Logo

एक वर्षदेखि रोकिएको दूधकोशीको चुहार पक्की पुल निर्माण अघि बढ्यो

एक वर्षदेखि रोकिएको दूधकोशीको चुहार पक्की पुल निर्माण अघि बढ्यो



काठमाडौं । निकै लामो समयअघिबाट रोकिएको दूधकोशी नदी चुहार पक्की पुलको निर्माण नियमित भएको छ । भोजपुरलाई तराईका जिल्लासँग छोटो दूरीमा जोड्न हतुवागढी गाउँपालिका–९ हसनपुर र वेलका नगरपालिका–७ मैनामैनीलाई जोड्ने दूधकोशीको चुहारमा निर्माण भइरहेको उक्त पुल निर्माणको क्रममा देखिएको प्राविधिक समस्याका कारण रोकिएको थियो ।

निर्माणका क्रममा देखिएका विभिन्न समस्याको समाधानपछि पुलको काम पुनः थालिएको हो । एक वर्ष बढी समयदेखि रोकिएको निर्माणको कामलाई तत्काल सुरु गर्न सरोकारवालासहित निर्माण कम्पनी र कार्यालयबीच भएको छलफलपछि निर्माणले निरन्तरता पाएको हो ।

काम सुरु भएपछि निर्माण स्थलको कोशी प्रदेश सांसद सिर्जना राईले स्थलगत अनुगमन समेत गरेकी छन् । अनुगमन गर्दै सांसद राईले पुल निर्माणलाई चाँडो सम्पन्न गराउन पहल गर्ने बताइन् । कोशी प्रदेश सरकारको २१ करोड २३ लाख १२ हजार चार सय सात लागतमा पुल निर्माण थालिएको हो । पुल निर्माण तोकिएको अवधिमा काम सम्पन्न नभएपछि थप गरिएको समयमा २०८० असोज १३ गतेभित्र सम्पन्न हुने जनाइएको छ ।

पुल २०७७ असोजमा शिलान्यास भएको हो । पुलको लम्बाइ ९० मिटर र चौडाइ फुटपाथसहित साढे १० मिटर छ । भोजपुर सदरमुकामबाट दूधकोशी पुलसम्मको लम्बाइ करिब ६५ किलो मिटर छ । पूर्व क्षेत्रबाट धरानसम्म पुग्न भोजपुरवासीले करिब एक सय ५४ किलोमिटर यात्रा गर्नुपर्ने अवस्था छ । तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्ग भएकाले यसले जिल्लाको आर्थिकरुपमा विकासमा टेवा पुग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL