Logo

नेपालको प्रमुख ऋणदाता ‘विश्व बैंक’ कसरी पुनर्निर्माण बैंकबाट रुपान्तरित भयो ? कसरी काम गर्छ ?

नेपालको प्रमुख ऋणदाता ‘विश्व बैंक’ कसरी पुनर्निर्माण बैंकबाट रुपान्तरित भयो ? कसरी काम गर्छ ?



काठमाडौं । नेपालको कुल वैदेशिक ऋणमा झण्डै ५० प्रतिशत हिस्सा रहेको विश्व बैंक के हो ? यो धेरैलाई चासोको बिषय नहोला तर, अर्थतन्त्रमा चासो राख्नेहरुका लागि विश्व बैंकको कार्यप्रणाली र उद्देश्य बुझ्ने कौतुहलता पक्कै होला । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालले गत आर्थिक बर्षको असार मसान्तसम्म विभिन्न दातृ निकायहरुलाई बुझाउन बाँकी ऋण १० खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ । यसमा आधा हिस्सा विश्व बैंकको मात्रै छ । अर्थात गएको आव (असार मसान्त) सम्म नेपालले विश्व बैंकलाई ५ खर्ब ९ अर्ब रुपैयाँ बुझाउन बाँकी छ ।

laxmi

विश्व बैंकले नेपाललगायत गरिव मुलुकहरुलाई आफ्नो छुट्टै परियोजना अन्तरराष्ट्रिय विकास संघअन्तर्गत सहायता र ऋण उपलब्ध गराउँछ । सोहीअनुसार गरिव मुलुकहरुले आफ्नो आर्थिक स्तरवृद्धि गर्न विश्व बैंकबाट ऋण तथा अनुदान प्राप्त गर्दछन् । यति मात्रै होईन कोरोनाजस्ता भयानक विश्व महामारी र वातावरणीय प्रवाभका कारण निम्तिएका समस्याहरुमा विश्व बैंकले सम्बन्धित मुलुकसँग हातेमालो मिलाएर अघि बढ्ने प्रयास गर्छ ।

किन स्थापना भएको थियो विश्व बैंक ?

खासगरी दोस्रो विश्वयुद्धपश्चात युरोप र जापानको पुनर्निर्माणमा समर्थनका लागि भन्दै सन १९४४ मा यसको स्थापना भएको थियो । त्यतिखेर यसको आधिकारिक नाम पनि पुनर्निर्माण तथा विकासका लागि अन्तरराष्ट्रिय बैंक (इन्टरनेशनल बैंक फर रिकन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट) राखिएको थियो । त्यतिमात्रै होईन अन्तरराष्ट्रिय आर्थिक व्यवस्था तथा सहयोगका लागि संयुक्त राष्ट्र संघले अघि सारेको ‘ब्रेटन् वुड्स सम्झौता’को हिस्सा पनि बन्यो । त्यसपश्चात ब्रेटन वुड्स सम्झौताले अन्तरराष्ट्रिय मुद्रा कोषको सिर्जना पनि गर्याे ।

केहि समयपछि नै अमेरिकाको वासिङटन डिसीमा मुख्य कार्यालय स्थापना गरी विश्वभरको गरिवी उन्मुलन गर्ने उद्धेश्यसहित यो बैंक सूचारु गरियो । सोही उद्देश्यअनुरुप बैंकले विश्वका गरिव मुलुकका सरकारलाई त्यहाँका वाणिज्य बैंकहरुले लिनेभन्दा न्यून ब्याजदरमा ऋण दिन थाल्यो । अति गरिव मुलुकहरुलाई त विश्व बैंकले शुन्य ब्याजदरमै ऋण उपलब्ध गराउने गरेको छ ।

यस्तै धेरैजसो गरिव मुलुकहरुमा विश्व बैंक, अन्तरराष्ट्रिय मुद्रा कोष र क्षेत्रीय विकास बैंकहरु त्यहाँको बजेटको हिस्सा पनि बन्छन् । यसले परियोजनालाई मात्रै नभई व्यक्तिहरुलाई पनि उत्तिकै सहयोग पुग्ने गरेको विश्व आर्थिक संघले जानकारी दिएको छ । त्यहीअनुसार विश्व बैंकले बंगलादेशका ६ लाख गरिव गर्भवति महिला र ५ बर्षमुनिका बालबालीकालाई उनिहरुको पोषण सन्तुलनका लागि आर्थिक सहयोग गरेको छ ।

यस्तै अफ्रिकी मुलुक मोरक्कोलाई प्राकृतिक प्रकोप रोकथाम र न्युनिकरणका लागि आर्थिक सहायतासमेत उपलब्ध गराएको छ । यी र यस्तै परियोजनामा विश्वभरका गरिव मुलुकहरुलाई सहायता प्रदान गर्ने विश्व बैंकले हालसम्म सबैभन्दा बढी आर्थिक सहायता अफ्रिकामा उपलब्ध गराएको छ । त्यसपश्चान दक्षिण एशियामा विश्व बैंकको सबैभन्दा बढी सहायता परिचालन गरिएको छ । हाल विश्व बैंकमा १ सय ८९ राष्ट्रहरु यसका सदस्य छन् । उत्तर कोरिया, एन्डोरा, क्युवा, मोनाको र लिकटेन्सटेन मात्रै यसका सदस्य छैनन् ।

विश्व बैंकले कसरी काम गर्छ ?

विश्व बैंक एक सहकारीजस्तै संचालित हुन्छ । यसका सदस्यहरु सेयरहोल्डर हुन्छन् । सम्बन्धित देशको अर्थतन्त्रको आकार अनुसार विश्व बैंकको सेयर सम्बन्धित देशलाई दिईन्छ । हाल विश्वबैंकको सबैभन्दा ठुला सेयर होल्डर अमेरिका हो । त्यसपश्चात जापान, जर्मनी, बेलायत र फ्रान्स विश्व बैंकका ठुला सेयरहोल्डर हुन् । सेयरहोल्डर राष्ट्रका अर्थ मन्त्रीहरु विश्व बैंकको बोर्ड सदस्य हुन्छन् । यसको बोर्ड बैठक बर्षमा एक पटक अन्तरराष्ट्रिय मुद्रा कोषका सदस्यहरुसँगै बस्छ । जसले विश्वभरको गरिवी उन्मुलनका लागि विशेष निर्णय पनि गर्छ ।

उक्त बैठकमा भएका निर्णयहरु २४ कार्यकारी निर्देशकहरुले अनुमोदन गर्छन । उनीहरुसँग सहायता उपलब्ध गराउने, सहायता स्वीकृत गर्ने तथा अन्य रणनीतिक निर्णय गर्ने अधिकारी पनि हुन्छ । उक्त २४ कार्यकारी निर्देशकमा विश्व बैंकका ५ ठुला सेयरहोल्डरहरुको आधिपत्य हुन्छ भने बाँकी १९ कार्यकारी निर्देशकहरु अन्य मुलुकबाट छानिन्छन् । विश्व बैंकको प्रमुख पद पनि हुन्छ । उक्त पद २४ कार्यकारी निर्देशकहरु द्वारा चुनिन्छ । हाल विश्व बैंकको प्रमुखमा डेभिड मालपास छन् । उनले हालैमात्र आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् ।

विश्व बैंकले लगानी कहाँबाट पाउँछ ?

विश्व बैंकले थरीथरीका स्रोतहरुबाट लगानी गर्ने रकम जम्मा गर्छ । जसमा सदस्य राष्ट्रहरुद्वारा उठाइएको शुल्क, आर्थिक बजारबाट उठाईएको फण्डहरु, लगानी गरेको रकमबाटको आय, सदस्यहरुले गरेको योगदान तथा कर्जा लिएका देशबाट हुने ब्याज आम्दानी हुन् । विश्व बैंकले देशहरुलाई दिइने कर्जा निश्चित परियोजनाका लागि निश्चित हिस्सामा मात्रै योगदान दिने गरी दिईन्छ र अन्य लगानी सम्बन्धित देशले आफै जोहो गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL