Logo

एक महिनामै शोधनान्तर स्थिति ३३ अर्बले बचतमा : विदेशी मुद्रा संचिती पौने १६ खर्ब पुग्यो, १२ महिनाको आयात धान्ने

एक महिनामै शोधनान्तर स्थिति ३३ अर्बले बचतमा : विदेशी मुद्रा संचिती पौने १६ खर्ब पुग्यो, १२ महिनाको आयात धान्ने



काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिनामा शोधनान्तर स्थिति ३२ अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको छ । तर, अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु १९ अर्ब ७६ करोडले घाटामा रहेको थियो । पछिल्लो समय आयातमा भएको संकुचन र वैदेशिक रोजगारीमा गएका कामदारले पठाउने रेमिटान्समा उच्च वृद्धि भएसँगै शोधनान्तर स्थितिमा उच्च सुधार आएको हो ।

laxmi

यसैगरी सो अवधिमा विदेशी विनिमय सञ्चितिमा समेत सुधार आएको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले वृद्धि भई २०८० साउन मसान्तमा १५ खर्ब ७३ अर्ब १२ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १३ खर्ब ८५ अर्ब २४ करोड र बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग १ खर्ब ८७ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । २०८० साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१।९ प्रतिशत रहेको छ ।

यसैगरी आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.५ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २९।२ प्रतिशत, ८५.७ प्रतिशत र २६.३ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३ प्रतिशत र २५.१ प्रतिशत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL