Logo

प्रचण्डले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने : नारायणकाजी उपप्रधानमन्त्री, विष्णु पौडेल अर्थमन्त्री

प्रचण्डले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने : नारायणकाजी उपप्रधानमन्त्री, विष्णु पौडेल अर्थमन्त्री



काठमाडौँ । नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को शपथसँगै आज ९सोमबार० नै सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी भएको छ ।

पहिलो चरणमा एमाले र माओवादीबाट मात्र मन्त्री नियुक्त हुने र त्यसपछि साना दलले निर्णय गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने नयाँ गठबन्धनको तयारी छ । दिउँसो ४ बजे प्रधानमन्त्रीको शपथअघि नयाँ गठबन्धनबीच छलफल हुँदैछ । एमाले, माओवादीलगायतका दलको आन्तरिक बैठक पनि बस्दै छ ।

एमालेले विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । यसअघि पौडेल केपी शर्मा ओलीको पछिल्लो सरकारमा करिब ९ महिना अर्थमन्त्री बनेर सफल अर्थमन्त्रीको रुपमा बाहिरिएका थिए । यस पटक पनि उनले अर्थमन्त्री पाउने सम्भावना रहेको जनाइएको छ ।

नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । पार्टीको आज (सोमबार) बिहान बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । तर मन्त्रालय टुङ्गो लाग्न भने बाँकी छ । श्रेष्ठ राष्ट्रिय सभाका सदस्य हुन् । यसअघि उनी परराष्ट्र र गृहमन्त्री भइसकेका छन् ।

‘आज बसेको पदाधिकारी बैठकले हाम्रो पार्टीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीको जिम्मेवारीसहित सरकारमा पठाउने निर्णय गरेको छ, आज सानो आकारको मन्त्रिमण्डल बन्छ । त्यसमा हाम्रो पार्टीबाट एक जना पठाउने निर्णय गरेका हौँ’, माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले भने, ‘मन्त्रालयको टुंगो भने अहिले ११ बजे बस्ने सत्ता गठबनधनको बैठकले निर्णय गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL