Logo

कहिलेबाट निस्किन्छ नेपाली खानीमै पेट्रोलियम ? यसकारण धकेलिँदै छ खानी अन्वेषण

कहिलेबाट निस्किन्छ नेपाली खानीमै पेट्रोलियम ? यसकारण धकेलिँदै छ खानी अन्वेषण



काठमाडौं । नेपालमै पेट्रोलियम उत्खननको सम्भावना रहेको जानकारहरुले बताउँदै आएका छन् । तर, नेपालमा पेट्रोलियम कहाँ–कहाँ छ र कति मात्रामा छ भन्नेबारे अहिलेसम्म ठोस अध्ययन नहुँदा नेपालकै खानीबाट पेट्रोलियम निकाल्ने विषय अहिले पनि धेरै परको रहँदै आएको छ ।

laxmi

यद्यपि नेपालमा पेट्रोलियमको सम्भावित उपलब्धताबारे चीनले थालेको अध्ययनले भने नेपालमै पेट्रोलियम उत्खननको आशालाई अघि बढाएको थियो । तर, लामो समयदेखि विभिन्न अवरोधका कारण दैलेखमा जारी पेट्रोलियम खानी अन्वेषण कार्य भने पछि धकेलिदैं जाँदा विभिन्न आशंका उब्जिएका छन् ।

पछिल्लो समय सडक ठेकेदारकै कारण खानी अन्वेषण थप पछि धकेलिने भएको छ । गएको नोभेम्बरमै अन्तिम चरणको ड्रिलिङ सर्भेको काम अघि बढाउने तयारी गरेको चिनियाँ भूगर्भविद्हरुको टोलीले सडकको गुणस्तरका कारण हालसम्म सम्बन्धित स्थानमा आवश्यक उपकरण ल्याउन सकेको छैन । दैलेखको श्रीस्थानसम्म पुग्ने सडकको अवस्थाकै कारण ड्रिलिङ सर्भेका आवश्यक उपकरण ल्याउन ढिलाई भईरहेको खानी विभागका अधिकारीहरु बताउँछन् ।

यसअघि चिनियाँ भूगर्भविदहरुको टोलीले उक्त स्थानमा पेट्रोलियमको अवस्थीति जाँचका लागि म्याग्नेटोटेलिक र सेस्मिक सर्भे सम्पन्न गरिसकेको छ । उक्त आयोजनाको फिजिविलीटी अध्ययनका लागि अन्तिम र निर्णायक मानिएको ड्रिलिङ सर्भेका लागि भने टोलीले चीनबाट उपकरण ल्याउनुपर्ने भन्दै नेपाली पक्षलाई केहि कामको जिम्मेवारी दिएर गएको असारमा चीन फर्केको थियो । कोहलपुरदेखि सुर्खेत र सुर्खेतदेखि आयोजनास्थलसम्म पुग्ने सडकका केहि स्थानमा सडक फराकिलो बनाउनुपर्ने र आयोजनास्थलको केहि जग्गा अधिग्रहण गर्नुपर्ने जिम्मा नेपाली पक्षको थियो ।

खानी विभागले हालै मन्त्रिपरिषदको निर्णयबाट आयोजनास्थलको ४५ रोपनी जग्गा अधिग्रहणका लागि अनुमति पाएर अधिग्रहणको काम अघि बढाईसकेको छ । तर, आयोजनास्थलसम्म पुग्नका लागि आवश्यक सडकहरुको मर्मतमा भने केहि ढिलाई हुने देखिएको छ । गत नोभेम्बरमै सडकको काम सकेर चीनबाट उपकरण ल्याई ड्रिलिङको काम सुरु गर्ने तयारी थियो । तर, सडक विभागले कर्णाली प्रदेश भौतिक मन्त्रालय, सडक डिभिजन कार्यालयलगायतसँग समन्वयनमा ढिलाई हुँदा सडक मर्मतको काममा ढिलाई भएको देखिन्छ ।

कोहलपुरदेखि सुर्खेतसम्मको सडकको काम सडक विभागले गरिरहेकै छ । यता सुर्खेतदेखि पादुका खोलासम्मको काम पनि अघि बढ्ने तरखरमै छ । तर, पादुकादेखि दैलेखमा जोडिएको मध्यपहाडी लोकमार्गसम्म पुग्ने सडकमा भने केहि समस्या भएको खानी विभाग अन्तर्गत पेट्रोलियम अन्वेषण तथा प्रवद्र्धन केन्द्रका प्रमुख दिनेश कुमार नापितले बताए । उनका अनुसार उक्त सडकमा ठेकेदारले ठेक्का लिएर कामै नगरिदिएपछि केहि ढिलाई हुने देखिएको हो । ‘हुन त उक्त सडक २०८० सम्म कालेपत्रे नै गर्ने भनेर सम्झौता भएको रहेछ,’ उनले भने, ‘तर, ठेकेदारले काम नगरिदिँदा ट्र्याक खोलिएपनि भनेबमोजिम भने काम भएको देखिँदैन ।’

चिनियाँ टोलीले पेट्रोलियम अन्वेषणका लागि आवश्यक १५ मिटर लम्बाई भएको ६० टन भारको उपकरण ल्याउँदैछ । त्यसैका लागि नेपाली पक्षले आयोजनास्थलसम्म पुग्नका लागि आवश्यक सडकमा मर्मत गर्नुपर्ने थियो । गत नोभेम्बरमै सडकको काम सम्पन्न गरेर उपकरण ल्याउने तयारी भएपनि नभएर आगामी अप्रिलसम्म काम सम्पन्न हुने म्याद राखिएको छ । सडकका ठेकेदारका कारण अप्रिलसम्म पनि सडकको काम सम्पन्न हुन सक्नेमा शंका उत्पन्न भएको हो ।

चिनियाँ टोलीले कोरोनाका कारण सर्भेमा ढिलाई भएकाले थप २ बर्षको म्याद पाएको छ । थपिएको म्यादको १ बर्ष चैतमा पुगेर बाँकी १ बर्ष मात्रै रहन्छ । सोही अवधिमा ड्रिलिङ सर्भेको काम सम्पन्न गर्नुपर्ने बाध्यता आयोजनालाई छ । तर, विभिन्न निकायहरुका कारण सडकको कामले भने आयोजना समयमै अघि बढ्नेमा शंका पैदा गरिदिएको छ । चिनियाँ टोलीले श्रीस्थानका ३ स्थानमा करिव ३ हजार देखि ४ हजार मिटरसम्म गहिरो ड्रिलिङ गर्नुपर्नेगरी स्थान पनि एकिन गरिसकेको छ । सोही स्थानमा ड्रिलिङ गर्नका लागि आवश्यक उपकरण ढुवानीका लागि टोलीले खानी विभागसँग सहयोगको समन्वयको माग गरेको थियो ।

चिनियाँ टोलीले खानी विभागलाई जानकारी दिएअनुसार उपकरणको लम्बाई मात्रै १५ मिटरसम्मको हुने देखिएको छ । लम्बाई बढी भएका उपकरणका लागि सुर्खेतदेखि साइटसम्मै पुग्ने करिव २८ स्थानमा मोडहरु बढाउनुपर्ने एकिन गरिएको छ । धेरैजसो पुलहरु नजिक वस्ती बसेकाले पनि मोडहरु साना भएको आयोजना प्रमुख नापित बताउँछन् । भेरी पुलकै मोड पनि उक्त उपकरणका लागि सानो हुने देखिएको उनको भनाई छ ।

हाल चीनले समेत प्राथमिकतामा राखेको उक्त परियोजनालाई छेन्दु र बेईजिङ केन्द्रले समेत विशेष ध्यान दिएर हेरिरहेको छ । यस अघिका सेस्मिक र म्याग्नेटो टेलिक सर्भेमार्फत उक्त स्थानमा भरपुर तेलजन्य पदार्थको सम्भावना रहेको देखिएको छ । सोहीअनुसार अन्तिम सर्भेमार्फत तेलको भण्डारण, लागतका हिसावले सम्भावनालगायतका कुराहरु स्पष्ट गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL