Logo

नेपालमा आर्थिक मन्दीको संकेत, एक महिनामै साढे ६ खर्बले घट्यो भुक्तानी

नेपालमा आर्थिक मन्दीको संकेत, एक महिनामै साढे ६ खर्बले घट्यो भुक्तानी



काठमाडौं । विश्व अर्थतन्त्रमा मन्दीको चर्चा बढिरहँदा नेपाली अर्थतन्त्रमा पनि सुस्तता बढ्दै गएको छ । बढ्दो मुद्रास्फीति र घट्दो वस्तुको मागका कारण नेपालमा धेरैजसो व्यापार व्यवसायमा मन्दी सुरु भएको उद्योगी व्यवसायीहरुले बताएका छन् । किरानादेखि अटो व्यवसायमा हाल यसको प्रत्यक्ष असर देखिसकेको छ ।

वस्तुको बढिरहेको मूल्य र अभावका कारण भुक्तानीमा ठूलो गिरावट आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । बजारमा उपभोक्तासँग खर्च गर्ने रकम नभएपछि वस्तुको उपभोगमा असर परेसँगै व्यापारमा मन्दीको संकेत देखिएको हो । जुन नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यसले व्यक्तिको क्रयशक्ति घटेर अर्थतन्त्रमै नगद प्रवाह घटेको संकेतसमेत गरेको जानकार बताउँछन् ।

राष्ट्र बैंकका अनुसार गएको कात्तिक महिनामा मात्रै असोजको तुलनामा सबै प्रकारका माध्यमबाट हुने भुक्तानीमा साढे ६ खर्ब बढीको गिरावट आएको छ । पछिल्लो समय धेरैजसो भुक्तानीहरु विद्युतीय माध्यमबाट हुने गर्छन । यसैको माध्यमबाट सर्वसाधारणले वस्तुको खरिददेखि राजस्व भुक्तानीसम्म गर्ने भएपछि भुक्तानीमा विद्युतीय माध्यमको प्रयोग बढ्दो छ । तर, कार्तिक महिनामा भने गएको असोज महिनाको तुलनामा विद्युतीय माध्यमबाट हुने भुक्तानीमा ६ खर्ब ५९ अर्ब १२ करोड ३० लाख रुपैयाँ बढिको गिरावट आएको छ ।

गएको असोज महिनामा विद्युतीय माध्यममार्फत ४६ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ बराबरको भुक्तानी भएको थियो । यस्तो भुक्तानी कार्तिक महिनामा घट्दै ३९ खर्ब ४६ अर्ब रुपैयाँमा सीमित भएको हो । यस अवधिमा भुक्तानीको संख्यामा पनि ३१ लाख ८३ हजारको गिरावट आएको छ । अर्थात गएको असोज महिनामा नेपालमा ७ करोड ३ लाख ७४ हजारभन्दा बढी पटक विद्युतीय माध्यमबाट भुक्तानी भएको थियो । त्यो संख्या घट्दै कार्तिकमा ६ करोड ७१ लाख ९० हजार पटक भुक्तानी भएको देखिन्छ ।

यस अवधिमा रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) मार्फत हुने भुक्तानीमा भने सबैभन्दा ठुलो गिरावट देख्न सकिन्छ । अर्थात असोज महिनाको तुलनामा कार्तिकमा आरटीजीएस भुक्तानी ४ खर्ब ७५ अर्ब ४२ करोड रुपैयाँले घटेको छ । यस्तो भुक्तानीको संख्या पनि यस अवधिमा ५ हजार १ सय ८५ पटकले घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

यसरी कार्तिक महिनामा हुने भुक्तानीको संख्या र रकम नै घट्नु आर्थिक मन्दीको संकेत भएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । बजारमा वस्तुको मागमा संकुचन आएपछि र पूर्वाधार निर्माणमा गिरावट आएपछि यसको असर भुक्तानीमा देखिने नेपाल राष्ट्र बैंकका सूचना अधिकारी नारायण प्रसाद पोख्रेल बताउँछन् ।

उनका अनुसार आम उपभोक्ताले बजारमा भएका वस्तुको कम खपत गर्नु व्यापार मन्दीको संकेत हो । यसरी एक महिनामै साढे ६ खर्ब बढी रुपैयाँ भुक्तानीमा गिरावट आउनुले पूर्वाधार निर्माणमासमेत ठुलो गिरावट आएको संकेत देखिएको उनको भनाई छ । ‘बजारमा वस्तु कम खपत भएको र निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरुले ज्याला नभएको संकेत भुक्तानीमा आएको गिरावटले देखाउँछ,’ उनले भने, ‘बजारमा वस्तुको माग कम हुनु नै व्यापार मन्दी हो ।’

गएको असोज महिनाको तुलनामा एटीएमबाट पैसा झिक्नेको संख्यामा ८ लाखको गिरावट आएको छ । यस्तो पैसा असोजको तुलनामा १० अर्ब ६२ करोड रुपैयाँले घटेकोसमेत राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । कार्तिक महिनामा इलेक्ट्रोनिक वालेट, ईकमर्श र क्रेडिट कार्डबाहेक सबै माध्यममार्फतको भुक्तानीमा गिरावट आएको छ ।

यस अवधिमा यी ३ माध्यममार्फत क्रमशः ६५ करोड, २४ करोड र ७ करोडको वृद्धि देखिएपनि मोबाइल बैंकिङ, क्युआर पेमेन्ट, इन्टरनेट बैंकिङ, आइपीएस, कनेक्ट आइपीएसलगायतका सबै माध्यमबाट हुने भुक्तानीमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL