काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लामा लगाएको कफ्र्यू तथा निषेधाज्ञा हटाएको छ ।
शनिबार एक सूचना जारी गर्दै जिल्लामा लगाएको कफ्र्यू तथा निषेधाज्ञा हटाए पनि निषेधित क्षेत्र सम्बन्धी आदेश भने कायमै रहेको जानकारी दिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालले गत २६ गतेको प्रमुख जिल्ला अधिकारी छवि रिजालको आदेश कायमै रहेको जानकारी दिए ।
‘यस जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणको आधारमा जिल्लामा लगाइएको कफ्र्यू तर, सुरक्षा तथा निषेधाज्ञा मिति २०८२÷०५÷२८ गते देखि हटाईएको छ,’ विज्ञप्तिका लेखिएको छ,‘ संवेदनशीलताको आधारमा मिति २०८२÷०४÷२६ गतेको प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार विभिन्न स्थानमा तोकिएको निषेधित क्षेत्र सम्बन्धी आदेश भने कायमै रहेको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ,’ सूचनामा उल्लेख गरिएको छ ।
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालन
जेन–जीको प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको काठमाडौं उपत्यकाको सार्वजनिक सवारीसाधनको आवागमन सञ्चालन भएको छ ।
काठमाडौं उपत्यकामा आज सार्वजनिक बस, ट्याक्सीलगायत सवारीसाधन बिहानैदेखि चलिरहेका छन् । जेन–जीको प्रदर्शनका कारण गत मंगलबारदेखि काठमाडौं उपत्यकामा ठप्प रहेको सार्वजनिक सवारीसाधनको आवागमन आजदेखि सुरु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
उनले भने, ‘शुक्रबार सार्वजनिकलगायतका सवारीसाधन फाट्टफुट्ट मात्रै चलेका थिए । बिहानदेखि बाक्लो सङ्ख्यामा चलेका छन् । यात्रुहरुको चहल पहल बढेको देखिन्छ ।’ त्यसैगरी चितवनतर्फबाट आज सार्वजनिक बसहरु काठमाडौंका लागि प्रस्थान गरेकाले काठमाडौंबाट बाहिरी जिल्लामा जाने सवारीसाधन आज साँझदेखि चल्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।
गत मंगलबारदेखि उपत्यका लगायतका सबै क्षेत्रमा जेन–जीको प्रदर्शन भएसँगै नेपाली सेनाले कर्फ्यु लगाएपछि सार्वजनिक सवारीसाधन बन्द गरिएका थिए । आज बिहानदेखि काठमाडौंको कर्फ्यु हटाइएकाले जनजीवन सामान्य बनेको हो ।