Logo

स्वदेशी लगानीकर्ता काठमाडौंमा केन्द्रित, एक बर्षमा १०३ परियोजनामार्फत ३७ अर्ब लगानी प्रतिवद्धता

स्वदेशी लगानीकर्ता काठमाडौंमा केन्द्रित, एक बर्षमा १०३ परियोजनामार्फत ३७ अर्ब लगानी प्रतिवद्धता



काठमाडौं । नयाँ उद्योग सञ्चालनका लागि स्वदेशी लगानीकर्ता काठमाडौं केन्द्रित देखिएका छन् । लगानीकर्ताले कुनै नयाँ क्षेत्रमा लगानी गर्दा त्यहाँको भौगोलिक परिस्थिति हेर्छन् । पानी, विजुली, सडकलगायत पुर्वाधारको विकास र बजारको खोजी लगानीकर्ताले सँधै गर्छन् । त्यसैको कारण भनौं पछिल्लो समय उद्योग क्षेत्रको लगानी पनि काठमाडौं केन्द्रित हुँदै गएको छ ।

laxmi

उद्योग विभागका अनुसार चालु आर्थिक बर्षको हालसम्म विभागमा दर्ता भएका परियोजनामध्ये ३३ प्रतिशत बढी परियोजना काठमाडौंमै छन् । चालु आवको हालसम्म अर्थात असार २८ गतेसम्म नेपालमा उद्योग विभागमार्फत ३ सय १२ ओटा स्वदेशी परियोजना दर्ता भएका छन् । विभागका अनुसार यसमध्ये १ सय ३ परियोजना काठमाडौंमै दर्ता भएका छन् । नेपालमा हरेक उत्पादनको सबैभन्दा ठुलो बजार नै काठमाडों भएकाले धेरैजसो लगानी यहाँ केन्द्रित हुने गरेको एक व्यवसायी बताउँछन् ।

विभागका अनुसार चालु आवको हालसम्म नेपालमा ३ सय १२ परियोजनामार्फत २ खर्ब ९ अर्ब १० करोड रुपैयाँ बराबरको स्वदेशी लगानी प्रतिवद्धता आएको छ । त्यसमध्ये ३७ अर्ब रुपैयाँ बढीको प्रतिवद्धता काठमाडौंमै छ । यस्तै उद्योग संख्यालाई नै आधार मान्दा नेपाली लगानीकर्ताको अर्काे आकर्षण भने ललितपुर जिल्लामा छ । यहाँ चालु आवको हालसम्म विभिन्न २४ परियोजनामार्फत ३ अर्ब २८ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको विभागले जानकारी दिएको छ । यस्तै यसै अवधिमा रुपन्देहीमा २१, बारामा १६, पर्सामा १५, कास्कीमा ११ र मोरङमा ९ परियोजना दर्ता भएका छन् ।

यस्तै लगानीका हिसावले हेर्दा भने काठमाडौंपछि दोलखामा धेरै लगानी प्रतिवद्धता गएको देखिन्छ । उद्योग विभागका अनुसार चालु आवको हालसम्म देलखामा परियोजना स्थापना गर्नेगरी २२ अर्ब ९५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आउँदा सोलुखुम्बुमा १४ अर्ब ८५ करोड, म्याग्दीमा १३ अर्ब ७७ करोड र पर्सामा ९ अर्ब ९२ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

सेवामुलक क्षेत्रमा आकर्षण

पूर्वाधारको विकास र बजारको पहुँचलाई नै आधार मान्दै धेरैजसो लगानीकर्ताहरु काठमाडौं केन्द्रित हुँदा यहाँ सबैभन्दा बढी लगानी भने सेवा क्षेत्रको आएको पाइएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक बर्षभरी हालसम्म काठमाडौंमा आएको कुल लगानी प्रतिवद्धताको ६० प्रतिशत लगानी सेवा क्षेत्रको छ ।

विभागका अनुसार काठमाडौंमा चालु आवको २७ गतेसम्म ३७ अर्ब २९ करोड ७९ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । त्यसको ६० प्रतिशत अर्थात २२ अर्ब १५ करोड ८२ लाख रुपैयाँ बराबरको प्रतिवद्धता एक्लै सेवा क्षेत्रमा आएको छ । विभागका अनुसार यो क्षेत्रका ४४ परियोजनामार्फत उक्त लगानी आएको हो ।

यस्तै यसै अवधिमा काठमाडौंमा ९ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता पर्यटन क्षेत्रमा, ३ अर्ब ९८ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता उर्जामुलक क्षेत्रमा र १ अर्ब २२ करोड रुपैयाँ बराबरको लगानी उत्पादनमुलक क्षेत्रमा आएको छ ।

पछिल्लो समय सरकारले लगानीको विविधिकरण गर्न भन्दै देशभरका स्थानीय तहमा औद्योगिक ग्राम, सातै प्रदेशमा विशेष आर्थिक क्षेत्रलगायतको घोषणा गरेपनि अझै यसको असर लगानी विकेन्द्रिकरणमा नपरेको देखिएको छ । अझै लगानीकर्ताहरु काठमाडौंलगायत प्रमुख सहरमै लगानी बढाईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL