Logo

नेतृत्वको अक्षमताले ‘प्रोजेक्ट होलिडे’मा टेलिकम, स्वार्थ समूहले परेड खेल्दा खस्किदैंछ साख

नेतृत्वको अक्षमताले ‘प्रोजेक्ट होलिडे’मा टेलिकम, स्वार्थ समूहले परेड खेल्दा खस्किदैंछ साख



काठमाडौं । असक्षम नेतृत्वको हातमा पर्दा कुनै संस्थाको साख कसरी धूमिल हुँदै जान्छ भन्ने कुराको बलियो उदाहरण बनेको छ, ‘नेपाल टेलिकम’ । नाफामा रहेका सीमित सरकारी संस्थानमध्येको टेलिकम पछिल्लो समय सेवा, योजना र प्रतिस्पर्धाको हिसाबले खस्किन थालेको छ । नियुक्तिकै समयमा अत्यन्त विवादित बनेका टेलिकमका वर्तमान प्रबन्ध निर्देशक सुनिल पौडेलको पछिल्लो काम कारवाहीले पनि यसतर्फ संकेत गरेको छ ।

laxmi

नियुक्त भएको १४ महिना पूरा भइसक्दा उनले कुनै पनि नयाँ योजना ल्याउन सकेका छैनन् । बरु समस्याग्रस्त पुरानो बिलिङ प्रणालीलाई स्वार्थ समूहकै चाहना अनुसार निरन्तरता दिनेजस्ता विवादित काममा उनको बढी रुचि देखिन्छ । स्वार्थ समूहकै हितमा काम गर्नकै लागि नियुक्ति पाएका भनेर आलोचित पौडेलले टेलिकमभित्र बलियो टिम पनि बनाउन सकेका छैनन् । यतिबेला टेलिकम आन्तरिक रुपमा प्राजेक्ट होलिडेको अवस्थामा पुग्नुमा पनि उनको अनिर्णयको स्वभाव बलियो कारण बन्न पुगेको छ ।

छैनन् नयाँ प्रोजेक्ट

नेपाल टेलिकमसँग अहिले कुनै नयाँ परियोजना छैनन् । पुराना र अपुरा परियोजनालाई सम्पन्न गर्नेबाहेक बजार विस्तार र पूर्वाधार निर्माणमा टेलिकमसँग ठोस योजना यतिबेला छैन । विस २०७८ फागुन ८ मा पौडेलले टेलिकमको बागडोर सम्हालेयता आफ्नो पहलमा कुनै पनि नयाँ परियोजनामा हात हाल्न र ल्याउन सकेका छैनन् । सञ्चालनमा रहेको मध्यपहाडी लोकमार्ग र जिल्ला सदरमुकाममा अप्टिकल फाइबर बिछ्याउने परियोजना पनि टेलिकमको नभई नेपाल दूरसञ्चार प्राधिकरणको कार्यक्रमअन्तर्गत हो । दुई वर्षभित्र सक्नुपर्ने उक्त परियोजना पनि टेलिकमले ६ वर्षसम्म पनि सम्पन्न गर्न सकेको छैन ।

यो परियोजनाअन्तर्गत टेलिकमले पछिल्लो १ बर्षमा जम्मा २ सय २७ किलोमिटर मात्रै फाईबर विछ्याईएको छ । गत वर्ष पौडेल टेलिकमको एमडीमा नियुक्त हुने बेलामा अर्थात् २०७८ फागुनसम्म करिब एक हजार ४ सय ७० किलोमिटर अप्टिकल फाईबर बिछ्याईसकिएको थियो । त्यसबेलासम्म पहिलो प्याकेजअन्तर्गत कोशी, मधेश र बागमती प्रदेशका केहि जिल्लामा टेलिकमले एक हजार २ सय ३० किलोमिटर र भर्खरै ठेक्का प्राप्त गरेको कर्णाली र सुदूरपश्चिम प्रदेशमा २ सय ४० किलोमिटर अप्टिकल फाईबर विछ्याईसकेको थियो ।

तर, त्यसको एक बर्षपछि हालसम्म उक्त नेटवर्क विस्तारको प्रगति शंखेकिराको गतिमा अघि बढिरहेको नेपाल दूरसंचार प्राधिकरणको तथ्यांकले देखाउँछ । यस अवधिमा टेलिकमले प्याकेज एकअन्तर्गत कोशी, मधेश र बागमती प्रदेशमा १ सय ३७ किलोमिटर र प्याकेज ३ को कर्णाली र सुदूरपश्चिम क्षेत्रमा १ सय १० किलोमिटर मात्रै विस्तार गरेको छ ।

तीन वर्ष अघि नै सम्पन्न गर्नुपर्ने फोरजी विस्तार परियोजना अहिलेसम्म पनि सम्पन्न भएको छैन । टेलिकमका अनुसार फोरजी सेवा परियोजनामा तोकिएको ९० प्रतिशतमा मात्र सीमित छ । यो पनि पौडेल प्रबन्ध निर्देशक नियुक्त हुनु अघिकै प्रगति हो । ‘फाईबर टु दी होम’ (एफटीटीएच) सेवा, डिजिटल भुक्तानी प्रणाली, इन्टरनेट टिभिलगायतका परियोजनालाई प्राथमिकता नदिँदा त्यसको लाभ निजी क्षेत्रका सेवा प्रदायकहरुले उठाइरहेका छन् ।

सेवा विक्री घट्यो, ब्याजको नाफामा रमाउँदै

ग्राहक संख्या बढेको देखिएपनि आम्दानीका नयाँ आधार तयार गर्न नसक्दा टेलिकमले आफ्नो सेवा बिक्रीबापत गर्ने आम्दानी भने घटिरहेको छ । टेलिकम कम्पनीको मुख्य आम्दानीको स्रोत भ्वाईस टेलिफोन सेवा र मोबाईल डाटा भएपनि एक बर्षको अवधिमा यी दुवै प्रकारका सेवाबाट हुने आम्दानीमा गिरावट आएको छ ।

टेलिकमको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्यांकलाई आधार मान्दा सेवा बिक्रीमार्फत हुने आम्दानी गत वर्षको तुलनामा ८७ करोड २९ लाख रुपैयाँले घटेको छ । गत आर्थिक बर्ष २०७८/७९ को चैत मसन्तसम्म २८ अर्ब २१ करोड रुपैयाँ पुगेको टेलिकमको कुल सेवा आम्दानी चालु आवको चैत मसान्तसम्म घटेर २७ अर्ब ३४ करोड ६६ लाख रुपैयाँ सीमित भएको हो ।

सेवा बिक्रीमार्फत हुने आम्दानी घट्दा पनि टेलिकमको समग्र आय भने औसतमै रहेको देखिन्छ । यसको मुख्य कारण हो बैंकमा रहेको निक्षेप । विभिन्न बैंकमा रहेको कम्पनीको ७० अर्ब रुपियाँभन्दा बढी निक्षेपबापत आउने ब्याजले यसको आम्दानी बढी देखाउन सहयोग पुगेको छ । ब्याजकै कारण कम्पनीको खुद आम्दानी ६७ करोड रुपैयाँले बढेको छ । गत बर्ष ३२ अर्ब ५३ करोड ६७ लाख रुपैयाँ रहेको कम्पनीको कुल आम्दानी ब्याजमै भएको वृद्धिका कारण यस वर्ष बढेर ३३ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

सेवा बिक्री घटिरहेको कम्पनीको नाफामा पनि गिरावट देखिन्छ । चालु आवको ९ महिनाको अवधिमा टेलिकमले ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ नाफा गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २ करोड ३३ लाख रुपैयाँले कम हो । गत वर्षको यो अवधिमा टेलिकमले ५ अर्ब ४३ करोड ५३ लाख रुपैयाँ नाफा गरेको थियो । टेलिकमले आम्दानी गरेको यो नाफामा बैंक ब्याजदर र विदेशी विनिमय संचितिको योगदान रहेको टेलिकम आफैंले स्वीकार गरेको छ । जसमा टेलिकमले ब्याजदर वृद्धि भएपछि बैंकमा राखिएको निक्षेपबाट मात्रै मात्रै १ अर्ब ७३ करोड ९९ लाख रुपैयाँ आम्दानी बढेको उल्लेख गरेको छ । विदेशी विनिमय दरमा आएको वृद्धिका कारण समेत ५ करोड ४६ लाख रुपैयाँ कमाएको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।

अर्थात चालु आवको चैत मसान्तसम्मको वित्तीय विवरणले नै टेलिकम बैंक ब्याजदरको आम्दानीमा रमाएको पुष्टि हुन्छ । मुख्य आय भनिएको सञ्चालन आम्दानीमा नै गिरावट आउनुले टेलिकमको हालको अवस्था दर्शाउने टेलिकमकै एक उच्च अधिकारी बताउँछन् । उनका अनुसार टेलिकमले परम्परागत तरिकाको सेवामार्फत मात्रै अब आर्जन गर्न नसकिने थाहा हुँदाहुँदै नयाँ प्रकारका सेवामा ध्यान दिन नसक्दा यस्तो परिस्थिति आएको हो । आम्दानी वृद्धिका लागि टेलिकमले यसअघि सुरु गरेका एफटीटीएच, टिभी, अनलाईन भुक्तानीलगायतका परियोजनामा वर्तमान नेतृत्वले चासो नै नदिँदा आम्दानी घटिरहेको उनको आरोप छ ।

स्वार्थ समूहको हितमा काम

राष्ट्रिय सूचना प्रविधि केन्द्रमै हुँदा दर्जनौंपटक विवादित भईसकेका पौडेलले पछिल्ला एक वर्षमा गरेका कामहरुको फेहरिस्तले उनी स्वार्थ समूहकै हितमा काम गरिरहेको स्पष्ट हुन्छ । पुरानै बिलिङ सिस्टमलाई निरन्तरता दिने होस वा परियोजनाको काममा ढिलासुस्ती गरिरहेको ह्वावेप्रति नतमस्तक भएर होस्, उनी स्वार्थ समूहलाई रिझाईरहेका छन् । आउटडेटेड बिलिङ प्रणालीले राजस्व चुहावट समेत गर्ने र तुरुन्त नयाँ बिलिङ प्रणाली खरिद गर्नुपर्ने भन्दै २०७८ सालको सुरुवातमै पुरानो सञ्चालक समितिले निर्णय गरेको थियो । हाल उनले उक्त निर्णयलाई उल्ट्याउँदै पुरानै बिलिङ प्रणालीलाई निरन्तरता दिँदै आएका छन् ।

यसमा सञ्चालक समितिले कमिसनको खेलमा नयाँ बिलिङ प्रणाली ल्याउन रोक लगाएको र पुरानै बिलिङ प्रणालीलाई निरन्तरता दिएको भन्दै अख्तियारमा उजुरीसमेत परिसकेको छ । पुरानो बिलिङ सिस्टमकै कारण टेलिकमले वार्षिक २ देखि ३ अर्ब रुपैयाँ राजस्व गुमाउँदै आएको छ । यति मात्रै होईन बिलिङ सिस्टम नै पुरानो हुँदा टेलिकमका सेवाग्राहीले २ महिनाकै अवधिमा ४ पटकसम्म सेवा अवरुद्ध भएको समस्या व्यहोर्नुपरेको घटना ताजै छ । यस्तै सेवा अवरोधका समस्या हालसम्म पनि बेलाबेलामा सेवाग्राहीले झेल्दै आएका छन् ।

सेवाग्राहीलाई सास्ती दिँदै राजस्व चुहावट गरेर स्वार्थ समुह रिझाउन उनले पुरानो बिलिङ प्रणालीलाई नछोडेको टेलिकम स्रोतले बिजखबरलाई जानकारी दिएको छ । हाल प्रयोगमा रहेको बिलिङ प्रणालीमा एसियन इन्फोको हार्डवेयर छ । सफ्टवेयर भने ओर्याकल कम्पनीको छ । एसियन इन्फोको नेपाली एजेन्ट ‘अरनिको’ हो । ओर्याकलको नेपाली एजेन्ट वल्र्ड डिस्ट्रिब्युसन नेपाल (डब्ल्यूडीएन) प्रालि हो । यसका सञ्चालक अरुण श्रेष्ठ हुन् । राजनीतिक नेतृत्वसमेतको मिलेमतोमा प्रबन्ध निर्देशक सुनील पौडेलले विद्यमान बिलिङ प्रणालीको बोलपत्र गर्नु साटो मर्मतसम्भारका लागि एसियन इन्फोसँग नै सम्झौता गरेका हुन् ।

अझ हाल भ्रष्टाचार मुद्धा खेपिरहेका सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल निकट मानिने उनी पछिल्लो समय पनि उनकै पक्षमा काम गरिरहेको टेलिकम स्रोत बताउँछ । इन्टरप्राइजेज इमेल सेवा होस् वा नाममात्रैको डेटा सेन्टर होस्, सूचना प्रविधि केन्द्रमा रहेका बेला यस्ता अनियमिततामा मुछिएका उनलाई टेलिकममा प्रवेश गराउन नै स्वार्थ समुह हाबी भएको थियो ।

टिम नै बनाउन सकेनन्

टेलिकम स्रोतका अनुसार उनी परियोजनागत मात्रै नभई टेलिकमभित्र आफ्नो टिम बनाउन पनि चुकिसकेका छन् । कुनै संस्थाभित्र काम गर्नका लागि नेतृत्वले संस्थाभित्रै आफ्नो पक्षमा एक बलियो र स्मार्ट टिम बनाउन सक्नुपर्छ । त्यस्तो टिम उनले टेलिकममा नियुक्त भएको एक वर्षसम्म पनि बनाउन सकेका छैनन् । बरु उच्च तहका कर्मचारीहरु पनि उनी नजिक रहेर काम गर्न नचाहने अवस्था पैदा भएको टेलिकम स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार उनले आफ्ना केहि कर्तुतहरु लुकाउन उच्च ओहोदाका कर्मचारीहरुलाई विदेश भ्रमणलगायतका प्याकेजहरु दिएर रिझाएका छन् । जसका कारण कर्मचारी युनियनकै पदाधिकारीहरु समेत टेलिकमभित्रको भद्रगोलको बारेमा बोल्नै चाहदैनन् ।

गुणस्तर सुधारमा छैन ध्यान

पछिल्लो समय टेलिकमको सेवामा खस्किएको गुणस्तरमा समेत नेतृत्वले चासो नराखेको देखिन्छ । हुन त हालसम्म नेपालभर टेलिकमको फोरजी सेवा पुगेको छैन । तर, पुगेकै स्थानका सेवाग्राहीहरुले पनि फोरजी सेवाको अनुभव गर्न नपाएको गुनासो गर्दै आएका छन् । यस्तो समस्या राजधानीमै पनि उत्तिकै छ । सेवाको मर्मतसम्भारमा होस् वा सेवा विस्तारमा होस् बेलैमा यसप्रति गम्भिर नभए टेलिकमको विश्वसनीयता खस्कदै जानेप्रति कर्मचारीहरु चिन्तित छन् ।

सार्वजनिक हुनै डराउँछन्

टेलिकमले प्रत्येक वर्ष विभिन्न किसिमका सार्वजनिक कार्यक्रम आयोजना गर्छ । आफ्नो वार्षिक कार्यक्रमदेखि नयाँ योजनाहरु ल्याउने अवसरमा पनि कम्पनीले सार्वजनिक रुपमा त्यसको घोषणा गर्छ । तर, वर्तमान नेतृत्व पौडेल भने यस्ता सार्वजनिक कार्यक्रमसँग डराउँछन् । टेलिकमको नेतृत्व सम्हालेयता खासै केही प्रगति गर्न नसकेपछि उनी सार्वजनिक रुपमा त्यसको जवाफ दिन र उत्तरदायी बन्ने दायित्वबाट विमुख हुँदै आएका छन् । कम्पनीको वार्षिकोत्सवको अवसरमा औपचारिक सम्बोधनबाहेक उनी आफू नियुक्त भएयता अन्य कुनै पनि कार्यक्रममा कम्पनीको प्रतिनिधित्व गरेर सार्वजनिक चासोको प्रतिक्रिया दिनबाट भागिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL