Logo

स्याङ्जाका ६ हजार करदाताले बुझाएनन् आयकर विवरण, पत्राचार गर्दै कार्यालय

स्याङ्जाका ६ हजार करदाताले बुझाएनन् आयकर विवरण, पत्राचार गर्दै कार्यालय



काठमाडौं । गत वैशाख २५ गतेसम्म स्याङ्जाका ६ हजार बढी करदाताले आयकरतर्फको आय विवरण बुझाएका छैनन् । करदाता सेवा कार्यालयमा दर्तामा रहेका कूल १४ हजार चार सय ४७ सङ्घसंस्था, कम्पनी, समूह, समिति र फर्म रहेकामा ६ हजार १ सय १० करदाताले आयकर विवरण नबुझाएका हुन् ।

गत वैशाख मसान्तसम्म करदाता सेवा कार्यालयमा आयकरतर्फको आय विवरण नबुझाउने ६ हजार १ सय १० करदातालाई आय विवरण बुझाउन पत्राचार तथा सूचना जारी गरिएको कार्यालय प्रमुख कर अधिकृत शोभाकान्त पङ्गेनीले बताए ।

गत चैत २५ गतेसम्म ६ हजार ५ सय १५ जनाले आय विवरण बुझाउन बाँकी रहेकामध्ये वैशाख मसान्तसम्म ४ सय ५ जनाले आय विवरण बुझाएको उनले बताए । प्रत्येक आर्थिक वर्ष सकिएपछि असोज मसान्तभित्र आय विवरण बुझाउनुपर्नेमा करदाताले आय विवरण नुबझाएपछि पत्राचार तथा फोन सम्पर्क भइरहेको उनले जानकारी दिए ।
‘कतिपयले व्यापार व्यवसाय छाड्नुभयो तर स्थायी लेखा नम्बर बन्द गर्नुभएको छैन’, उनले भने, ‘व्यापार व्यवसाय छाडेको भए समयमै स्थायी लेखा नम्बर स्थगन गर्न करदातालाई पत्राचार गरिएको छ ।’

व्यापार व्यवसाय सञ्चालन गर्न छाडे पनि थाहा नभएकै कारण यी समस्या देखिएका हुनसक्ने भएकाले वस्तुगत सङ्घसंस्था, जिल्लास्थित उद्योग वाणिज्य सङ्घमार्फत र स्वयं करदातालाई टेलिफोन वा म्यासेजमार्फत आयकर विवरण बुझाउन ताकेता गरिएको उनले बताए ।
समयमै आयकर नबुझाउने करदातालाई आन्तरिक राजस्व कार्यालयबाट आयकर ऐन २०५८ अनुसार अन्य कानुनी कारबाही तथा विलम्ब शुल्क लिने व्यवस्था रहेको छ । जिल्लाका ११ पालिकामध्ये करदाता सेवा कार्यालयले पत्राचार गरेसँगै विवरण बुझाउने सम्पर्कमा आई विवरण बुझाउन थालेकाले सङ्ख्या घट्दै गएको छ ।

उनका अनुसार वैशाख मसान्तसम्म वालिङ नगरपालिकाभित्रका १ हजार ८ सय ८९, पुतलीबजार नगरपालिकाका १ हजार ३ सय २०, भिरकोट नगरपालिकाका तीन सय ९०, चापाकोट नगरपालिकाका ५ सय ७९, गल्याङ नगरपालिकाका ६ सय ९६ करदाताले आयकर विवरण बुझाएका छैनन् ।

आँधीखोला गाउँपालिकाका २ सय २६, फेदीखोला गाउँपालिकाका २ सय ५८, बिरुवा गाउँपालिकाका १ सय ३५, अर्जुनचौपारी गाउँपालिकाका १ सय ७४, कालीगण्डकी गाउँपालिकाका २ सय १ र हरिनाश गाउँपालिकाका २ सय ४२ करदाताले आयकर विवरण बुझाउन बाँकी छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL