Logo

गुल्मीको रेसुङ्गा विमानस्थलमा भोलि ‘डेमो’ उडान, कहिलेदेखि होला नियमित उडान

गुल्मीको रेसुङ्गा विमानस्थलमा भोलि ‘डेमो’ उडान, कहिलेदेखि होला नियमित उडान



काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलमा भोलि (आइतबार) ‘डेमोस्ट्रेसन’ प्रदर्शन उडान गरिने भएको छ । रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एअरको ट्वीनअटर विमानले प्रदर्शन उडान गर्न लागेको हो ।

यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र तारा एअरलाइन्सबीच रेसुङ्गा नगरपालिकाको तर्फबाट सम्झौता भइसकेको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले जानकारी दिएका छन् । उनका अनुसार भोलि बिहान ११ बजे प्रदर्शन उडान हुनेछ । काठमाडौँबाट उडान गरेको तारा एअरको ट्वीनअटर विमानलाई गुल्मी पुग्न झण्डै ५० मिनेट लाग्ने प्राधिकरणले जानकारी दिएको छ ।

तारा एअरले सुरुका दिनहरुमा रेसुङ्गा नगरपालिकाको समन्वयमा उडान गर्नेछ । प्रदर्शन उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । १८ सिट क्षमताको विमान रेसुङ्गा विमानस्थलमा झण्डै एक घण्टा रहनेछ । त्यसपछि पुनः काठमाडौँ फर्कने छ । प्राधिकरणले प्रदर्शन उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थाल्ने जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL