Logo

GBIME

बाहिरिदै विदेशी लगानी : चार महिनामा पौने २ अर्ब विदेश फिर्ता, डलर संचितिमा दवाव

बाहिरिदै विदेशी लगानी : चार महिनामा पौने २ अर्ब विदेश फिर्ता, डलर संचितिमा दवाव



काठमाडौं । चालु आर्थिक बर्षको ४ महिनामा विभिन्न विदेशी लगानीकर्ताहरुले नेपालबाट करिव २ अर्ब रुपैयाँ बराबरको आफ्नो लगानी फिर्ता गरेका छन् । पछिल्लो समय नेपालमा विदेशी लगानीसमेत घटिरहेको अवस्थामा भएको लगानीसमेत भटाभट फिर्ता गईरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पहिलो ४ महिनामा नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताहरुले १ अर्ब ८० करोड ७३ लाख रुपैयाँ बराबर लगानी फिर्ता गरेका छन् ।

Laxmi

गत आर्थिक बर्षको यहि अवधिमा भने नेपालबाट जम्मा २६ करोड ८ लाख रुपैयाँ लगानी मात्रै विदेशी लगानीकर्ताहरुल्े फिर्ता गरेका थिए । चालु आवमा भने यस्तो लगानी फिर्ता गत आवको तुलनामा ६३ प्रतिशतले बढि हो । उद्योग विभागले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको दफा २० मा विदेशी लगानीकर्ताहरुले नेपालमा लगानी गरेको रकम फिर्ता लैजाने व्यवस्था गरिदिएको छ । जसमार्फत नेपालमा लगानी गरेको विदेशी लगानीकर्ताहरुले चाहेमा आफ्नो लगानीको उद्योग वा सेयर पुर्ण वा आंशिक रुपमा लगानी फिर्ता लैजान पाउँछन् । तर, त्यसका लागि कानुनबमोजिम सबै कर भने भुक्तानी गर्नुपर्ने हुन्छ ।

विदेशी लगानीकर्ताहरुले नेपालमा लगानी गरेवापत आएको नाफा, लाभांस, ब्याज, प्रविधि हस्तान्तरण, सम्पत्ति विक्रीलगायतका शिर्षकमा नेपालबाट लगानी फिर्ता लैजान पाउने व्यवस्था रहेको उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी बताउँछन् । उनका अनुसार कुनै बर्ष कम वा कुनै बर्ष बढि गरी विदेशी लगानीकर्ताहरुले नेपालबाट पैसा लैजान्छन् । यसरी नेपालबाट विभिन्न शीर्षकमा विदेशी लगानीकर्ताहरुले ल्याउने रकमभन्दा लैजाने रकम उच्च भएमा त्यसको असर विदेशी लगानी संचितिमा देखिने नेपाल राष्ट्र बैंक वैदेशिक विनियमय व्यवस्था विभागका कार्यकारी निर्देशक रामु पौडेल बताउँछन् ।

यसरी नेपालबाट विदेश जाने पैसामा ठुलो हिस्सा नगद लाभांस र नाफाको हुने भएपनि केही हिस्सा भने कम्पनी खारेज, कम्पनी विक्रीलगायतको हुने उनको भनाई छ । ‘कुनै विदेशी लगानीकर्ताले नेपालमा लगानी गरेको सम्पूर्ण लगानी नेपाली लगानीकर्तालाई बेचेर गएमा त्यस्तो रकम बाहिरिन्छ,’ उनले भने, ‘तर, कुनै कुनै विदेशी लगानीकर्ताले अर्काे विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्नेगरी उक्त सेयर स्वामित्वसमेत बेच्न सक्छ, त्यस्तो भएमा नेपालको पैसा नेपालमै बस्छ ।’

राष्ट्र बैंकका अनुसार यसरी विदेशी लगानीकर्ताहरुले नेपालबाट लैजाने पैसा पछिल्लो ४ महिनामा आएको रकमको तुलनामा ४३ करोडले कम हो । अर्थात यस अवधिमा विदेशी लगानीकर्ताहरुले नेपालमा २ अर्ब २३ करोड ६५ लाख रुपैयाँ भित्र्याएका छन् । गत आर्थिक बर्षभरीकै कुरा गर्दा पनि उक्त अवधिभरी विदेशी लगानीकर्ताहरुले नेपालबाट लाभांस, नाफा, सम्पत्ति हस्तान्तरणरलगायत शीर्षकमार्फत १९ अर्ब १३ करोड ९५ लाख रुपैयाँ नेपालबाट फिर्ता लिएका थिए । त्यसमा ठुलो हिस्सा नगद लाभांसको थियो ।

यस अवधिमा १५ अर्ब ७३ करोड रुपैयाँ नगद लाभांसको रुपमा नेपालबाट बाहिरिएको थियो भने २ अर्व ३० करोड रुपैयाँ प्रविधि हस्तान्तरणमार्फतको बाहिरिएको थियो । यस्तै यसै अवधिमा नेपालबाट विदेशी लगानीकर्ताहरुले सम्पत्ति विक्रीमार्फतको ७८ करोड ६२ लाख र ब्याजवापतको ३० करोड रुपैयाँ नेपालबाट लगेका थिए ।

यसरी विदेशी लगानीकर्ताहरुले नेपालबाट पैसा लैजाँदा डलरमा सटही गरेर लैजान्छन् । लगानीकर्ताहरुले नेपालबाट लगानी फिर्ता लैजादा त्यसको दवाव डलर संचितिमा परेर भुक्तानी सन्तुलनामै असर पर्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । गत आर्थिक बर्षको पहिलो ४ महिनाको तुलनामा चालु आवको सोही अवधिमा नेपालबाट बाहिरिएको रकम ६३ प्रतिशतले बढ्नुले पनि यो बर्ष डलर संचितिमा प्रत्यक्ष वैदेशिक लगानीको ठूलो असर देखिने जानकार बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
NCHL
NTC