Logo

सुनको मूल्य कहिलेसम्म उकालो लाग्ला ?, यस्तो छ विज्ञहरुको आँकलन

सुनको मूल्य कहिलेसम्म उकालो लाग्ला ?, यस्तो छ विज्ञहरुको आँकलन



काठमाडौं । पछिल्लो समय विश्वबजारमा परिवर्तित आर्थिक परिदृष्यका कारण सुनको मूल्य लगातार उकालो लागिरहेको छ । विश्वबजारको कुरा गर्दा कोभिड अघि प्रतिऔंस १ हजार १ सयदेखि १ हजार ४ सय डलरको बीचमा कारोबार भइरहेको सुनको मूल्य हाल बढेर १९ सय माथि पुगिसकेको छ । कोरोनाको समयको तुलनामा औसतमा प्रतिऔंस ५ सय डलरभन्दा बढीले उकालो लागेको सुनको मूल्य पछिल्लो समय झन तीव्र गतिमा अघि बढिरहेको छ ।

laxmi

अझ विश्व बजारमा सुनको माग, उत्खनन् कार्यमा देखिएको चुनौती र अमेरिकी फेडरल बैंकले बढाइरहेको व्याजदरले सुनको मूल्य संरचनामा ठूलो प्रभाव पारिरहेको अन्तरराष्ट्रिय संचारमाध्यमहरु बताउँदै आएका छन् । फेडले लगातार बढाइरहेको ब्याजदरका कारण विश्व बजारमा सुनको मूल्यले एकपटक अझै उच्च मूल्यको रेकर्ड तोड्ने सिएनबीसीले उल्लेख गरेको छ ।

सिएनबीसीका अनुसार फेडले बढाइरहेको ब्याजदरले चाँडै डलर र बोन्डको मूल्यमा केही असर पर्ने भएपछि सुनको मूल्यमा उछाल आउन सक्ने सम्भावना छ । सिएमसी मार्केटकी अधिकारी टिना टेङका अनुसार चाँडै सुनको मूल्य पुनः बढेर प्रतिऔंस २ हजार ५ सयदेखि २ हजार ६ सय डलरसम्म पुग्न सक्छ ।

पछिल्लो समय अमेरिकी दुई बैंक धरापमा परेर बन्द भएपछि लगानीकर्ताहरु पैसाभन्दा सुनलगायतका वस्तुमा लगानी गर्न तम्सिएका देखिन्छन् । जसका असर सुनको मूल्यमा समेत देखिएको छ । अर्थात मार्च सुरुभएयता मात्रै सुनको मूल्य विश्व बजारमा १० प्रतिशतले बढिसकेको छ ।

विश्व बजारमा आज सुन प्रतिऔंस १९ सय ७३ डलरको आसपासमा कारोबार भइरहेको छ । यो मूल्य सन २०२० जुलाईकै बराबर हो । अर्थात कोरोना कहरका बेला विश्व बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । यस्तै विश्व बजारका सुनको मूल्यवृद्धिको कुरा गर्दा ५ बर्षमा प्रतिऔंस ६ सय ५४ डलर, १ बर्षमा ५४ डलर र ६ महिनामा ३ सय २२ डलरले वृद्धि भइसकेको छ ।

यता नेपाली बजारमा भने सुन आज प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाली बजारकै कुरा गर्दा १ महिनाकै अवधिमा पनि ३ देखि ४ हजार रुपैयाँसम्मले सुनको मूल्य बढिसकेको छ । आज भने हिजोको तुलनामा सुनको मूल्यमा २ सय रुपैयाँको गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि हिजोको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा पुगेको छ । यसरी विश्वबजारमा बढिरहेको सुनको मूल्यले नेपालमा पनि एकपटक पुनः उच्च मूल्यको रेकर्ड राख्ने महासंघका अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् । उनका अनुसार पछिल्लो समय फेडले ब्याजदर बढाउँदा र अमेरिकी बैंकहरु धरापमा परेका कारण पनि सुनको मागमा लगातार उच्च वृद्धि भइरहेको छ । जसका कारण यसको मूल्य अझै बढ्न सक्ने उनको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
MBL