Logo

कहिले बन्छ नेपालकै आफ्नै ‘इन्टरनेट ब्राउजर’ ? राष्ट्रिय सुरक्षाको विषय किन परेन प्राथमिकतामा ?

कहिले बन्छ नेपालकै आफ्नै ‘इन्टरनेट ब्राउजर’ ? राष्ट्रिय सुरक्षाको विषय किन परेन प्राथमिकतामा ?



काठमाडौं । अनलाइन सुरक्षा र गोपनीयता पछिल्लो समयको सबैभन्दा महत्वपूर्ण मुद्दा बनेको छ । अनलाइन अर्थात इन्टरनेटबाट हुने अपराधको बढ्दो तथ्यांक नेपालका लागि चिन्ताको विषय बनिरहेको छ । यस्तोमा सरकारले विभिन्न रुपमा अनलाइनबाट हुने ठगी, अपराध र चुनौतीहरुको सामना गर्न पहल गरिरहेको छ । तर, राष्ट्रिय सुरक्षामा असर पर्नसक्ने गरि नेपाल सरकारका सबै निकायले अहिलेसम्म विदेशी ब्राउजरमै काम गरिरहेका छन् । अझ भनौं सरकारले अहिलेसम्म यो विषयलाई निकै सामान्य रुपमा लिइरहेको छ ।

laxmi

हुन त नेपालमा आफ्नै इन्टरनेट ब्राउजर बनाउने विषयमा चर्चा नभएको होइन । तर, यस विषयले प्राथमिकता भने नपाएको देखिन्छ । संचार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार नेपालको पनि आफ्नै ब्राउजर बनाउने कि भन्ने बिषयमा एकपटक छलफल भने भएको थियो । तर, त्यसको अझै टुंगो भने लागिनसकेको मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए । ‘पछिल्लोपटक केहि महिना अघि मात्रै नेशनल सेक्युरिटि (राष्ट्रिय सुरक्षा) का लागि आफ्नै ब्राउजर चाहिने भन्दै हामीले एक चरणको छलफल पनि गरिसकेका छौं,’ उनले भने, ‘त्यसपछि यसको अन्य काम अघि बढिसकेको छैन ।’

किन चाहिन्छ स्वदेशी ब्राउजर ?

अहिले नेपालका सरकारी निकायहरुले आफ्नो डाटा रूट स्टोरमा समावेश गर्दैनन् । रुट स्टोरलाई ट्रस्ट स्टोर भनिन्छ । जसमा अपरेटिङ सिस्टम र एप्लिकेसनलाई सुरक्षित छ वा छैन भन्ने जानकारी दिइन्छ । यसको प्रमाणीकरणमा कुनै पनि नेपाली एजेन्सी समावेश गरिएको छैन । सरल भाषामा भन्नुपर्दा विदेशी ब्राउजरले नेपालीहरूको सुरक्षा र गोपनीयताका सम्बन्धमा नेपाल सरकारसँग समन्वय नगर्ने भएकाले नेपालको आफ्नै इन्टरनेट ब्राउजर बनाउन आवश्यक छ । नेपाल पछिल्लो समय द्रुत रूपमा डिजिटलाइज हुँदैछ । यस्तो अवस्थामा अनलाइन सुरक्षा र गोपनीयता प्रमुख मुद्दा बनिरहेको छ । पछिल्लो समय विश्वका धेरै देशले सरकारी काम कारवाहीको गोपनीयता, सुरक्षा र दुरुपयोग रोक्न आफ्न्र इन्टरनेट ब्राउजर प्रयोग गरिरहेका छन् ।

ब्राउजिङमा अमेरिकी कब्जा

नेपालमा प्रयोग हुने इन्टरनेट ब्राउजरको बजार प्रायः सबै अमेरिकी कम्पनीहरूले ओगटेका छन् । गुगल क्रोम नेपालमा सबैभन्दा बढी प्रयोग गरिन्छ । नेपालमा गुगल क्रोम ब्राउजरको हिस्सा लगभग ९० प्रतिशतभन्दा बढी रहेको अनुमान छ । त्यसपछि माइक्रोसफ्ट एज, फायरफक्स मोजिला, सामसुङ, एप्पल सफारीजस्ता ब्राउजरलगायतका इन्टरनेट ब्राउजर नेपालमा इन्टरनेट प्रयोगकर्ताले उपयोग गर्ने गर्छन ।

छिमेकी भारतले आफ्नै ब्राउजर बनाउँदै

नेपालकै छिमेकी भारतले भारत सरकारले पनि आफ्नो स्वदेशी इन्टरनेट ब्राउजर ल्याउने काम अघि बढाइसकेको छ । भारतले गुगल क्रोम, माइक्रोसफ्ट एज, मोजिला फायरफक्सजस्ता विदेशी इन्टरनेट ब्राउजरहरुको प्रतिस्थापन गर्नेगरी स्वदेशी ब्राउजर निर्माणको काम अघि बढाएको हो ।

भारतले यस विषयमा इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालयअन्तरगत योजना बनाएको छ । जसमा स्वदेशी ब्राउजरको आवश्यकता उल्लेख गरिएको छ । सरकारले स्वदेशी इन्टरनेट ब्राउजर बनाउन ३ करोडको बजेट घोषणा गरेको छ । यसका लागि सरकारले भारतीय स्टार्टअप र सफ्टवेयरको टोलीलाई आमन्त्रित गरेको छ, जसले स्वदेशी इन्टरनेट ब्राउजर विकास गर्न काम गर्नेछ । यो तयार भएपछि, यसलाई सुरक्षा प्रमाणपत्र दिइनेछ, त्यसपछि प्रयोगकर्ताहरूले स्वदेशी ब्राउजर प्रयोग गर्न सक्षम हुनेछन् । मोदी सरकार यस्तो इन्टरनेट ब्राउजर बनाउन चाहन्छ, जसले भारतसँगै विश्वव्यापी चुनौतीहरूको सामना गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL