Logo

विरोधकै बीच २० अर्बको स्वदेशी लगानी प्रतिवद्धता, उत्पादनमुलक क्षेत्रमा मात्रै ५८ करोडको लगानी

विरोधकै बीच २० अर्बको स्वदेशी लगानी प्रतिवद्धता, उत्पादनमुलक क्षेत्रमा मात्रै ५८ करोडको लगानी



काठमाडौं । उद्योगी तथा व्यवसायीहरु सरकारका विभिन्न नीतिका कारण पछिल्लो समय रुष्ट छन् । आयातमा लगाएको प्रतिबन्धसँगै बैंक ब्याजदरको पनि मार परेको भन्दै उद्योगीका ठूला छाता संगठन नै आन्दोलनको बाटो रोजिरहेका छन् । व्यापारी र उद्योगीले भयावह अवस्था आएको बताइरहँदा उद्योगमा लगानी प्रतिवद्धता भने १ महिनामै २० अर्ब बढीको आएको छ ।

उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गएको कार्तिक महिनामा मात्रै २० अर्ब २३ करोड ४८ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएको हो । हालै नेपाल उद्योग परिसंघ (सीएनआई)ले गरेको सर्भे अनुसार हाल मागमा आएको संकुचन, बढ्दो ब्याजदर र नगद प्रवाहमा परेको असरका कारण ७० प्रतिशत लगानीकर्ताले नयाँ लगानी स्थगन गरेको बताइएको छ । यस्तै सीएनआईले बजारमा हरेकजसो वस्तुको मागमा ठुलो गिरावट आएका कारण अर्थतन्त्र नै मन्दीको दलदलमा फस्ने सम्भावना रहेको औँल्याएको छ ।

यता उद्योग विभागको तथ्यांक हेर्दा भने कार्तिक महिनामा मात्रे उर्जा क्षेत्रका विभिन्न ४ परियोजनामा १८ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । यस्तै उत्पादनमुलक क्षेत्रका ७ परियोजनामार्फत ५८ करोड १७ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आउँदा पर्यटन क्षेत्रको एउटै परियोजनामा १ अर्व ३३ करोड रुपैयाँ बराबरको लगानी विभागमा स्वीकृत भएको छ ।

विभागका अनुसार यस अवधिमा सेवा, खनिज र संचार क्षेत्रका १–१ परियोजनामा लगानी प्रतिवद्धता आएको छ । कार्तिक महिनामा आएको लगानी प्रतिवद्धता अघिल्लो महिना असोज महिनाको तुलनामा ९७ प्रतिशतले बढी हो । असोज महिनामा नेपालमा जम्मा ४ अर्ब ६६ करोड २१ लाख रुपैयाँ बराबरको मात्रै लगानी स्वीकृत भएको थियो ।

यता उद्योगी व्यवसायीहरुले भने बैंकहरुले ब्याजदरमा उच्च प्रिमियम लिएको, चालु पूँजी कर्जा मार्गदर्शनमा कडाई गरिएकोलगायतका विषयमा राष्ट्र बैंक मौन रहेको आरोप लगाउँदै आएका थिए । यहि अवधिमा उनिहरुले वस्तुको माग, लगानीलगायतमा समेत ठुलो गिरावट आएकाले सरकारले आफ्ना कुराहरुको चाँडो सुनुवाई गरिनुपर्ने सुझाव उनिहरुको थियो ।

कर्जाको ब्याजदर बढ्दा सम्बन्धित क्षेत्रमा कर्जा प्रवाह घटेको उनीहरुको भनाई थियो । तर, उद्योग विभागको तथ्यांकले भने उनीहरुले छिटफुट विरोधका कार्यक्रम सुरु गरेकै महिना झन धेरै स्वदेशी लगानी प्रतिवद्धता आएको देखाएको हो । यता वैदेशिक लगानी प्रतिवद्धताको कुरा गर्दा पनि कार्तिक महिनामा शुन्य छ । अर्थात अझै भनौँ कार्तिक १ देखि हालसम्म नै नेपालमा विदेशी लगानी प्रतिवद्धता आएकै छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL