Logo

सडक कालोपत्रमा प्रगति १४ प्रतिशतमात्रै, ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई स्पष्टीकरण

सडक कालोपत्रमा प्रगति १४ प्रतिशतमात्रै, ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई स्पष्टीकरण



काठमाडौं । पटक–पटक म्याद थप भएर पनि सडक कालोपत्रको काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई पूर्वाधार कार्यालय तनहुँले स्पष्टीकरणको प्रक्रिया अगाडि बढाएको छ । तनहुँको भानु नगरपालिकास्थित भानुमार्ग र शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा हर्कपुर सडकखण्डमा कालोपत्रको काममा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कार्यालयले कारबाहीस्वरुप स्पष्टीकरणको प्रक्रिया अगाडि बढाएको हो ।

दुवै सडक कालोपत्रको ठेक्का शङ्करमाली निर्माण सेवा काठमाडौँले पाएको थियो । विभिन्न मितिमा म्याद थप भएता पनि हालको मितिसम्म पटक–पटक पत्राचार र सरोकारवालासँग छलफल गर्दा पनि निर्माण व्यवसायीबाट कार्यप्रगति धेरै न्यून रही सन्तोषजनक नपाइएकाले उक्त कम्पनीलाई कारबाहीस्वरुप स्पष्टीकरण सोधिएको पूर्वाधार कार्यालयका प्रमुख दिनेश घिमिरेले जानकारी दिए ।

ठेक्का सम्झौताको शर्त र सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा (७) तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ र उक्त नियमावलीको नियम ११३ को उपनियम (६) मा भएको प्रावधान र बोलपत्र सम्झौताको टर्मिनेशन अफ कन्ट्रयाक्टका शर्तबमोजिम उक्त कम्पनीसँग चैत १० गतेभित्र स्पष्टीकरण माग गरिएको छ ।

‘सोहीबमोजिम ठेक्का खारेज गरी कालोसूचीमा राख्नेसम्बन्धी कारबाही किन अगाडि नबढाउने ? सूचना प्रकाशित भएको मितिले सात दिनभित्र स्वयं कार्यालयमा उपस्थित भई स्पष्टीकरण पेस निर्माण व्यवसायीलाई पत्राचार गरिएको छ’, प्रमुख घिमिरेले भने । उनका अनुसार निर्माण कम्पनीबाट चित्तबुझ्दो जवाफ नआएमा ठेक्का खारेज गरी कालोसूचीमा राख्ने कारबाही अगाडि बढाइनेछ ।

भानुमार्ग–चन्द्रावती–पुलिमराङ कुन्छा कालीमाटी सडकको हालसम्मको प्रगति १४ प्रतिशतमात्रै रहेको छ । विसं २०७६ कात्तिक ४ गते ठेक्का लागेको उक्त सडकको भौतिक प्रगति तीन वर्षमा अत्यन्तै न्यून रहेको हो । निर्माण व्यवसायीको लापरवाहीका कारण दुईपटक म्याद थप हुँदासमेत काम नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएको स्थानीय अगुवा गलबहादुर गुरुङले बताए । ‘१० किलोमिटर सडकखण्ड कालोपत्र गर्ने काममा निर्माण व्यवसायीले लापरवाही गर्दै आएका छन्, पटक–पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा पनि काम अगाडि बढ्न सकेन’, उनले भने, ‘बाटोको काम नहुँदा सर्वसाधारणले वर्षामा हिलो र हिउँदमा धुलोको सास्ती व्यहोर्नु परेको छ ।’

पूर्वाधार विकास कार्यालय तनहुँले मोटरमार्गको १० किमी खण्ड कालोपत्र, नाला निर्माण तथा ग्याविन जाली भर्नेलगायतका कामका लागि काठमाडौँस्थित शङ्करमाली कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो । निर्माण व्यवसायीको लापरवाहीका कारण मोटरमार्गको काम सुस्त रहेको स्थानीयवासी रहेका जिल्ला समन्वय समिति तनहुँका पूर्व सदस्य गुरुङले गुनासो गरे ।

उक्त मोटरमार्ग कालोपत्रका लागि पूर्वाधार कार्यालयले रु २३ करोड दुई लाख ८० हजारमा ठेक्का सम्झौता गरेको थियो । कार्यालयले निर्माण कम्पनीलाई रु दुई करोड ६८ लाख निकासा गरिसकेको छ । समयमा काम सम्पन्न नभएपछि विसं २०८० असार १४ गतेसम्म म्याद थप भएको कार्यालयले जनाएको छ ।

१० किलोमिटर सडकखण्ड कालोपत्र, नाला निर्माण तथा ग्याविङ जाली भने लगायतका काम विसं २०७८ माघ १५ गतेभित्र सम्पन्न गर्न विसं २०७६ कात्तिक ४ गते सम्झौता भएको थियो । विसं २०४९ मा चन्द्रावतीबाट पोखरीछापसम्म सडकको ट्रयाक खोली सवारीसाधन सञ्चालन हुँदै आएको छ । वर्षातका बेला सडक हिलाम्मे हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।

सडक कालोपत्र गर्ने काममा ढिलासुस्ती हुँदा यस भेगका स्थानीयवासीले वर्षात्मा सास्ती खेप्दै आएका छन् । निर्माण व्यवसायीको लापरवाहीका कारण वर्षात्मा हिलो र हिउँदमा धुलोले स्थानीयवासी मर्कामा पर्दै आएको भानु नगरपालिका–१३ का वडाध्यक्ष कृष्ण अधिकारीले बताए ।

दुलेगौडा–हर्कपुर सडकको १०.१८ किलोमिटर सडक कालोपत्रका लागि विसं २०७६ कात्तिक ४ गते सम्झौता भएको थियो । उक्त खण्डको प्रगति हालसम्म ३१.५४ प्रतिशत छ । उक्त खण्डको म्याद अन्तिम पटकका लागि विसं २०८० जेठ १४ गतेसम्म थप भएको छ । यस अगाडि उक्त खण्डको दुई पटक म्याद थप भइसकेको छ ।

उक्त खण्ड कालोपत्रका लागि रु २५ करोड १० लाख ६० हजारमा सम्झौता भएको थियो । शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ । पहिलो चरणमा १० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो । ट्रयाक खुलेको २४ वर्षपछि कालोपत्र सुरु हुँदा स्थानीयवासी खुसी भएका थिए । तर कामको प्रगति नबढ्दा स्थानीवासी चिन्तित छन् । रासस

प्रतिक्रिया दिनुहोस्
MBL