Logo

अनलाइन जुवा प्लेटफर्ममाथि सरकारको एक्सन, ‘वान एक्स बेट’ नेपालमा बन्द

अनलाइन जुवा प्लेटफर्ममाथि सरकारको एक्सन, ‘वान एक्स बेट’ नेपालमा बन्द



काठमाडौं । अनलाइन जुवा प्लेटफर्म ‘वान एक्स बेट’ नेपालमा बन्द भएको छ । नेपालमा अवैध मानिएपनि पछिल्लो समय अनलाइन जुवा, ग्याम्बलिङलगायतमा सर्वसाधारणको सहभागिता बढिरहेको थियो । सोही विषयलाई ध्यानमा राख्दै नेपाल दूरसंचार प्राधिकरणले आइतबार ‘वान एक्स बेट’ माथि प्रतिवन्ध लगाउन इन्टरनेट सेवाप्रदायकलाई ताकेता गरेको थियो ।

laxmi

प्राधिकरणले ताकेता गर्दै सूचना निकालेको १ घण्टापछि नै केही सेवाप्रदायकले वान एक्स बेट नेपालमा खुल्न नसक्ने बनाएका छन् । हाल नेपालमा वान एक्स बेटको वेबसाइट खुल्दैन । हालै सम्पन्न कतार विश्वकप फुटबल २०२२ मा ग्याम्बलिङ साइट र अनलाइन जुवा खेलाउने धेरै नेपालीमाथि प्रहरीले अनुसन्धान गरी कारबाही अघि बढाईरहेको छ ।

यति मात्रै होईन नेपालमा जारी नेपाल टी ट्वान्टी लिगमा समेत स्पट फिक्सिङ भएको प्रारम्भिक निश्कर्ष केन्द्रिय अनुसन्धान व्युरो (सीआइबी)ले निकालेको छ । आयोजनाको अधिकार पाएको भारतीय कम्पनी सेभेन थ्रि स्पोर्ट्स नै वान एक्स बेटमा बेट गरी म्याच फिक्सिङमा आवद्ध भएको अनुसन्धानको निष्कर्ष थियो ।

नेपालमा जारी उक्त लिगको प्रायोजक नै वान एक्स ब्याट लाइन रहेको छ । यो अनलाइन जुवा कम्पनी वान एक्स बेटको सहायक कम्पनी हो । विश्वका धेरैजसो खेलकुद प्रतियोगिताको प्रायोजन गर्ने यो कम्पनीले यसपल्ट नेपालमा पनि खेलको प्रायोजन गरेपछि लिग सुरु हुनु अघि नै म्याच फिक्सीङको अनुमान गरिएको थियो । बीचमा केही प्रमाणहरु पनि बाहिरिएपछि गृहमन्त्री रवि लामिछानेले नै यसमा अनुसन्धान गर्न निर्देशन गरेका थिए । सोहीअनुसार सीआइवीले अनुसन्धान गरेको थियो ।

अनुसन्धान पछि ३ नेपाली खेलाडी र ४ विदेशी खेलाडीहरु म्याच फिक्सीङमा आवद्ध रहेको खुलेको स्रोतले जानकारी दिएको छ । पछिल्लो समय राष्ट्र बैंकले समेत अनलाइन बेटिङ र ग्याम्बलिङमाथि उच्च निगरानी राखिरहेको छ । यस्ता प्लेटफर्मबाट करोडौं रुपैयाँको अवैध कारोबार हुने भएपछि राष्ट्र बैंकले यसलाई प्रतिवन्ध नै लगाएको छ । यता नेपालका कानुनहरुले पनि यस्ता प्लेटफर्मबाट गरिने कारोबारलाई पुर्ण रुपमा निशेधित नै गरिरहेको अवस्थामा धेरैजसो नेपाली सेलिब्रीटीहरु नै यसको प्रचारप्रसारमा लागिरहेको देख्न सकिन्छ ।

यी सबै क्रियाकलापहरुको नेपाल प्रहरीले भने सुक्ष्म रुपमा अध्ययन गरिरहेको बताउँदै आएको छ । यता विज्ञापन बोर्डले समेत अनलाईन सट्टेबाजीको विज्ञापन गर्न नपाइने कानुन नै बनाएको छ । बोर्डले डिजिटल प्लाटफर्ममार्फत् जुवामा लगानी भइरहेकाकाले यस्तो कार्य विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ को उपदफा (१) को खण्ड (ख) को व्यवस्थाविपरीत भएको भन्दै विज्ञापन बोर्डले तत्काल रोक्न निर्देशन दिएको थियो । विज्ञापन (नियमन गर्ने) ऐनले जुवा खेल्न खेलाउन वा प्रचलित कानुन बमोजिम अनुमति नलिएको चिठ्ठा किन्न र किनाउन प्रोत्साहन गर्ने विज्ञापन गर्न निषेध गरेको छ ।

यस्तै खाले अनुसन्धान र नियमनबाट अनलाईनमा सट्टेबाजी खेलाउने प्लेटफर्महरुको रजगज पछिल्लो समय नेपालमा देखिएकाले सोही अनुसार बन्द गर्नुपर्ने अवस्था आएको दूरसंचार प्राधिकरणका एक अधिकारीले बताए । उनका अनुसार नेपालमा अवैध मानिदा मानिदै पनि यसमार्फत हुने करोडौं भुक्तानीले अर्थतन्त्रमै असर परिरहेको छ । जसका कारण इन्टरनेट सेवाप्रदायकलाई यस्ता प्लेटफर्म खुल्ने नसकिने प्रणाली लागू गर्न भनिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL