Logo

तेलको मूल्यवृद्धिको प्रभाव उड्डयन क्षेत्रमा, ५३ प्रतिशतसम्मले बढ्यो अन्तर्राष्ट्रिय हवाईभाडा

तेलको मूल्यवृद्धिको प्रभाव उड्डयन क्षेत्रमा, ५३ प्रतिशतसम्मले बढ्यो अन्तर्राष्ट्रिय हवाईभाडा



काठमाडौं । सन् २०१९ को पहिलो त्रैमासदेखि चीन हुँदै विश्वभर फैलिएको कोरोना महामारीको बाछिटा अझै धेरै क्षेत्रमा रहेको छ । त्यसयता विश्वभरको अर्थतन्त्रमा ठूलै हलचल मच्चियो । केहीसमय त विश्वभर आर्थिक संकट नै श्रृजना भयो । यो बर्ष आर्थिक मन्दी निम्तिने निश्चितजस्तै रहेको अनुमान गएिको छ ।

laxmi

कोरोनाकै कारण विश्व अर्थतन्त्रमा विशेष प्रभाव पार्ने पेट्रोलियम पदार्थमा अझ बढी समस्या देखियो । यसैबीचमा निम्तिएको रुस–युक्रेन युद्धले आगोमा घ्यु थप्ने काम गर्याे र सन २०२२ को मध्यतिर विश्वभर कच्चा तेलसँगै प्रशोधित तेलको मूल्यले हालसम्मकै रेकर्ड तोड्यो । यसरी तेलको मूल्य उच्च भएसँगै स्थल तथा हवाईयात्राको भाडा उच्च रुपमा बढ्न पुग्यो । स्थल यातायातको मूल्यमा केहि वृद्धि भएपनि कोरोना अघिको तुलनामा हाल अन्तरराष्ट्रिय हवाईभाडा भने ५३ प्रतिशत बढी रहेको पाइएको छ ।

गत बर्ष अर्थात २०२२ मा हवाई इन्धनको मूल्य र यात्रुको संख्यामा उच्च वृद्धि भएसँगै विश्वभरका हवाईसेवा संचालकहरुको हवाईभाडा बढाए । युरोपमा मात्रै हवाईभाडा करिव ५३ प्रतिशतसम्मले बढेको अन्तरराष्ट्रिय हवाई यातायात संघ(आयटा)ले जानकारी दिएको छ । संघका अनुसार युरोपेली देशहरुमध्ये इस्तानबुलको हवाईभाडा ३९ प्रतिशतसम्मले बढ्दा एथेन्सको भाडामा ४४ प्रतिशतको वृद्धि देखिन्छ । यस्तै लण्डन र फ्रान्सको भाडा क्रमशः २४ र ६ प्रतिशतले बढेको छ ।

यता केही अमेरिकी मुलुकको हवाई भाडादरमा ३४ प्रतिशतसम्मको वृद्धि भएको आयटाले जनाएको छ । यस्तै अवस्था एशियाली मुलुकको पनि छ । नेपालकै कुरा गर्दा पनि एक बर्षको अवधिमा हवाईभाडामा १ सय डलरसम्मको वृद्धि भएको देखिन्छ । यसरी हवाई इन्धनको मूल्य अचाक्ली बढेपछि हवाईभाडामा मूख्य भूमिका खेल्ने इन्धन सरप्लस चार्ज बढ्छ र भाडा स्वतः उकालो लाग्छ ।

एक बर्षकै अवधिमा नेपालमा आन्तरिक हवाईभाडाको मूल्य कम्तिमा ८ पटकसम्म बढेको छ । यता नेपालबाट विदेश जाने नेपालीहरु पनि यसबाट अछुतो रहन सकेका छैनन् । एक बर्षअघि मात्रै नेपालबाट विभिन्न देशमा जाँदा तिरिरहेको भाडाले अब जान नसकिने अवस्था आएको छ । एक बर्षअघिसम्म एक लाख रुपैयाँमै अमेरिकालगायतका देशमा जाने नेपालीले अब हवाईभाडा मात्रै करिव २ लाख रुपैयाँसम्म तिर्नुपर्छ ।

आयटाका अनुसार यो बर्ष अझै हवाई भाडा करिव ३० प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । हवाई यात्रुको डिमान्ड बढेसँगै सन २०२३ विश्वभर उडान पनि बढ्ने र सोहीअनुसार भाडा पनि बढ्ने आयटाको अनुमान छ । हाल विश्वभर दैनिक १० हजार ७ सय बढी उडान हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL