Logo

चालू पुँजी कर्जा लिएर अचल सम्पत्तिमा लगाउँदा समस्या, तत्काल कर्जाको ब्याज घट्दैन

चालू पुँजी कर्जा लिएर अचल सम्पत्तिमा लगाउँदा समस्या, तत्काल कर्जाको ब्याज घट्दैन



काठमाडौ । उद्योगी तथा व्यवसायीले चालू पुँजी कर्जाको दुरुपयोग गरेका कारण अहिले समस्या उत्पन्न भएको बताएका छन् । व्यवसायीहरुले जुन उद्देश्यको लागि बैंकबाट कर्जा लिएको हो सोही क्षेत्रमा लगानी नगर्दा अहिले आएर समस्या देखिएको पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले बताए ।

‘उद्योगी व्यवसायीले चालू पुँजी शीर्षकअन्तरगत कर्जा लिए तर घरजग्गा जस्ता अचल सम्पत्तिमा लगाए,’ उनले भने, ‘पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्या र त्यसरी अचल सम्पत्तिमा गरिएको लगानी असुल नहुँदा धेरैजसो समस्यामा परेको देखिएको छ ।’

विश्वव्यापी रुपमा देखिएको मन्दीको असर नेपालमा पनि परेको र जसका कारण घरजग्गा बिक्री नहुँदा समस्या आएको समेत खतिवडाले जानकारी दिए । ‘यदि कर्जा लिएर तोकिएको क्षेत्रमा लगानी गरेको भए समस्या हुने थिएन,’ उनले भने, ‘नियमकको आखाँ छल्दै तत्कालिन समयमा चालू पुँजी कर्जा लिएर तोकिएको क्षेत्रभन्दा बाहिर लगानी गरियो अहिले समस्या देखियो ।’ साथै अबका दिनमा उक्त समस्या समाधान गर्न सरकारले जग्गाको बिक्रीवितरण र हाउजि निर्माणमा सहज वातावरण बनाईदिनुपर्ने समेत उनको भनाई थियो ।

उद्योगी व्यवसायीले चालू पुँजी कर्जा दुरुपयोग गरेको निष्कर्षसहित नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन जारी गरेको थियो । यदि उक्त मार्गदर्शन लागू भएको खण्डमा त्यसरी कर्जा दुरुपयोग गर्ने धेरै व्यवसायीहरु समस्यामा पर्ने देखिएको थियो । त्यसैलाई लिएर उद्योगी व्यवसायीहरु राष्ट्र बैंकविरुद्ध आन्दोलित भएका थिए । तर, नयाँ सरकार गठनसँगै कतिपय व्यवस्थालाई २ वर्षको लागि स्थगित गरिएको छ ।

नेपाल चेम्बरद्वारा आयोजित ‘अर्थतन्त्र : अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले तत्काल बैंकले दिने कर्जाको ब्याजदर नघट्ने समेत उनले बताए । अहिले निक्षेपको ब्याजमा १ प्रतिशतले घटेपनि तत्कालका लागि कर्जाको ब्याजदर नघट्ने बताए । साथै उनले अहिलेको अवस्थामा कर्जाको ब्याज एकल अंकमा नआउने जानकारी दिँदै उद्योगी व्यवसायीलाई अहिले नै सस्तो ब्याजको कर्जा चलाउँछु भनेर नसोच्नसमेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL