Logo

जलविद्युतमा ‘हकप्रद’ सेयरको नाममा ब्रम्हलुट, डुब्दै बैंक र सर्वसाधारणको लगानी

जलविद्युतमा ‘हकप्रद’ सेयरको नाममा ब्रम्हलुट, डुब्दै बैंक र सर्वसाधारणको लगानी



काठमाडौं । जलविद्युत कम्पनीहरुले अन्य कम्पनीमा लगानी गर्ने तथा ऋण तिर्ने बहानामा धमाधम हकप्रद सेयर जारी गरिरहँदा लगानीकर्ता फस्ने क्रम बढेको छ । पछिल्लो समय कम्पनीको संचालक समितिमा बस्ने व्यक्तिहरुले आफ्नो निहित स्वार्थका लागि बोर्डबाट निर्णय गराउँदै हकप्रद सेयर जारीको नाममा सर्वसाधारण लगानीकर्ता र बैंकको लगानी फसाउने काम गरेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

laxmi

नियमतः जलविद्युत कम्पनीको आईपीओ जारी गरेको ३ वर्ष पछि सबै सेयरको लकइन खुल्छ । त्यसपश्चात संस्थापकहरुले आफ्ना सबै सेयर बिक्री गरेर बाहिरिन सक्छन् । तर अहिले तीनै संस्थापकहरुले आफु जसरी पनि बोर्डमा बस्ने र आफ्नो सेयर बिक्री गरेपछि हकप्रदको नाममा पैसा उठाउने गरेको एक जलविद्युत क्षेत्रका एक जानकारले जानकारी दिए । ‘अहिले लकइन खुलेका धेरैजसो जलविद्युत कम्पनीका प्रवद्र्धकहरुले आफ्नो सेयर दोस्रो बजारमा बिक्री गरिसकेका छन्,’ ती विज्ञले भने, ‘तर संचालक समितिमा भने संस्थापकको नाममा प्रोक्सी उठाएर उनीहरु नै बसेका छन् भने अहिले उनीहरुले नै आफ्नो स्वार्थ केन्द्रित निर्णय गर्दै हकप्रद सेयर जारी गर्दै सर्वसाधारण लगानीकर्ता र बैंकको लगानी डुबाउने काम गर्दै आएका छन् ।’

कुनै पनि जलविद्युत कम्पनीले आयोजना निर्माण गर्दा सुरुमै सर्वसाधारणको लागि सेयर बिक्री गरेको हुन्छ भने बैंकबाट ७० प्रतिशत लगानी लिएको हुन्छ । त्यसमा प्रवद्र्धकहरुले ३० प्रतिशतमात्रै इक्विटी लगानी गरेका हुन्छन् । तर उक्त कम्पनीले हकप्रद निष्काशन गरेर अर्को कम्पनीमा लगानीगर्दा पुनः आईपीओ जारी गर्ने तथा बैंकको ७० प्रतिशत लगानी हुने हुँदा त्यसले आगामी दिनमा समग्र पुँजी बजारनै धराशायी हुनुका साथै बैंकको लगानीसमेत डुब्ने खतरा रहेकोे सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘उदाहरणका लागि ए भन्ने कम्पनीले हकप्रद सेयर जारी गरेर बी भन्ने कम्पनी बनाउँछ तर ए भन्ने कम्पनीमा बैंक र सर्वसाधारण दुबैको लगानी भैसकेको हुँदा हकप्रदबाट बी भन्ने कम्पनी बनाउँदा ती दुबैको लगानी हुन्छ,’ ती लगानीकर्ताले भने, ‘त्यसरी बी भन्ने कम्पनी बनाउँदा पनि पुनः बैंकबाट ७० प्रतिशत लगानी जुटाउनुका साथै सर्वसाधारणलाई समेत ३० प्रतिशत आईपीओ जारी गरिने हुँदा एउटै प्रर्वद्धकबाट पटक–पटक लगानीे रकम थुपार्ने काम हुन्छ, जुन अब्यवहारिक छ ।’

अहिले जलविद्युत कम्पनीका प्रवद्र्धकहरुले कर्जा नतिरी आफ्नो सेयर बिक्री गरेर बाहिरिन दिनुमा बैंकको पनि मिलेमतो देखिएको एक जलविद्युत प्रवद्र्धकले जानकारी दिए । कुनै पनि बैंकले प्रवद्र्धकको विगत हेरेर उसले कर्जा तिर्न सक्ने वा उसले उक्त आयोजना बनाउन सक्ने आधार देखिएपछि मात्रै लगानी गर्छ,’ ती प्रवद्र्धकले भने, ‘ऋण नै नतिरी वा उक्त आयोजना नै सम्पन्न नगरी बैंकले आधारभुत सेयर धनीलाई किन सेयर बिक्री गर्न दियो ? यो सोचनीय विषय हो ।’ एउटै कम्पनीको नाममा अर्को कम्पनीका लागि कर्जा दिइरहँदा त्यसले जोखिम बढ्न गई बैंकको लगानीसमेत डुब्ने हुँदा बैंकहरु थप चनाखो बन्नुपर्ने अवस्था आएको समेत ती प्रवद्र्धकले जानकारी दिए ।

यसअघि विद्युत नियमनले आयोगले ‘विद्युतसम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्काशनको पूर्व स्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका २०७८’ जारी गर्दै कुनै पनि कम्पनीले हकप्रद सेयर निष्काशनका लागि कम्पनी स्वयम नै प्रवद्र्धित ५१ प्रतिशतभन्दा बढी सेयर लगानी गरेको आयोजना निर्माण तथा २५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको अन्य कम्पनीमा लगानी गर्नका लागि मात्रै हकप्रद सेयर निष्काशन गर्न पाउने व्यवस्था गरेको थियो । यदि त्यसरी हकप्रद जारी गरेर दोस्रो कम्पनी निर्माण गर्ने हो भने पनि प्रवद्र्धित कम्पनीमा संस्थापक लगानीकर्ताको ५१ प्रतिशतभन्दा बढी सेयर हुनु आवश्यक छ । तर, अहिले उक्त नियमकै आडमा जलविद्युत प्रर्वद्धकहरुले आफुखुशी हकप्रद जारी गर्दै सर्वसाधारण लगानीकर्ताबाट पैसा असुल्ने काम गर्दै आएका छन् । ‘जलविद्युत कम्पनीका प्रवद्र्धहरुले नाजायक फाइदा लिने गरी हकप्रदको बाढी ल्याउँदा त्यसले सेयर बजारमा समेत नकारात्मक असर परेको छ,’ एक जलविद्युत विज्ञले भने, ‘प्रवद्र्धक र स्थानीय आयोजना प्रभावितको सेयरको लकइन एकैपटक खुल्ने हुँदा स्थानीय लगानीकर्ताहरु थप मारमा परेका छन् ।’ साथै अहिले विद्युत नियमन आयोग जलविद्युत कम्पनीहरुको नियमन भन्दा पनि त्यस्ता कम्पनीलाई हकप्रदको स्वीकृति दिने संस्थाको रुपमा विकसित भएको सम्बद्ध सरोकारवालहरु बताउँछन् ।

जलविद्युतका प्रवद्र्धकहरुले आयोजना बनाएर सर्वसाधारलाई सेयर निष्काशन गर्ने सयममा उनीहरुसँग जति सेयर थियो तर अहिले सबै जसो सेयर बिक्री गरेको सेयर बजारका विश्लेषक एवं लगानीकर्ता अम्बिकाप्रसाद पौडेल बताउँछन् । ‘तथ्यांक नै हेर्ने हो भने पनि आईपीओ जारी गरेर लकईन खुलेका कम्पनीहरुका संस्थापक लगानीकर्ताले यो वा त्यो नाममा कानूनी छिद्र प्रयोग गरेर सेयर बिक्री गरिसकेका छन्,’ उनले भने, ‘तर यो वा त्यो नाममा आफै संचालक समितिमा बसेर आफ्नो लगानीविना अर्को कम्पनी बनाउने नाममा हकप्रद जारी गर्दै जनताबाट पैसा उठाएर सेयर बजारलाई धराशायी पार्ने काम भइरहेको छ ।

अहिले कम सेयर होल्ड गरेर संचालक समितिमा बसेका जलविद्युत प्रवद्र्धकले गलत नियतले नै हकप्रदको नाममा बजारबाट पैसा उठाउने काम गरिरहेको समेत उनको भनाई छ । ‘यदि आफुले निर्माण गरेको कम्पनी राम्रो छ र त्यसले भविष्यमा राम्रो प्रतिफल दिन्छ भने प्रवद्र्धकहरुले आफ्नो सेयर किन बिक्री गरेर बाहिरिहन्छन् ?’ उनको प्रश्न थियो, ‘तसर्थ अहिले जलविद्युतक प्रवद्र्धकहरुले आफुसँग भएको सेयर बिक्री गर्ने अनि हकप्रदको नाममा बजारबाट पैसा उठाएर सर्वसाधारण लगानीकर्ता र समग्र पुँजी बजार नै धराशायी पार्ने काम भैरहेको छ ।’

अहिले देखिएको विकृति रोक्नका लागि लगानीकर्ता नै चनाखो भएर बोर्डमा कस्ता व्यक्ति पठाउने भनेर छान्न सक्नुपर्ने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले बताए । ‘नियमत हकप्रद जारी गर्ने वा त्यसबाट अर्को कम्पनी बनाउने भन्ने निर्णय संचालक समितिले गर्न सक्छ,’ उनले भने, ‘त्यसैले अबका दिनमा त्यस्ता विकृति रोक्न धितोपत्र बोर्डसँगको सहकार्यमा कस्ता व्यक्ति स्वतन्त्र संचालक वा सर्वसाधारण संचालक हुन पाउने भन्ने नयाँ मापदण्ड र उनीलाई कसरी उत्तरदायी बनाउने भन्ने नियम कानून बनाउँदैछौं ।’ साथै अहिले कतिपय प्रवद्र्धकले बत्ती नबल्दै आफुसँग भएको सेयर बिक्री गरेर बाहिरिन थालेकाले अबका दिनमा बत्ती नबलेसम्म प्रवद्र्धकहरुले सेयर बिक्री गर्न नपाउने व्यवस्था गर्न लागिएको समेत उनले जानकारी दिए ।

यसैगरी विद्युत नियमन आयोगका सचिव गोकर्णराज पन्त पनि तत्कालीन समयमा आयोगले राम्रो कामका लागि हकप्रद सेयरको व्यवस्था गरेपनि अहिले कानूनी छिद्र प्रयोग गर्दै कतिपय जलविद्युत प्रवद्र्धकहरुले गलत काम गरिरहेको स्वीर्काछन् । ‘नियामकले कुनै पनि नियम बनाउँदा राम्रो सोचेर नै बनाएको हुन्छ,’ उनले भने, ‘तर त्यसका लुपहोल खोजेर गलत काम भैरहेको भन्ने केही गुनासाहरु आएका छन् । अबका दिनमा नियामकले लगानी र प्रतिफलको आधारमा मौजुदा नियमहरु परिवर्तन गर्नेछ ।’ अहिले सरकार वा अन्य नियामक निकायले जलविद्युत कम्पनीका प्रवद्र्धकहरुको लकइन समय बढाउने भनेर काम गरिरहेको छ तर यदि अन्य निकायबाट उक्त काम भएन भने आयोगले कडाई गर्ने मेत पन्तले जानकारी दिए ।

अहिले कतिपय जलविद्युत प्रर्वद्धकले निर्माण कम्पनीसँगको मिलेमतोमा बढी लागत निर्धारण गरी निर्माण अवधिमै पैसा कमाउने धन्दा समेत चलाएको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् । ‘उदाहरणका लागि ए भन्ने कम्पनीले हकप्रद जारी गेरर बी मा लगानीगर्दा तिनै ए कम्पनीका संचालकहरुको हालिमुहाली हुन्छ,’ एक जलविद्युत प्रवद्र्धकले भने, ‘त्यस्ता संचालहरुले हकप्रद नाममा पैसा उठाएर आफ्नो लगानी विना निर्माण कम्पनीसँगको मिलेमत्तोमा बढी लागत देखाएर पैसा कमाउँदै आएका छन् ।’ साथै ए कम्पनीले बी कम्पनी निर्माण गर्दै संचालकहरु आफ्नौ लगानी नै नहाली बजारमा लगानीकर्ता र बैंकको लगानीमा आयोजना निर्माण गरी आफ्नो स्वार्थ अनुकुल काम गर्दै आएको समेत सम्बद्ध लगानीकर्ता नै बताउँछन् । नियमत संस्थापकले लगानी गरेको इक्विटीको ३० प्रतिशतभन्दा बढी लगानी सर्वसाधारणबाट उठाउनु हुँदैन । तर अहिले हकप्रदलगायतको नाममा सर्वसाधारणलाई लुटने काम भइरहेको समेत एक लगानीकर्ताले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL