Logo

नेपाली अर्थतन्त्रमा मन्दी : भुक्तानी कारोबारमा लगातार संकुचन, प्रत्येक महिना ३ खर्बको गिरावट

नेपाली अर्थतन्त्रमा मन्दी : भुक्तानी कारोबारमा लगातार संकुचन, प्रत्येक महिना ३ खर्बको गिरावट



काठमाडौं । बजारमा निरन्तर मन्दी बढ्दै जाँदा पछिल्लो समय भुक्तानी कारोबारमा लगातार गिरावट आइरहेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार पनि चालु आर्थिक बर्षको पहिलो महिनामा भएको भुक्तानीको तुलनामा दशौं महिना अर्थात बैशाखमा ज्यादै न्यून भुक्तानी भएको देखिएको हो ।

laxmi

तथ्यांकलाई आधार मान्दा विभिन्न माध्यमबाट गत साउनमा ५६ खर्ब ८८ अर्ब ६२ करोड रुपैयाँ बराबरको भुक्तानी भएको थियो । साउनमा भएको भुक्तानी चालु आवकै उच्च भुक्तानी हो । त्यसयता लगातार घटिरहेको भुक्तानी बैशाखसम्म आईपुग्दा जम्मा ३८ खर्ब ८२ अर्ब ३१ करोड रुपैयाँमा सीमित बनेको छ । यसरी हेर्दा साउनको तुलनामा बैशाखमा झण्डै १८ खर्ब रुपैयाँले कम भुक्तानी भएको देखिन्छ ।

नेपालमा सबैभन्दा बढी भुक्तानी रियल टाईम ग्रस सेटलमेन्ट (आरटीजीएस)को माध्यमबाट हुन्छ । यहि माध्यमबाट हुने भुक्तानीहरु नै पछिल्लो समय लगातार घटिरहेको देख्न सकिन्छ । गत साउनमा आरटीजीएस प्रणालीमार्फत नेपालमा ४३ खर्ब ७२ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको थियो । तर, यो माध्यममार्फत हुने भुक्तानी पनि लगातार ओरालो लागेर बैशाखसम्म आइपुग्दा २४ खर्ब २९ अर्ब रुपैयाँमा सीमित भएको छ ।

चालु आर्थिक बर्षको सुरुवातदेखि नै व्यापारमा मन्दी देखिँदा यसको असर समग्र भुक्तानीमा परेको आर्थिक क्षेत्रका जानकार बताउँछन् । राष्ट्र बैंकका अधिकारीहरुले पनि यसलाई अस्वीकार गदैनन् । चालु आवमा वस्तु आयातमा आएको संकुचन्, बढ्दो मूल्यवृद्धि, बैंकको उच्च ब्याजदर र सर्वसाधारणसँग तरलताको प्रवाह न्युन हुँदा यसको असर समग्र भुक्तानीमा देखिएको राष्ट्र बैंकका सूचना अधिकारी नारायण पोख्रेल बताउँछन् ।

वस्तुको बढिरहेको मूल्य र अभावका कारण पनि भुक्तानीमा ठूलो गिरावट आएको हुनसक्ने उनको भनाई छ । बजारमा उपभोक्तासँग खर्च गर्ने क्षमतामा ह्रास आएपछि वस्तुको उपभोगमा असर पर्छ । यसरी पैसा नै नभएको अवस्थामा बजारमा भएका वस्तुको खरिद कम हुन्छ र व्यापारमा मन्दी सुरु हुन्छ । अहिले व्यक्तिको क्रयशक्ति घटेर अर्थतन्त्रमै नगद प्रवाह घटेको संकेत तथ्यांकले दिएको छ ।

अझ यस अवधिमा सरकारी भुक्तानीमा गिरावट आउँदा र ठूला परियोजना निर्माणमा सुस्तता, घरजग्गाको कारोबारमा नियन्त्रणलगायतका कारण पनि भुक्तानीमा गिरावट आएको सूचना अधिकारी पोख्रेलले बताए । नेपाल राष्ट्र बैंकले घरजग्गाको कारोबारमा लगाएको अप्ठ्यारोपना, सरकारले सार्वजनिक खर्चमा गरेको कटौती र कर्मचारीले तलव नपाउँदा पनि भुक्तानीमा संकुचन आएको उनको भनाई छ ।

तथ्यांक अनुसार चालु आवको चैतको तुलनामा बैशाखमा पनि समग्र भुक्तानीमा १८ खर्ब ६ अर्ब रुपैयाँको गिरावट आएको छ । यस अवधिमा आरटीजीएस प्रणालीबाट हुने भुक्तानीमा मात्रै १९ खर्ब बढीको गिरावट आएको छ भने इलेक्ट्रिक चेक क्लियरेन्स (इसीसी)मार्फत हुने भुक्तानीमा १० खर्ब ९७ अर्ब रुपैयाँ बराबरको गिरावट आएको छ । यस्तै यसै अवधिमा पीओएस, इन्टरनेट बैंकिङ, प्रिपेड कार्डलगायतका माध्यमबाट हुने भुक्तानीमा गिरावट आएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । तर यस अवधिमा मोबाईल बैंकिङमार्फत हुने कारोबारमा ५७ अर्ब ४४ करोड रुपैयाँ बराबरको वृद्धि हुँदा आईपीएसमार्फतको भुक्तानी ६४ अर्बले बढेको छ ।

यस्तै यसै अवधिमा कनेक्ट आईपीएसमार्फत हुने भुक्तानी ९० अर्ब रुपैयाँले बढ्दा डेविट कार्डमार्फतको भुक्तानी १० अर्बले बढेको छ । यस्तै यसै अवधिमा क्युआर पेमेन्टमार्फत हुने भुक्तानी ११ अर्ब रुपैयाँले बढ्दा क्रेडिट कार्ड, इकमर्श, वालेटलगायतका माध्यमबाट हुने भुक्तानीमा वृद्धि देखिएको छ । तर, ठूलो भुक्तानी हुने माध्यमबाटै हुने भुक्तानीमा भने मासिक औसतमा करिव ३ खर्ब रुपैयाँले गिरावट आइरहेको तथ्यांकमा उल्लेख छ । यसरी लगातार भुक्तानी घट्नुले एकातर्फ बैंकिङ प्रणालीको कारोबारमा संकुचन आएको र अर्काेतर्फ सर्वसाधारणको भुक्तानी क्षमतामा नै गिरावट आएको अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL