Logo

कच्चा तेलको मूल्य यो वर्षकै न्यून, नेपालमा कहिले घट्ला पेट्रोल-डिजेलको मूल्य ?

कच्चा तेलको मूल्य यो वर्षकै न्यून, नेपालमा कहिले घट्ला पेट्रोल-डिजेलको मूल्य ?



काठमाडौं । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ र यो यस वर्षकै न्यून स्तरमा पुगेको छ । मंगलबार यो वर्ष दोस्रो पटक ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ८० डलरभन्दा तल आएको छ । विश्व अर्थतन्त्रमा अनिश्चितता छ । जसका कारण लगानीकर्ता बजारप्रति निराश छन् । जसका कारण तेलको मूल्य घटेको हो ।

laxmi

लगातार तेस्रो सत्रको लागि, तेलको मूल्य एक प्रतिशत भन्दा बढीले घटेको छ र यो युक्रेन युद्ध सुरु हुनु अघिको स्तरमा पुगेको छ । युक्रेन युद्ध सुरु भएपछि एक पटक यो १३९ डलर प्रति ब्यारेल पुगेको थियो, जुन २००८ पछिको उच्चतम स्तर थियो ।

युक्रेन युद्ध पछि, मार्चमा तेलको मूल्य प्रति ब्यारेल १३९ डलर प्रतिब्यारेल पुगेको थियो, जुन सन २००८ पछिको उच्चतम स्तर हो । तर पछिल्लो समय यसको मूल्यमा भारी गिरावट आएको छ । मंगलबार ब्रेन्ट क्रुडको भाउ ३.३३ डलर वा चार प्रतिशतले घटेर ७९.३५ डलर प्रति ब्यारेल पुगेको छ । योसँगै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट क्रुड (डब्ल्यूटीआई) पनि २.६८ डलर वा ३.५ प्रतिशतले घटेर ७४.३५ डलरमा पुगेको छ । यो यस वर्षको सबैभन्दा न्यून स्तर हो ।

नेपालमा पनि घट्ला मूल्य ?

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएपनि लामो समयदेखि नेपालमा पेट्रोल–डिजेलको मूल्यमा कुनै परिवर्तन भएको छैन । पेट्रोल र डिजेलको मूल्यमा अन्तिम परिवर्तन अप्रिलमा भएको थियो । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने शुक्रबार विज्ञप्ति नै जारी गरेर बताएको थियो ।

निगमले हाल रु २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन नगर्ने बताउँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको छ । इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट यही १५ मङ्सिरमा प्राप्त खरिद मूल्यअनुसार एलपी ग्यासको मूल्य केही बढेको छ भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा केही घटेर आएको छ ।

“मङ्सिर १५ गते पाएको खरिद मूल्य सूचीबमोजिम एलपी ग्यासमा प्रतिसिलिण्डर रु ४३.९३ ले बढेर आएको छ । एलपी ग्यासमा निगमलाई हाल प्रतिसिलिन्डर रु दुई सय ७७.०२ घाटा भइरहेको छ”, विज्ञप्तिमा भनिएको छ, “निगमले इन्डियन आयल कर्पोरेशनलाई हालसम्म तिर्न बाँकी रकम, पुरानो बक्यौता तथा नेपाल सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी करिब रु २७ अर्ब तिर्न बाँकी छ ।”ग्यास सिलिन्डर बिक्रीबाट मात्र निगमलाई १५ दिनमा रु ३६ करोड ८५ लाख घाटा हुने देखिएको निगमले जनाएको छ ।

यद्यपि पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा मूल्य घट्दा पनि यथावत् राख्दा १५ दिनमा करिब रु ५८ करोड नाफा हुने निगमले जनाएको छ । “हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पदार्थको मूल्य पुनःघटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सञ्चालन राख्न र इन्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवं सरकारलाई उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई चुनौती रहेकाले हाललाई पेट्रोलियम पदार्थको खुद्रा मूल्य यथावत राखिएको छ”, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL