Logo

भारतले भन्सार घटाएपछि खानेतेलको निर्यात चौपट, यी हुन् नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तु

भारतले भन्सार घटाएपछि खानेतेलको निर्यात चौपट, यी हुन् नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तु



काठमाडौं । नेपालको निर्यात व्यापारमा करिव ३ बर्षसम्म पहिलो स्थानमा रहेको खानेतेलको निर्यात सुस्ताएको छ । गत आर्थिक बर्षसम्मै सबैभन्दा धेरै निर्यात हुने वस्तुको पहिलो स्थानमै रहँदै आएको खानेतेल चालु आवको पहिलो महिनामै ११ औं स्थानमा पुगेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार गएको साउन महिनामा नेपालबाट धेरै निर्यात हुने वस्तुको सूचीमा खानेतेलभन्दा अगाडी १० वस्तुहरु छन् ।

laxmi

यसअघि बढी निर्यात हुने वस्तुको सूचीको पहिलो स्थानमा रहँदै आएको पाम, भटमास र सुर्यमुखी तेल भारतको निरुत्साहन नीतिले एकाएक ओरालो लागेको हो । विभागको तथ्यांकअनुसार करिव अघिल्लो आर्थिक बर्ष २०७८/७९ मा मात्रै नेपालबाट कुल निर्यात हुने वस्तुको करिव ६० प्रतिशत हिस्सा खानेतेलको निर्यातले ओगटेको थियो । त्यसको पनि करिव ९८ प्रतिशत खानेतेल भारतमै निर्यात हुने गरेको थियो ।

उक्त बर्ष नेपालले हालसम्मकै उच्च खानेतेल भारततर्फ निर्यात गरेको थियो । भन्सार विभागका अनुसार उक्त आर्थिक बर्षभरी नेपालले ९३ अर्ब ७४ करोड ५ लाख रुपैयाँ बराबरको खानेतेल निर्यात गरेको देखिन्छ । खासगरी नेपालका खानेतेल प्रशोधन गर्ने उद्योगहिरुले भारतमा कच्चा खानेतेलको उच्च भन्सारदरको फाईदा उठाउँदै नेपालबाट प्रशोधित तेल पठाउन थालेका थिए । यसो हुँदा भारतमै उत्पादन भएको तेलभन्दा नेपालबाट गएको तेल सस्तो हुन्थ्यो जसको फाईदा उठाउँदै नेपाली व्यापारीले अर्थिक बर्ष २०७५/७६ मापहिलोपल्ट १२ अर्ब ९५ करोड २२ लाख रुपैयाँ बराबरको तेलजन्य पदार्थ निर्यात निर्यात गरेका थिए ।

सोही प्रक्रिया जारी हुँदा र भारतमा कच्चा तेलको भन्सार शुल्क उच्च हुँदा त्यसको पछिल्लो बर्ष २०७६/७७ मा तेलको निर्यात बढेर ३१ अर्ब १९ करोड २०७७/७८ मा झनै बढेर ५५ अर्ब ९५ करोड ९१ लाख रुपैयाँ पुगेको थियो । तर, त्यसै आर्थिक बर्ष भारतले कच्चा तेलको भन्सार शुल्क घटाईदियो ।

यसरी भारतमै कच्चा तेलको भन्सार शुल्क घटाएर भारतमै तेल उत्पादन सस्तो भएपछि नेपालबाट जाने तेल महंगो भयो । यसको संकेत पाएका व्यापारीले विदेशबाट ल्याएको सबै कच्चा तेल प्रशोधन गरेर भारत एकाएक पठाउँदो अघिल्लो आर्थिक बर्ष हालसम्मकै उच्च खानेतेल नेपालबाट भारततर्फ गएको देखिन्छ । तर, त्यसले निरन्तरता पाएन । भारतमा खानेतेल सस्तो भएपछि नेपाली तेल प्रशोधनकर्ताहरुले भारतमा घाटामा तेल बेच्न चाहेनन् र गत बर्ष यसको निर्यात घटेर २९ अर्ब ४४ करोड रुपैयाँमा झरेको थियो ।

तर, चालु आर्थिक बर्षको सुरुवातमै यसको निर्यातमा ठुलो संकुचन आएको भन्सार विभागको तथ्यांकले देखाएको छ । चालु आवको साउनमा नेपालबाट ४८ करोड ७६ लाख रुपैयाँ बराबरको मात्रै प्रशोधित तेल निर्यात भएको छ । यो धेरै निर्यात हुने सूचीको ११ औं स्थानमा छ । बरु यसको आयात भने यसै अवधिमा ५ अर्ब १२ करोड २५ लाख रुपैइाँ बराबर भएको देखिएको छ ।

भन्सार विभागका अनुसार नेपाली उद्योगीले अर्जेन्टीना, ब्राजिल र इजीप्टबाट भटमास, ईजरायल, स्पेन र कोरियाबाट ओलिभ, इन्डोनेसिया, मलेसिया र फिलिपीन्सबाट पाम आयात गरेर यसलाई सामान्य प्रशोधन गर्र्दै भारतमा निर्यात गर्दै आईरहेका थिए । यसरी प्रशोधन गरी भारत पठाउँदा ३० प्रतिशतसम्म भ्यालु एड हुने उद्योगीहरुले बताउँदै आएका थिए ।

यी हुन् साउनमा धेरै निर्यात भएका वस्तु

चालु आर्थिक बर्षको पहिलो महिना साउनमा नेपालबाट धेरै निर्यात हुने वस्तुको पहिलो सूचीमा चिया, कफी छ । भन्सार विभागका अनुसार गएको साउनमा मात्रै नेपालले विभिन्न राष्ट्रहरुमा १ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ बराबरको चियाकफी बेचेको छ । यस्तै यसको दोस्रो स्थानमा १ अर्ब १९ करोड ४४ लाख रुपैयाँसहित फलाम र स्टिल छ ।

हाल धेरै निर्यात भएको तेस्रो र चौथो स्थानमा गलैँचा र खाद्य पदार्थ र यसबाट बनेका वस्तुहरु छन् । यी वस्तुहरु बेचेर नेपालले क्रमशः १ अर्ब ५ करोड र ९८ करोड रुपैयाँ बराबर रकम आर्जन गरेको छ । यस्तै नेपालबाट धेरै निर्यात हुने वस्तुहरुमा क्रमशः कपडा, फर्निचर र फर्निचरका सामग्री, फेल्ट, वनस्पतिजन्य फाईवर र तयारी पोशाकलगायतका वस्तुहरु छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL