Logo

एक बर्षमा १६ अर्बभन्दा बढीको फलफूल आयात, स्याउ आयात बापत मात्रै बाहिरियो सात अर्ब

एक बर्षमा १६ अर्बभन्दा बढीको फलफूल आयात, स्याउ आयात बापत मात्रै बाहिरियो सात अर्ब



काठमाडौं । गत आर्थिक वर्ष २०७९र८० मा १६ अर्ब रुपैयाँभन्दा बढीको फलफूल आयात भएको छ । कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं रकम बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्काअनुसार गत आवमा १६ अर्ब ८ करोड रुपैयाँभन्दा बढी रकम फलफूल आयातका लागि बाहिरिएको छ ।

laxmi

७ अर्बको९ करोड स्याउ आयात

विभागका अनुसार गत आवमा ७ अर्ब ९ करोड ४४ लाख ७७ हजार रुपैयाँ मूल्य बराबरको ८ करोड ३२ लाख ७४ हजार ३ सय ३१ केजी स्याउ आयात भएको छ । त्यसबाट सरकारले ८६ करोड ८३ लाख ८९ हजार रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ ।

सार्वजनिक विवरणानुसार चीनबाट सबैभन्दा धेरै स्याउ आयात भएको देखिन्छ । चीनबाट मात्र ५ अर्ब १५ करोड ५८ लाख ४५ हजार रुपैयाँ मूल्य बराबरको स्याउ आयात भएको छ । त्यस्तै भारतबाट १ अर्ब ९३ करोड ८ लाख ७८ हजार, अमेरिकाबाट ५० लाख ३४ हजार, स्वीजरल्याण्डबाट २७ लाख २० हजार मूल्य बराबरको स्याउ आयात भएको विवरण छ ।

२ अर्बको अङ्गुर आयात

गत आवमा मुलुकमा २ अर्ब १५ करोड ८८ लाख ७६ हजार रुपैयाँ मूल्य बराबरका ३ करोड ९ लाख ८ हजार १ सय ७२ केजी ताजा अङ्गुर आयात भएको छ । त्यसबाट सरकारले ११ करोड एक लाख ७० हजार रुपैयाँ राजस्व सङ्कलन गरेकोे छ । ताजा अङ्गुर सबैभन्दा धेरै भारतबाट २ अर्ब १३ करोड ७६ लाख ६५ हजार बराबर तथा चीन बाट २ करोड १२ लाख तीन हजार बराबरको आयात भएको छ ।

केरा आयातबाट १ अर्ब ६२ करोड बाहिरियो

विभागका अनुसार गत आवमा १ अर्ब ६२ करोड ७३ लाख ९९ हजार बराबरको केरा आयात भएको छ । कूल पाँच करोड ३३ लाख ९४ हजार सात सय ९५ केजी केरा भारतबाट आयात भएको र त्यसबापत सरकारले रु २९ करोड ४३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको सार्वजनिक विवरणमा उल्लेख छ ।

विभागका अनुसार गत आवमा ८९ लाख चार हजार एक सय २७ केजी अनार आयातमा रु ९३ करोड ४९ लाख ३५ हजार रकम बाहिरिएको छ । जसबाट सरकारले रु नौ करोड ४९ लाख ९० हजार राजस्व उठाएको छ ।

सार्वजनिक विवरणानुसार गत आवमा रु ८८ करोड १८ लाख ८४ हजार बराबरको एक करोड ५४ लाख ८७ हजार आठ सय ८१ केजी सुन्तला आयात भएको छ । त्यस्तै एक करोड ५५ लाख ५१ हजार तीन सय ६८ केजी अम्बा तथा आँप आयातमा रु ७० करोड दुई लाख ७२ हजार बाहिरिएको छ । साथै दुई करोड ७० लाख ७७ हजार दुई सय ८६ केजी खरबुजा आयातका लागि रु ६८ करोड ९५ लाख ४० हजार बराबर रकम बाहिरिएको छ ।

नेपालको हावापानी सुहाउँदो फलका रुपमा रहेको मेवाको आयातसमेत उच्च देखिन्छ । विभागका अनुसार गत आवमा ८८ लाख ३५ हजार तीन सय आठ केजी मेवा आयात भएको देखिन्छ । मेवाको आयात मूल्य रु ३० करोड ९० लाख ८१ हजार बराबर छ ।

यस अवधिमा रु १३ करोड ६२ लाख ५८ हजार बराबरको ३० लाख ५० हजार आठ सय ९० केजी भुइँकटहर आयात भएको छ भने १५ लाख ६२ हजार सात सय ३८ किलो नास्पाती आयातमा रु १२ करोड ३६ लाख २६ हजार खर्च बाहिरिएको छ ।

त्यस्तै रु नौ करोड ४५ लाख ७८ हजार बराबरको दुई लाख ५८ हजार छ सय २८ किलो एभोगाडो आयात भएको छ भने रु सात करोड ५२ लाख २१ हजार बराबरको चार लाख १० हजार तीन सय २२ किलो किबी आयात भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL