Logo

फुटपाथका संरचना हटाउँदै प्राधिकरण, पहिलो चरणमा १२० डिस्ट्रिव्युसन प्यानल परिवर्तन गर्दै

फुटपाथका संरचना हटाउँदै प्राधिकरण, पहिलो चरणमा १२० डिस्ट्रिव्युसन प्यानल परिवर्तन गर्दै



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फुटपाथमा रहेका संरचना हटाउने भएको छ । सोअनुसार प्राधिकरणले पहिलो चरणमा पैदल यात्रुलाई हिँड्नै मुस्किल हुनेगरी फुटपाथ छेकेर राखिएका १२० डिस्ट्रिव्युसन प्यानल परिवर्तन गर्ने कार्य अघि बढाएको छ ।

नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा विद्युत तार भूमिगत गर्ने प्रक्रियामा सडकका दायाँ बायाँ फुटपाथमा १ मिटरसम्म चौडाई भएका डिस्ट्रिव्युसन प्यानलहरु राखेको छ । फुटपाथ नै छेकिने गरी राखिएका यस्ता प्यानलले पैदलयात्रुहरुलाई अझै पनि फुटपाथबाट हिड्न सकिने अवस्था छैन ।

फुटपाथमा हिँडिरहेका यात्रुहरु प्राधिकरणले राखेका प्यानलसम्म पुगेपछि सडकमा ओर्लेर हिँड्न बाध्य छन् । यिनै समस्याहरुलाई मध्यनजर गरी प्राधिकरणले फुटपाथ छेकिने गरी राखिएका प्यानलहरुलाई पतला प्यानललले प्रतिस्थापन गर्ने कार्य अघि बढाएको हो ।

हाल फुटपाथमा राखिएका कतिपय डिस्ट्रिव्युसन प्यानलहरु १ मिटरसम्म चौडाई भएका छन् । जसका कारण धेरैजसो स्थानमा फुटपाथ नै पुरै छेकिएको देख्न सकिन्छ । अब फुटपाथ नै छेकिएका स्थानमा भने १ फुटमात्रै चौडाई भएका डिस्ट्रिव्युसन प्यानलले प्रतिस्थापन गर्न लागिएको नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक तारा प्रधान बताउँछन् ।

उनका अनुसार सर्वसाधारणको समस्यालाई मध्येनजर गर्दैै रत्नपार्क महाराजगंज वितरण केन्द्र अन्तर्गत राखिएका १ सय २० ओटा डिस्ट्रिव्युसन प्यानल परिवर्तन गरिँदै छ । हालसम्म उक्त वितरण केन्द्र अन्तर्गतका १ सय २० स्थानमा फुटपाथ नै छेकिने गरी प्यानल राखिएको पहिचान भएपछि प्राधिकरणले सोहीअनुसार नयाँ प्यानलका लागि भारतीय कम्पनीलाई डिजाईनसहितको उत्पादनका लागि अर्डर गरेको हो ।

अबको केहिी दिनमै भारतीय कम्पनीले उत्पादन गरेका कम चौडाई भएका प्यानल नेपाल आएर परिवर्तन गर्ने प्रधान बताउँछन् । ‘हामीले १ सय २० स्थानमा फुटपाथ डिस्टर्व भएको परिचान गरेर सोही अनुसार प्यानल बनाउनका लागि अर्डर गरेका छौं,’ उनले भने, ‘अबको १० देखि १५ दिनमा उक्त पातला प्यानलहरु नेपाल आईपुग्नेछन् र हामी जडानको प्रक्रिया अघि बढाउने छौं ।’

पुराना अर्थात ठुलो चौडाई भएका प्यानलहरु झिकेर नयाँ राख्दा उक्त केही समय भने लाग्ने उनले बताए । आगामी दिनमा पनि डिस्ट्रिव्युसन प्यानलहरु राख्दा चौडा फुटपाथ भएका स्थानमा पुरानै अर्थात चौडा धेरै भएका प्यानल राख्ने र फुटपाथ कम भएका स्थानमा नयाँ अर्थात पातला प्यानल राख्ने योजना प्राधिकरणको छ ।

पातला र मोटा प्यानलका कारण ग्राहकहरुलाई केहि अप्ठ्यारो नभएपनि प्राधिकरणका लागि भने केहि चुनौति रहेको प्रधान बताउँछन् । उनका अनुसार पातला प्यानलमा ग्राहकहरुको ग्रुप छुट्याउन केहि अप्ठ्यारो भने हुनेछ । यता मोटो डिस्ट्रव्युसन प्यानलमा कुन क्षेत्रमा कुन लाइन पठाउनेजस्ता ग्रुपिङ धेरै सजिलो हुन्थ्यो । यसले उपभोक्तालाई भने केही असर नगर्ने प्रधानले बताए ।

प्राधिकरणले काठमाडौंमा तार भूमिगत गर्ने काम लगभग अन्तिम चरणमा पुर्यायपनि मुख्य सडकमा भने सडक विभागले तार विछ्याउने अनुमति दिएको छैन । जसका कारण पुतलीसडक, दरवारमार्ग, माइतीघर, एयरपोर्टलगायतका सडकहरुमा हालसम्म तार भूमिगत गरिएको छैन । यस्तै प्राधिकरणले मुख्य सडकआसपासमा घरसम्म पनि उपभोक्ता तार अन्डरग्राउण्ड गर्नका लागि अर्काे छुट्टै ठेक्का लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL