Logo

धितो लिलामी नभएपछि तनावमा बैंकर, गैर बैंकिङ सम्पति बढ्दा उच्च जोखिममा बैंक

धितो लिलामी नभएपछि तनावमा बैंकर, गैर बैंकिङ सम्पति बढ्दा उच्च जोखिममा बैंक



काठमाडौं । बैंकहरुको लिलामीमा निकालेको धितो सकार्ने व्यक्ति नभएपछि पछिल्लो समय गैर बैंकिङ सम्पति बढेको छ । बैंकहरुले ऋणीले धितोवापत राखेको घर जग्गा लिलामीका लागि पटक–पटक सूचना प्रकाशित गरेपनि उक्त धितो सकार्नका लागि आवेदनै नपरेपछि बैंकहरुले नै सकार्ने क्रम बढेको हो । ‘ऋणीले कर्जा नतिरेपछि उनीहरुले कर्जा लिँदा राखेको धितो लिलामीका लागि पत्रिकामा पटक पटक सूचना प्रकाशित गरियो तर, उक्त धितो सर्कानका लागि कसैले पनि आवेदन दिएनन्,’ एक बैंकरले भने ।

laxmi

विशेषगरी त्यस्ता कर्जा लामो समय खराब कर्जामा राख्दा नियामकीय व्यवस्थाअनुसार बढी प्रोभिजनिङ गर्नुपर्ने भएकाले पनि बाध्यताबस बैंकले आफ्नै नाममा सकार्नु परेको सम्बद्ध बैंकरहरु नै बताउँछन् । ‘बैंकहरुको गैर बैंकिङ सम्पति बढ्दै जानु भनेको बैंकको लागि धेरैनै नराम्रो विषय हो,’ सम्बद्ध सरोकारवालाहरु बताउँछन्, ‘बैंकहरुले पटक–पटक लिलामीमा राख्दा पनि नबिकेपछि बैंकले बाध्यतावस आफैले सकारेका हुन्छन् ।’ अहिलेको अवस्थामा बैंकले ऋणीको धितो जति लिलामीमा निकाल्दा पनि खरिद गर्ने व्यक्ति नभेटिने हुँदा यस आगामी दिनमा अझै ठूलो संकट निम्त्याउने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

पछिल्लो समय वाणिज्य बैंकहरुको खराब कर्जासमेत उल्लेखनीय रुपमा बढेको छ । पछिल्लो १ वर्षमा खराब कर्जा शतप्रतिशत बढेको छ भने यस सम्बन्धमा नियमकीय कुनै नयाँ व्यवस्था नभएमा चैतको वित्तीय विवरण प्रकाशित गर्दा अझै उच्च रुपमा बढ्ने जाने देखिन्छ । अहिले नै कतिपय बैंकको खराब कर्जा उनीहरुले प्रकाशति गरेको वित्तीय विवरणमै ५ प्रतिशत नजिक पुगिसकेको छ । सगम्रमा बैंकको खराब कर्जा अनुपात कुल कर्जा प्रबाहको २.२९ प्रतिशत देखिएपछि वास्तविकतामा ५ प्रतिशत भन्दामाथि नै रहेको सम्बद्ध बैंकहरु नै बताउँछन् ।

यसैगरी कतिपय बैंकले नियामकीय व्यवस्था अनुसार प्रोभिजनबाट देखि न्यून खराब कर्जा देखाएपनि त्यस्ता बैंकको गैर बैंकिङ सम्पति बढेर त्यसले आगामी दिनमा अझै बढी ठूलो समस्या निम्त्याउने देखिन्छ । ‘अहिले केही बैंकले पटक पटक धितो लिलामीमा राख्दा पनि बिक्री नभएपनि खराब कर्जा कम देखाउन आफैले धितो सकारेका छन्,’ एक बैंकरले भने, ‘तर त्यसरी नबिकेको धितो सकार्दै जाने हो भने त्यस्तो सम्पतिले बैंकलाई नै धराशायी बनाउँछ ।’

विशेषगरी बैंकले व्यवसायिक तथा परियोजनामा न्यून धितोमा बढी कर्जा दिँदा खराब कर्जा बढ्न थालेको छ । त्यस्ता कर्जाका तत्कालिन समयमा उच्च मूल्यांकनमा धितो बराबरको कर्जा दिएको र अहिले त्यसरी राखिएको धितोको मूल्य घट्न जाँदा ऋणीहरुले आफ्नो सम्पति लिलामीमा पठाएको सम्बद्ध बैंकहरु नै बताउँछन् ।

‘उदाहरणका लागि तत्कालीन समयमा कुनै बैंकले १ अर्बको घरजग्गा धितो राखेर १ अर्ब रुपैयाँ नै कर्जा दिएका छन्,’ एक बैंकरले भने, ‘अहिले उक्त जग्गाको मुल्य घटेर ७०र८० करोड रुपैयाँमा झरेको छ भने कर्जाको ब्याज समेत गर्दा बढेर १ अर्ब १४ करोड माथि पुगिसकेको छ । तसर्थ यस्तो अवस्थामा ऋणीले कर्जा नतिरेर बैंकलाई नै धितो छाडिदिने क्रम बढेको छ ।’

देशको हरेक प्रणालीमा असर पुग्दा बैंकमात्रै चोखो रहन नसक्ने नेपाल बैंकर्स संघका उपाध्यक्ष एवं माच्छापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला बताउँछन् । ‘अहिले देखिएको प्रणालीगत जोखिम हो,’ उनले भने, ‘समग्र उद्योग व्यवसायमा समस्या आउँदा त्यसको असर बैंकिङ प्रणालीमा परेर बैंकको खराब कर्जा र गैर बैंकिङ सम्पति बढ्न पुगेको हो ।’

प्रतिक्रिया दिनुहोस्
MBL