Logo

मोरङको राठी इण्डष्ट्रिजमा भीषण आगलागी, १५ करोड बराबरको क्षति

मोरङको राठी इण्डष्ट्रिजमा भीषण आगलागी, १५ करोड बराबरको क्षति



काठमाडौं । मोरङको बूढीगंगास्थित एक उद्योगमा शुक्रबार बिहानदेखि भीषण आगलागी भइरहेको छ । बूढीगंगा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गरेको राठी म्यानिफ्याक्चरिङ इण्डष्ट्रिजमा बिहान २ बजेदेखि आगलागी भइरहेको प्रहरीले जनाएको छ ।

laxmi

इलेक्ट्रिक सामग्री (बिजुलीको बल्ब र स्वीच) बनाउँदै आएको उद्योगमा लागेको आगो यो समाचार तयार पार्दासम्म नियन्त्रणमा आउन सकेको छैन । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार आगो नियन्त्रणका लागि १२ वटा दमकलसहित ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

घटनास्थलमा रहेर नेपाल प्रहरीका निरीक्षक दुर्गा राई र सशस्त्रका निरीक्षक समराज खड्का नेतृत्वको टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेको छ । साथै स्थानीय तथा उद्योगका मजदुरले पनि आगो नियन्त्रणमा मद्दत गरिरहेका छन् ।

धेरै प्रयास गर्दा पनि आगो नियन्त्रण मुस्किल बनिरहेको डीएसपी दाहालले जानकारी दिएका छन् । उनले विद्युत सर्ट भएर आगलागी सुरु भएको हुन सक्ने जानकारी दिए । उद्योगका ३ वटा भवनमध्ये एउटामा आगो लागेको हो । नजिकैका २ वटा भवनमा भने आगो फैलनबाट सुरक्षाकर्मीले जोगाएका छन् ।

आगोले उद्योगको एउटा भवनसहित कच्चा पदार्थ, मेसिन तथा तयारी सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा आइनसकेका कारण क्षतिको विवरण यकिन भइसकेको छैन । यद्यपि, उद्योगका सञ्चालकले भने १५ करोड बराबरको क्षति भएको हुनसक्ने प्रहरीलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL