Logo

लगानी बोर्डको १२ वर्ष : साढे १२ खर्बको परियोजना स्वीकृत, सवा ५ खर्ब परिचालन

लगानी बोर्डको १२ वर्ष : साढे १२ खर्बको परियोजना स्वीकृत, सवा ५ खर्ब परिचालन



काठमाडौं । लगानी बोर्ड नेपालको आफ्नो १२औं बर्ष पूरा गरेको छ । शुक्रबार बोर्डले आफ्नो १२ औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको हो ।

laxmi

बोर्डले स्थापनाको १२ वर्षमा ऊर्जा क्षेत्रका २८ र गैर ऊर्जा क्षेत्रका १४ परियोजना गरी कुल ४२ परियोजनाका लागि १२ खर्व ५० अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेकको बताएको छ ।

यस अवधिमा ५ खर्च २५ अर्ब रुपैयाँ बरावरको लगानी परिचालन भएको छ । त्यस्तै ६ हजार र ३ हजार टन प्रतिदिन उत्पादन क्षमता रहेका क्रमशः होङसी शिवम् सिमेन्ट र हुवासिन सिमेन्ट परियोजना व्यावसायिक रुपमा सञ्चालनमा आएका छन् ।
धरानमा वेस्ट टु इनर्जी परियोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।

९ सय मेगावाटको अरुण–३ जलविद्युत् परियोजना, २ सय १६ मेगावाटको माथिल्लो त्रिशुली लगायतका परियोजना कार्यान्वयनका क्रममा छन् भने ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् परियोजना तथा ६ सय ६९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौता सम्पन्न भई वित्तीय व्यवस्थापनको क्रममा रहेको बोर्डले जानकार दिएको छ ।

४ सय ५० मेगावाटको सेती नदी – ६ सहित राष्ट्रिय गौरवको ७ सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत परियोजना अध्ययन तथा विकासका लागि एनएचपीसी लिमिटेडसँग समझदारी भई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि तयार हुँदैछ । यसका साथै ३ सय २७ मेगावाटको अपर मर्स्याङ्दी–२ जलविद्युत् परियोजनाको डीपीआर मूल्यांकन भैरहेको छ र पीडीएको तयारी समेत शुरु भएको लगानी बोर्डले जानकारी दिएको हो ।

नेपालमा पहिलो पुस्ताको विदेशी लगानीकर्ताको रूपमा परिचित डाबर नेपालले पनि यसै अवधिमा उत्पादन वृद्धि र विविधिकरणका लागि ९ अर्व ६८ करोड रुपैयाँ बराबरको पुनर्लगानीसमेत गर्ने बोर्डले जानकारी दिएको छ । यस्तै लगानी बोर्डको ५५ औं बैठकबाट चीन नेपाल मैत्री औद्योगिक पार्क परियोजनाको पीडीएका लागि वार्ता समिति गठन भै वार्ता समितीले कार्य थालनी गरिसकेको छ ।

यस अवधिमा लगानी बोर्डले लगानी बोर्डको कार्यालयलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) को विशिष्टिकृत संस्थाको रूपमा विकास गर्न र संस्थागत सुदृढीकरणको पाटोमा महत्वपूर्ण कार्यहरू गरेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बताए ।

यस्तै बोर्डको बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्न पुगेको प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले मुलुकमा रोजगारी र उत्पादन वृद्धि गर्दै उच्च, दिगो र फराकिलो आर्थिक वृद्धिमार्फत् समावेशी र उत्थानशील विकासको आधार सिर्जना गर्न विदेशी लगानी समेत निजी लगानीको अपरिहार्यता रहेको उल्लेख गरे ।

लगानीको वातावरण सुधार गरी सरकारले लगानीकर्ताका हरेक चासो, सरोकार र समस्यालाई सम्बोधन गर्दै आएको र त्यसलाई आगामी दिनमा अझै प्रभावकारी बनाउने कुरामा उनले विशेष जोड दिए ।

उनले लगानी बोर्डमार्फत् सार्वजनिक–निजी साझेदारी र निजी प्रत्यक्ष लगानीका परियोजना कार्यान्वयनले गति लिएको उल्लेख गर्दै नेपालले विश्व समुदायमा आकर्षक गन्तव्यको मजबुत साख निर्माण गर्न सफल भएको र त्यसमा लगानी बोर्ड नेपाल, लगानीकर्ता, विकास साझेदार एवम् लगानी सम्बन्धी सरोकारवाला सबै पक्षको महत्वपूर्ण भूमिका रहेको भन्दै सबैलाई धन्यवाद र आभार प्रकट गरेका छन् ।

त्यस्तै, लगानी बोर्डका उपाध्यक्षसमेत गरेका अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशी समेत ठूलो निजी लगानी आकर्षित गरी सार्वजनिक–निजी साझेदारी र प्रत्यक्ष निजी लगानीमा पूर्वाधार र उत्पादनमूलक परियोजनाहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।

उक्त अवसरमा तल्लो अरुण जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौताका क्रममा विकासकर्तासँग अन्तिम चरणको वार्तामा सहभागी हुने लगानी बोर्ड तर्फको पीडीएको वार्ता टोली र विकासकर्ता समेतलाई सम्मान गरिएको थियो । त्यस्तै, विदेशी लगानी आकर्षण एवं प्रवर्द्धनका लागि लगानी बोर्डको कार्यालयसँग निरन्तर सहकार्य गरी सहयोग पुयाएएकोमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाललाई सम्मानपत्र प्रदान गरिएको

थियो । कार्यक्रममा लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले लगानी बोर्ड स्थापनाको उद्देश्य, उपलब्धि र आगामी बाटो सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL