत राजस्व वृद्धि हुने अनुमान गरेका थिए । तर ठिक त्यसको विपरित राजस्व उठौतीदरमै गिरावट आउनुले देशनै आर्थिक संकटमा फसेको देखाउँछ । राजस्व नउठेपछि सरकारले चालू खर्च धान्नकै लागि ठूलो मात्रामा आन्तरिक ऋण उठाइरहेको छ ।

अहिले आन्तरिक राजस्व विभाग, भन्सार विभाग लगायतका करका हाकिमले राजस्व छली भएका कारण राजस्व संकलनमा गिरावट आएको विष्कर्ष निकालेका छन् । तर राजस्व चुहावको अनुसन्धान गर्ने निकाय राजस्व अनुसन्धान विभागलाई आफु मातहत राखेर बसेका प्रधानमन्त्री परिवारसहित आधा महिनाभन्दा बढी विदेश भ्रमणमा रमाउँदा देशको विग्रँदो आर्थिक अवस्थाप्रति उनलाई कुनै चिन्ता नभएको सन्देश दिन्छ ।

उद्योगी व्यवसायीले थप व्यवसाय विस्तार गर्न नसक्दा बैंकको कर्जा प्रबाह भएको छैन । दशैं तिहारजस्तो चाडपर्वलाई लक्षित गरेर व्यापारीहरुले सामान आयातका लागि एलसी नखोल्दा यसले देश गहिरो आर्थिक संकटतर्फ धकेलिएको संकेत गरेको सम्बद्ध बैंकरहरु बताउँछन् । सामान्यतया चाडपर्वलाई लक्षित गरेर उद्योगी व्यवसायीले भदौमा सबैभन्दा बढी एलसी खोल्ने गरेका छन् । तर यसवर्ष भने त्यसरी सामान आयात गर्न उद्योगी व्यवसायीले एलसी नखोलेको सम्बद्ध बैंकरहरु बताउँछन् ।

अहिले प्रधानमन्त्री दाहाल आफुमात्रै वैदेशिक भ्रमणमा छैनन् । उनीसँगै परराष्ट्रमन्त्री एनपी साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, खानेपानी मन्त्री महेन्द्रराय यादव, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु पनि उनीसँगै भ्रमणमा छन् खेलकुद मन्त्री लिम्बु एशियाली खेलकुदका लािग चीन पुगेका थिए । देशको अर्थतन्त्र हाक्ने निजी क्षेत्रलाई पनि आफुसँगै भ्रमणमा लिएर हिडेका छन् प्रधानमन्त्री प्रचण्डले । अहिलेको गहिरिदो आर्थिक संकटमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघका मुख्य नेतृत्वहरु प्रधामन्त्री दाहालसँगै चीन भ्रमणमा रहेका छन् ।

अहिलेको समस्या समाधान गर्न निजीक्षेत्रसँग बहस तथा छलफल गर्नुपर्ने सरकार उल्टो उनीहरुलाई नै सँगै लिएर विदेश भ्रमणमा रमाईरहेको छ । यस्तै एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी) को वार्षिक बैठकमा सहभागी हुन असोज ५ गते इजिप्ट प्रस्थान गरेका अर्थमन्त्री डा. प्रकाशशरण महत ११ गतेमात्रै नेपाल आईपुगेका छन् ।

प्रधानमन्त्री दाहाले पछिल्लो छोटो समयमा विश्वका शक्तिशाली मुलुक भारत, अमेरिका र चीनको भम्रण गरिसकेका छन् । विश्लेषकहरुको भनाई अनुसार प्रधानमन्त्रीको उक्त भ्रमण देशको हितभन्दा पनि विशुद्ध परिवारिक र मनोरञ्जनमुलक मात्रै रहेको देखिन्छ । ‘प्रधानमन्त्रीले छोटो समयमा विश्वमा ठूला ३ देशको भ्रमण गरिसके,’ ती विश्लेषकले भने, ‘तर, कुनै पनि देशसँग प्रधामन्त्री दाहालले देशको हितमा हुने वा देशलाई आर्थिक रुपमा फाइदा हुने सम्झौता र समझदारी गरेका छैनन् ।’ अहिले भइरहेको प्रधानमन्त्रीको भ्रमण देशप्रतिको गैर जिम्मेवारीपना र पारिवारिक मोजमस्ती जस्तो मात्रै रहेको ती विश्लेषको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्
MBL