Logo

स्मार्ट टेलिकमका ग्राहक व्यवस्थापनमा अन्यौलता, २४ लाख ग्राहकको के होला ?

स्मार्ट टेलिकमका ग्राहक व्यवस्थापनमा अन्यौलता, २४ लाख ग्राहकको के होला ?



काठमाडौं । नेपालको तेस्रो ठूलो दूरसञ्चार सेवाप्रदायक स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएसँगै ग्राहकको व्यवस्थापन टाउको दुखाई बनेको छ । कम्पनीको लाइसेन्स स्वतः रद्द भएसँगै कानुनतः उक्त कम्पनीको स्वामित्व नै नियामक नेपाल दूरसंचार प्राधिकरणमा पुग्यो । लाइसेन्स बहाल नरहेका दूरसंचार सेवाप्रदायकको सम्पत्ति व्यवस्थापन नियमावलीअनुसार प्राधिकरणको स्वामित्वमा पुगेको उक्त कम्पनीका ग्राहकहरुको व्यवस्थापन भने हाल प्राधिकरणको टाउको दुखाइको कारण बनेको हो ।

laxmi

नियमावलीमा ज्यादै न्यून वा ग्राहक नै नभएको अवस्थामा भने प्राधिकरणले त्यस्तो सेवाप्रदायकको सम्पत्ति सीधै लिलामीमा राख्न सकिने व्यवस्था छ । तर, यसै पनि बढी दायित्व, न्यून सम्पत्ति र उल्लेख्य संख्यामा ग्राहक भएको कम्पनीलाई प्राधिकरणले आफ्नो जिम्मामा लिँदा केही असहजता सृजना भएको प्राधिकरणकै अधिकारीहरु बताउँछन् ।

कम्पनीको सरकारी दायित्व नै २८ अर्वभन्दा बढी छ । बैंकको ऋण, रोयल्टीलगायत बक्यौता पनि त्यत्तिकै छ । प्राधिकरणले पटकपटक ताकेता गर्दा पनि कम्पनीले प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता रकम तिर्न आनाकानी गरिरहेको थियो । पछिल्लो समय भने कम्पनीको अनुमतिपत्रको म्याद नै सकिएपछि दूरसंचार ऐन २०५३ अनुसार कम्पनीको अनुमतिपत्र स्वतः रद्द भएको थियो । यसरी स्वतः रद्द भएको कम्पनीको जिम्मेवारी नियामक प्राधिकरणले लिएर सम्पत्ति र दायित्व मूल्यांकन, ग्राहक व्यवस्थापन गरी लिलामीमा राख्नुपर्ने हुन्छ । तर, प्राधिकरणले कम्पनीको स्वामित्व आफ्नो जिम्मामा ल्याएको करिव १५ दिन पुगिसकेको छ ।

यसबीचमा प्राधिकरणको टोलीले कम्पनीको व्यवस्थापनको जिम्मेवारी हेरिरहेको छ । जसको संयोजकत्व प्राधिकरणका बोर्ड सदस्य गोकर्ण प्रसाद सिटौलाले गरिरहेका छन् । तर, यसबीचमा कम्पनीका रिचार्ज कार्ड लिएका एजेन्टहरु र केही ग्राहकहरु विरोधमा समेत उत्रिएका छन् । यी सबै समस्यालाई व्यवस्थापन गर्न प्राधिकरणले काम थालिसकेको जनाएको छ ।

यसैबीचमा प्राधिकरणले कम्पनीको सम्पत्ति भ्यालुएसनका लागि भन्दै भ्यालुएटर नियुक्तिको प्रक्रिया पनि अघि बढाइसकेको छ । तर, अब भने ग्राहक व्यबस्थापनको पाटो बाँकी छ । ग्राहकलाई एकैपटक अन्य सेवाप्रदायकमा सिफ्ट गर्ने वा अलिअलि गरेर सिफ्ट गर्ने भन्ने कुरा हालसम्म टुंगो लागिसकेको छैन । तर, प्राधिकरणले कम्पनीलाई यस्तै रुपमा कसैले सकार नगरको खण्डमा मात्रै ग्राहकको व्यवस्थापन गर्ने बताएको छ । त्यहाँसम्म भने प्राधिकरणको व्यवस्थापन समितिले ग्राहकलाई सेवा प्रदान गरिरहनेछ ।

कम्पनीले गएको माघसम्म प्राधिकरणमा बुझाएको तथ्यांकअनुुसार भ्वाईसतर्फ जीएसएम सेवा प्रयोग गर्ने सेवाग्राहीको संख्या २४ लाख १९ हजार ३३ जना छन् । यता डाटा सेवातर्फ भने कम्पनीका १ लाख ७ हजार जना ग्राहक रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । यदि कुनै कम्पनी, फर्म वा संस्थाले स्मार्ट टेलिकमलाई यत्तिकै अवस्थामा सकार गरे उक्त ग्राहकहरु पनि उसैका हुनेछन् । तर, कम्पनीको सम्पत्तिभन्दा बढी दायित्व रहेको देखिएकाले यसलाई यत्तिकै रुपमा कसैले सकार गर्न नचाहने संकेत देखिएको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL