Logo

डर, धम्की र आर्थिक प्रलोभन देखाएर धर्म परिवर्तन गर्नु कानूनी अपराध भएको अर्थमन्त्रीको भनाइ

डर, धम्की र आर्थिक प्रलोभन देखाएर धर्म परिवर्तन गर्नु कानूनी अपराध भएको अर्थमन्त्रीको भनाइ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबवर संवाददाता

२९ मंसिर, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले वर्तमान सरकार जनतालाई राजनीतिक अधिकार दिन र जनताको जीवनस्तर माथि उकास्न प्रयत्नशील रहेको बताए । चितवन उद्योग वाणिज्य संघको ४८ औं वार्षिक साधारणसभामा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘आर्थिक विकास नगरीकन जनताको जीवनस्तर माथि जान सक्दैन,’ कार्यक्रममा बोल्दै उनले भने, ‘वर्तमान सरकार जनताको जीवनस्तर माथि उकास्न साहसिक निर्णय गर्दै अगाडि बढिरहेको छ ।’

अर्थमन्त्री डा महतले जनताको जीवनस्तर माथि उठाउन सकिएन भने कुनै पनि व्यवस्था टिक्न नसक्ने बताए । ‘आर्थिक क्षेत्रलाई अगाडि बढ्न नदिनेहरु प्रतिगामी हुन भने आर्थिक एजेण्डालाई लिएर अगाडि बढ्नेहरु अग्रगामी हुन,’ उनले भने, ‘जनताले पनि अव यसलाई राम्ररी छुट्याउनुपर्छ ।’

साथै, हाल भोटेकोशी जलविद्युत आयोजनामा राजनीतिक दलहरुले गरेको अवरोधजस्ता क्रियाकलापले नेपालीलाई पछि धकेल्ने उनको भनाइ थियो । यस्ता विरोधले लगानीकर्ताहरु निरुत्साहित हुनुका साथै आर्थिक विकास नै अवरुद्ध हुनेछ । स्थानीय जनताका मागहरु पूरा गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै आगामी दिनमा जनताहरुले आन्दोलन गर्न नहुने बताए ।

संविधानमा आर्थिकरुपले धान्न सकिनेगरी मात्रा संघीयताको व्यवस्था गरिने उल्लेख गर्दै संघीयता भनेको दूध र भात खाएजस्तो स्वादिलो नहुने उनको भनाइ थियो । ‘संघीयतामा प्रशासनिक खर्च प्रशस्त हुन्छ र त्यसलाई धान्न जनतालाई नै करको बोझ थप्नुपर्ने काम हुन्छ,’ उनले भने, ‘त्यसैले आजको अपरिपक्व निर्णयले फेरि पछि संघीयतालाई असफल बनाउनु हुँदैन र आर्थिकरुपले धान्न सकिनेगरी सीमित प्रान्तहरु हुनुपर्छ ।’

धर्म निरपेक्षता भनेको धार्मिक स्वतन्त्रता भएको उल्लेख गर्दै डर, धाक, धम्की र आर्थिक प्रलोभन देखाएर धर्म परिवर्तन गर्न नपाइने उनले बताए । यसरी धर्म परिवर्तन गर्नु यो कानूनीरुपमा अपराध भएको उनको भनाइ थियो । उनका अनुसार कसैले विभिन्न प्रलोभन तथा डर धम्की दिएर धर्म परिवर्तनका लागि भन्दै हिडेको छ भने सरकारले कुटनीतिक च्यानलबाट त्यस्तो काम बन्द गर्न लगाउनेछ ।

सो कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण जोशीले चितवनको विकासका लागि कृषि, स्वास्थ्य, पर्यटन, शिक्षा तथा सिर्जनात्मक पुँजी निर्माणका २२ वटा बूँदाहरु प्रस्तुत गरेका थिए । त्यसैगरी सो अवसरमा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानवहादुर विसुरालले निजीक्षेत्रलाई बढावा दिने सरकार र अर्थमन्त्री भएकोले देशको अर्थतन्त्रले गति लिने आशा व्यक्त गरे ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL