Logo

म्याग्दीको कोप्रे झरना आन्तरिक पर्यटकको रोजाइमा, आकर्षणको केन्द्रविन्दु बन्दै

म्याग्दीको कोप्रे झरना आन्तरिक पर्यटकको रोजाइमा, आकर्षणको केन्द्रविन्दु बन्दै



काठमाडौँ । पुछारमा कलकल बगेको म्याग्दी नदी । नदीको तट (किनार)मा लमतन्नै परेको खेतको फाँट । परम्परागत र आधुनिक शैलीका घरले चिटिक्क सिँगारिएको बगरफाँट गाउँ । गाउँको सिरानमा घना जङ्गल ।

laxmi

जङ्गलको माथिपट्टि विशाल भिर । त्यही भिरको मुख्य पहाडनै काटिएर अङ्ग्रेजी अक्षर भी आकारमा माथिदेखि तल फैलँदै अर्धसोली आकारमा झरेको पानी उड्ने कोप्रे झरना हिजोआज धेरैको आकर्षणको केन्द्र विन्दु बन्दै गइरहेको छ ।

म्याग्दीको बेनी नगरपालिका–३ दुधेखोलास्थित सो झरना अवलोकनका लागि यहाँ आन्तरिक पर्यटकको आवागमन बढ्दै जान थालेको छ । म्याग्दीको सदरमुकाम बेनी बजारको म्याग्दी पुल तरेर पश्चिम हाँडेभिर सुर्केमेला बरङ्जा सडकखण्डतर्फ लाग्दा बगरफाँटमा रमणीय धानका हरिया फाँट कटेपछि यो झरनामा पुग्न सकिन्छ ।

म्याग्दी खोलाको काखमा सुन्दर शान्त बगरफाँट बस्ती र शिरमा झर्ने विभिन्न झरना हेर्दै करिब दुई किलोमिटरको यात्रापछि पुगिन्छ कोप्रे झरनामा । करिब दुई सय मिटर उचाइ रहेको कोप्रे छहरा र पाँच सय मिटर उचाइ रहेको यो झरना मुख्य सडकको एक सय मिटर दक्षिणी भागमा अवस्थित छ ।

यहाँ दैनिक ५० देखि दुई सय युवायुवती रमाउन आउने गर्दछन् । यहाँ दुई कोप्रे र उडाइनो झरना छन् । बेनी –२ का कमल जिसीले कोप्रे झरना हिजोआज धेरैको आकर्षणको केन्द्र बन्दै गइरहेका बताए । बेनी –२ बगरफाँटमा पर्ने उडाइनो झरना र बेनी –३ भकिम्लीको दुधेखोलामा पर्ने कोप्रे झरना दुवै वडाका आकर्षक झरना हुन् ।

बेनी –३ भकिम्लीको तोराखेतबाट झर्ने उडाइनो झरना र कोप्रे झरना पानीको स्थायी स्रोत नहुँदा हिउँदमा सुक्ने र बर्खामा बग्ने गर्दछन् । पूर्वाधार विकास र प्रचारप्रसार गर्नसके आकर्षक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकसित हुँदै गरेको लभहिल, टोड्के, भकिम्लीको स्वर्गाश्रमजस्तै अर्को पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयको भनाइ छ ।

आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने सम्भावना भएको झरना करिब दुई सय ५० मिटर अग्लो छ । झरना सदरमुकाम बेनी बजारदेखि करिब ४५ मिनेटको दूरी र बेनी–बगरफाँट–बरङ्जा सडकअन्तर्गत बगरफाँट गाउँबाट एक हजार मिटर दक्षिणमा पर्दछ । बेनपा–३ भकिम्लीको तोराखेतबाट झर्ने सो झरना पानीको स्थायी स्रोत नहुँदा हिउँदमा सुक्ने र बर्खामा बग्ने गर्दछ ।

पूर्वाधार विकास र प्रचारप्रसार गर्नसके आकर्षक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकसित हुँदै गरेको लभहिल, टोड्के, भकिम्लीको स्वर्गद्वारी आश्रमजस्तै अर्को पर्यटकीय गन्तव्य बनाउन प्रयास गरिने बेनी –३ का वडाध्यक्ष पदमबहादुर पुनले बताए ।

म्याग्दीका बुद्धिजीवी एवं इतिहासका अध्येता चन्द्रप्रकाश बानियाँले म्याग्दी नदीको पानी लिफ्ट गरेर भए पनि झरनालाई निरन्तरता दिनुपर्ने बताउछन् । सो झरनाका कारण सदरमुकाम बेनी र बगरफाँटको मात्रै नभई पुलस्त्य डाँडो, ढोलठाना, मल्लाज, गाजने र टोड्केको समेत प्राकृतिक सुन्दरतामा आकर्षण थपिने उनको भनाइ छ ।

रमणीय जङ्गलको बीचमा रहेको झरना वरिपरि जङ्गली जनावर र पशुपन्छीको वासस्थानसमेत छ । प्राकृतिकस्वरुप नबिग्रने गरी सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाएर यसको विकासमा लाग्न स्थानीयले नगरपालिकासँग माग गरेका छन् ।

अन्य दिनभन्दा छुट्टीको दिनमा यहाँ घुम्न आउनेको सङ्ख्या बढी हुने गरेको पाइएको छ भने किशोरकिशोरी र युवा समूहले बढी अवलोकन गर्ने गरेका स्थानीयवासीको भनाइ रहेको छ । यी दुई झरना पर्यटकीयस्थल लभ्लीहिल पछिको दोस्रो बढी तस्बिर खिचिने स्थान भएको बेनीबाट झरनामा घुम्न आउनुभएका कृष्ण श्रेष्ठले बताए।

पैदल वा सवारी दुवैको प्रयोग गरी पुग्न सकिने यस छहरालाई व्यवस्थित गरी प्रचारप्रसार गर्न सकिएमा म्याग्दीको पर्यटनमा थप इँटा थपिने उनको भनाइ छ । यहाँ पर्यटकीय पूर्वाधारको विकास गर्ने हो भने भकिम्ली बेलढुङ्गा तथा मङ्गला गाउँपालिकाको झाँक्रीपानीसम्म पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुने यहाँ पुग्ने युवाले बताएका छन् ।

रमणीय जङ्गलको बीचमा रहेको झरना वरिपरि जङ्गली जनावर र पशुपन्छीको वासस्थानसमेत छ । प्राकृतिकस्वरुप नबिग्रने गरी सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाउनुपर्ने स्थानीयको माग रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL