Logo

उर्जामा लगानीकर्ताको आकर्षण : साउनमा ३ परियोजना स्वीकृत, १७ अर्ब ८४ करोड लगानी प्रतिवद्धता

उर्जामा लगानीकर्ताको आकर्षण : साउनमा ३ परियोजना स्वीकृत, १७ अर्ब ८४ करोड लगानी प्रतिवद्धता



काठमाडौं । नेपालको उर्जा क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ । चालु आवको साउन महिनामा उद्योग विभागबाट विभिन्न ३ उर्जासम्बन्धी स्वदेशी परियोजनाहरु स्वीकृत भएका छन् । यसअघि उर्जा उत्पादकको अनुमति पाइसकेका सिम्बुवा रेमिट हाइड्रो, म्यार्दी खोला जलविद्युत आयोजना र तराई ईनर्जी प्रालिले लगानी गर्नका लागि विभागबाट स्वीकृति पाएका हुन् ।

laxmi

उद्योग विभागले सार्वजनिक गरेको विवरणअनुसार यी तीन परियोजनामार्फत १७ अर्ब ८४ करोड रुपैयाँ अर्थात् झण्डै पौने १८ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । साउन महिनामा उर्जामुलक क्षेत्रमा आएको लगानी प्रतिवद्धतामध्ये सबैभन्दा बढी लगानी प्रतिवद्धता सिम्बुवा रेमिट हाइड्रोपावर कम्पनीमार्फत आएको विभागले जानकारी दिएको छ ।

यसअघि उर्जा उत्पादकको अनुमति र नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौतासमेत गरिसकेको उक्त कम्पनीले उद्योग विभागमा १३ अर्ब ४४ करोड रुपैयाँ लगानीको प्रतिवद्धता जाहेर गरेको हो । गत साउन २२ गते लगानी स्वीकृति पाएको कम्पनीले ताप्लेजुङको फुङलिङमा ७०.३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने बताएको छ । आयोजनाले बार्षिक औसतमा ३ सय ७८ गिगावाट विद्युत खरिद गर्ने योजना बनाएको छ । जसमध्ये सुक्खायाममा १ सय १७ गिगावाट र बर्खायाममा २ सय ६१ गिगागाट जलविद्युत उत्पादन गरी विक्री गर्न सकिने प्रतिवद्धता उद्योग विभागसामु जाहेर गरेको हो ।

यस्तै आयोजनाले ५२ जनालाई रोजगारी दिने जानकारी दिएको छ । यस्तै साउनमै आएको नयाँ उर्जामुलक परियोजना म्यार्दी खोला हाइड्रोपावर कम्पनी प्रालि हो । कम्पनीले लमजुङको अर्चलेमा जलविद्युत आयोजना निर्माण गर्नेगरी उद्योग विभागबाट ४ अर्ब २२ करोड ९६ लाख रुपैयाँ लगानी प्रतिवद्धता जाहेर गरेको छ । गत साउन ३० गते विभागबाट लगानी स्वीकृति पाएको आयोजनाले २७.५० मेगावाट बिजुली उत्पादन गर्ने बताएको छ । यो आयोजनामार्फत ४५ जनाले रोजगारी पाउने बताईएको छ ।

यस्तै गएको साउन ३२ गते उद्योग विभागबाट लगानी स्वीकृति पाएको अर्को उर्जामुलक कम्पनी भने तराई इनर्जी प्रालि हो । कम्पनीले पर्साको सेढवामा साढे दुई मेगावाट विद्युत उत्पादन गर्नका लागि सौर्य उर्जा परियोजना स्थापना गर्ने प्रतिवद्धता जाहेर गरेको छ । कुल १८ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता जाहेर गरेको कम्पनीले ८ जनालाई रोजगारी दिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL