GBIME

आइसिटी ल्याब : गुमनाम ‘ई–भिलेज’ पुनरुत्थानमा सहयोगी, ‘सहयोगी हात’को खोजी


बिजखबर संवाददाता
30 October, 2022 10:59 am

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा विद्यालय पुनःनिर्माणसँगै आइसिटी (सूचना–सञ्चार तथा प्रविधि ल्याब) प्रयोगशाला व्यवस्थापन गरियो । यहाँँका माध्यमिक र उच्च माविमा नौ वर्षअघि आधुनिकतासँगै विश्वबजार प्रविधिमा रुमलिँदै गरेका बेला काभ्रेपलाञ्चोकको ‘चार मण्डन–तीन देउपुर’ भनिने मण्डनदेउपुर नगर सूचना–प्रविधि उपयोग गर्ने दौरानमा थियो । तर विसं २०७२ को भूकम्पले उक्त प्रविधि उपयोगको दौरान ठप्पप्रायः बनाइदियो ।

NABIL
lAXMI_BANK

तत्कालीन मण्डनका चार र देउपुरका तीन गाविसमा स्थानीय शैक्षिक नमूना ग्रामीण विकास केन्द्रद्वारा शिक्षा, स्वास्थ्य र कृषिमा आधुनिकतासँगै ‘ई–भिलेज’ नामाकरण गरी प्रविधियुक्त गाउँ बनाउन थालिएको थियो । भूकम्पपश्चात पुनःनिर्माण भएका नगरका १३ मावि तथा उच्च माविमा आइसिटी ल्याब व्यवस्थापन गरिएको छ भने अन्यमा व्यवस्थापनको तयारी भइरहेको छ । नगरमा ५३ प्रावि, निम्न मावि, मावि र उच्च मावि छन् ।

नगरका अन्य तहका विद्यालयमा आन्तरिक तथा संस्थागत सहयोगबाट सूचना–प्रविधिका काम पनि भइरहेका पाइन्छन् । “आइसिटी ल्याबले ई–भिलेजको अवधारणालाई सहयोग गरेको छ, भूकम्पपछि गुमनाम भएको ई–भिलेज पुनरुत्थानमा सहयोगी बनेको छ”, महाकाली उच्च माध्यमिक विद्यालयका प्राचार्य शिव पौडेलले भने । विद्यालयमा स्थापित आइसिटी ल्याबमा पाठ्यक्रम अध्यापनसँगै ई–भिलेजको अवधारणालाई सँगसँगै लगिएको उनको भनाइ छ ।

तत्कालीन अवस्थामा काभ्रेमा करिब एक सय विद्यालयमा आइसिटी ल्याब व्यवस्थापनको तयारी भएअनुसार ९२ विद्यालयमा भइसकेको र बाँकी रहेका केही विद्यालयमा व्यवस्थापनको काम भइरहेका छन् । विद्यार्थीको सङ्ख्याअनुसार एक विद्यालयमा १८ देखि २४ सम्म कम्प्युटर राखेर आइसिटी ल्याब व्यवस्थापन गरिएको हो ।

ई–भिलेजका अवधारणाले मूर्तरूप लिँदै गर्दा विनाशकारी भूकम्पले स्थानीय अभियन्ताको सपना चकनाचुर बनाइदिएको थियो । जसकारण अवधारणालाई निरन्तरण दिन भौतिक पूर्वाधारले साथ दिएन । पुनःनिर्माणपछि प्रविधियुक्त गाउँ बनाउने अवधारणा उठाउने हिम्मत गर्दै केन्द्र आफैँ जसोतसो चलायमान त बन्यो, तर निरन्तरता दिन भने सकेन । यद्यपि त्यतिबेला नै इन्टरनेट र यसको फाइदाबारे जानकार भइसकेका स्थानीय विद्यालय, स्वास्थ्य संस्था तथा व्यापारिक प्रतिष्ठानसँगै व्यक्तिका घरघरमासमेत इन्टरनेटको पुहँच भने पुगिसकेको छ ।

भूकम्पले थलाएको अवधारणालाई निरन्तरता दिन केन्द्रले एक विज्ञसहितको टोली बनाए पनि पुनः कोरोना महामारीले अवरोध पु¥यायो । हाल सोही कामको निरन्तरता दिन ‘सहयोगी हात’को खोजी भइरहेको केन्द्रका अध्यक्ष जनार्दन नेपालले बताए । “प्रविधियुक्त गाउँ बनाउने अवधारण मरिसकेको छैन, पुनः ब्यूँताउन सहयोगीको खोजी गर्दैछौँ”, उनले भने । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख प्रशासनिक सल्लाहकार एवं नेपाल सरकारका पूर्वसचिव रहेका नेपाल हाल मण्डनदेउपुर क्षेत्रका प्राथमिक विद्यालयका लागि थप कम्प्युटर व्यवस्थापनको प्रक्रियामा छन् ।

तत्कालीन समयमा ‘ई–भिलेज’ नाम दिइएको उक्त क्षेत्रमा मण्डनका जैसिथोक, महादेवस्थान, चण्डेनी र ज्याम्दी तथा देउपुरका नयाँगाउँ, गैरीबिसौना र बालुवापाटी बस्ती हुन् । जिल्लाको उत्तरपूर्वी यस क्षेत्रलाई ई–भिलेजका रूपमा विकसित गर्न विसं २०६९ मा मण्डनक्षेत्र गाउँ शिक्षा समन्वय समितिसँगको सहकार्यमा केन्द्रले यससम्बन्धी कार्ययोजना अवधारणा अघि सारेको थियो ।

ई–भिलेजमा ई–एजुकेशनसँगै ई–मेडिसिन र ई–एग्रिकल्चरको अवधारणालाई पनि क्रमैसँग लागू गर्ने कार्यक्रम बनाइयो । ई–भिलेजका अत्यावश्यक क्षेत्र मानिएको यहाँका विद्यालयमा ई–एजुकेशनका लागि शिक्षा मन्त्रालयसँग समन्वय गरी सामग्री तयार पार्न त्यतिबेला सूचना प्रविधि उच्चस्तरीय आयोगले सूचना प्रविधिको अधिकतम प्रयोग गरी ई–भिलेज बनाउन सर्वेक्षणसमेत गरेको थियो । भूकम्पताका सबै गाउँमा ई–एजुकेशनका काम यस क्षेत्रका सबै ५३ विद्यालयमा भइरहेको थियो ।

ई–मेडिसिनका लागि सदरमुकामस्थित धुलिखेल सामुदायिक अस्पतालले स्थानीय स्वास्थ्यचौकीको समन्वयमा टेलिमेडिसिन तथा ई–एग्रीकल्चरका लागि सातै गाउँमा (तत्कालीन सात गाविसमा) कृषि सूचना केन्द्र स्थापना गरिएको थियो । ई–एग्रीकल्चरका लागि भने स्थानीय उत्पादन तथा बजारबारे स्थानीय बासिन्दालाई गाउँमै जानकारी गराउन साझा वेबसाइट निर्माण गर्ने योजना बनाइएको केन्द्रका संस्थापक अध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिए।

ई–भिलेजको ई–एजुकेशन ई–मेडिसिन र ई–एग्रिकल्चर कार्यक्रम सञ्चालानका लागि वायरलेस कनेक्टिभिटी इन्टरनेटको व्यवस्था गरिएको थियो । विद्यालयमा इन्टरनेट सञ्जाल विस्तार गर्न अप्टिकल फाइबर बिछ््याउन सर्भेसमेत गरिएको थियो । यी सबै काम भूकम्पले रोकिदिएको थियो । ई–मेडिसिनका लागि सात गाविसका सातवटै स्वास्थ्य केन्द्रमा ल्यापटप व्यवस्था गरिएको थियो । प्रविधिका सामग्रीका लागि एक्सन एड नामक संस्थाले सहयोग गरेको थियो ।

वायरलेस प्रविधि प्रयोग गरी तत्कालीन सातै गाविसबीच आन्तरिक नेटवर्क बनाउन प्रविधिविज्ञ महावीर पुनले सहयोग गरेका थिए । सापकोटाका अनुसार ई–भिलेज कार्यक्रममा स्थानीय विद्यार्थी प्रविधि जानकार हुने तथा यहाँका बासिन्दाले ई–बुलेटिनमार्फत विश्वको सूचना सजिलै पाउनुका साथै स्वास्थ्य र कृषि उत्पादन–बजारबारे समेत जानकारी लिनसक्ने उद्देश्य थियो । त्यसबेलै केन्द्र र उपकेन्द्रबाहेकका विद्यालयलयले भने लेखा तथा प्रशासनिक काम कम्प्युटरबाट गर्न सकेका थिए ।

त्यतिबेलादेखि नै माविले कम्प्युटर विज्ञानका कक्षा चलाउँदै आएका हुन् । साथै महाकाली उच्च माविमा पुस्तकालय (ई–लाइबे्ररी) सञ्चालन गरी कम्प्युटर कक्षा तथा खाली समयमा विद्यार्थी कम्प्युटरबाट विभिन्न किताब पढ्ने नयाँ पाठ्यक्रमको खोजी गर्दथे ।

विसं २०७२ वैशाखको भूकम्पले ई–भिलेजको ५३ विद्यालयमध्ये ४६ क्षतिग्रस्त बनाउँदा भवनबाहेक एक सय ९५ कम्प्युटर, ११ प्रोजेक्टर, ११ डिस्प्ले बोर्ड, २२ युपिएस, १८ वटा साइन्स ल्याब, ४७ पुस्तकालय, ३५ शौचालय, तीन हजार दुई सय डेक्सबेञ्च, पाँच सय कुर्सी र दुई सय ५० टेबुल क्षतिग्रस्त बनाएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL