Logo

आजदेखि देशभरका क्रसर उद्योग खुला, मापदण्ड पूरा गर्न असार मसान्तसम्मको समय

आजदेखि देशभरका क्रसर उद्योग खुला, मापदण्ड पूरा गर्न असार मसान्तसम्मको समय



काठमाडौं । सरकारले आजदेखि देशभरका क्रसर उद्योग सञ्चालन गर्न दिन निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले बन्द क्रसर उद्योगहरू असार मसान्तसम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो । मन्त्री परिषद्ले गृह मन्त्रालयको निर्देशनमा यसअघि बन्द गर्न भनिएका उद्योगलाई असार मसान्तसम्म चल्न दिने निर्णय गरेको हो।

सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय उल्टाएको हो । उपप्रधानमन्त्री छामिछानेले नियम विपरित मापदण्ड नपुर्याइ सञ्चालित क्रसर उद्योग बन्द गर्ने निर्णय गरेका थिए, सरकारले असारसम्म बन्द क्रसर उद्योग चल्न दिने निर्णय गरेका थिए ।

चलिरहेका अन्य क्रसरको हकमा मापदण्ड पूरा गर्न असार मसान्तसम्मको समय दिइएको छ । कर तिर्ने अवधि पनि असार मसान्तसम्मलाई तोकिएको छ । कर नतिरी चलिरहेका क्रसरलाई असार मसान्तसम्म कर तिर्ने व्यवस्था गरी सञ्चालनको अनुमति सरकारले दिएको हो ।

गृह मन्त्रालयले पुस तेस्रो साता स्थानीय प्रशासनलाई परिपत्र गर्दै अवैध रुपमा सञ्चालित क्रसर बन्द गर्न निर्देशन दिएको थियो। मन्त्रालयस्तरको निर्देशन मन्त्रिपरिषदले उल्ट्याएको हो ।

मन्त्रिपरिषदले अनुमति बिना सञ्चालन भएका सबै उद्योगलाई भने बन्द नै गर्ने निर्णय गरेको छ । आयोजना विशेषका लागि खुलेका तर आयोजना सम्पन्नपश्चात पनि चलिरहेका उद्योग बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL