Logo

सरकारको खर्च बढ्दो आम्दानी घट्दो, तीन महिनामा ४६ अर्ब आम्दानी घट्दा ३७ अर्बले बढ्यो चालु खर्च

सरकारको खर्च बढ्दो आम्दानी घट्दो, तीन महिनामा ४६ अर्ब आम्दानी घट्दा ३७ अर्बले बढ्यो चालु खर्च



काठमाडौं । गत आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षमा सरकारको खर्च बढेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात ३ महिनामा सरकारले चालु खर्च शीर्षकमा २ खर्ब २३ अर्ब ८८ करोड ९० लाख रुपैयाँ खर्च गरेको छ । यो गत आर्थिक बर्षको तुलनामा ३७ अर्ब १५ करोड रुपैयाँले बढी हो ।

laxmi

महालेखापरीक्षकको कार्यालयका अनुसार गत आर्थिक बर्ष २०७८÷७९ को पहिलो ३ महिना अर्थात साउनदेखि असोज मसान्तसम्म १ खर्ब ८६ अर्ब ७३ करोड ९ लाख रुपैयाँ चालु खर्च भएको थियो । कर्मचारीको तलव, विभिन्न भत्तालगायत प्रशासनिक खर्च यसमा पर्दछ ।

पछिल्लो समय राजनीतिक अस्थिरताका कारण प्रत्येक बर्ष फेरबदल भइरहने सरकारका कारण कर्मचारीको तलब, कार्यालय संचालन खर्चलगायत प्रशासनिक खर्चसमेत उकालो लाग्दो छ । अझ चुनाव नजिकिँदै जाँदा सरकारले भोट बटुल्नकै लागि ल्याएकोे पपुलर बजेटको प्रत्यक्ष असार चालु खर्च शीर्षकमा देखिन्छ । जसका पछिल्लो उदाहरण हो चालु आवको ३ महिनामा चालु शीर्षकमा भएको खर्च हो ।

सरकारले यो आर्थिक बर्षमा ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ चालु खर्च गर्ने लक्ष्य राखेको छ । जसमध्ये हालसम्म अर्थात ३ महिनामा लक्ष्यको १८.९२ प्रतिशत खर्च भइसकेको छ । यो खर्च पछिल्लो ३ महिनामा सरकारले उठाएको कुल राजस्वभन्दा ८ अर्बले मात्रै कम हो । चालु आवको ३ महिनामा सरकारले वैदेशिक अनुदान, करलगायत विभिन्न शीर्षकमा २ खर्ब ३२ अर्ब १२ करोड रुपैयाँ राजस्व उठाएको छ । अर्थात बाँकी रहेको ८ अर्ब ३७ करोड रुपैयाँ मात्रै वित्तीय व्यवस्था र पुँजीगत शीर्षकमा खर्च गर्नुपर्ने अवस्था रहेको महालेखाले जानकारी दिएको छ ।

यता पुँजीगत खर्चतर्फ भने सरकारले ३ महिनामा लक्ष्यको ५.१७ प्रतिशत अर्थात १९ अर्ब ६८ करोड १९ लाख रुपैयाँ मात्रै खर्च गरेको छ । गत आवको सोही अवधिलाई हेर्दा चालु आवमा पुँजीगत खर्च ४ अर्बले बढेको देखिन्छ । गत आवको पहिलो ३ महिनामा सरकारले १५ अर्ब ३ करोड २७ लाख रुपैयाँ पुँजीगत खर्च गरेको थियो ।

आम्दानीमा गिरावट

गत आवको तुलनामा यो बर्ष खर्च बढेपनि आम्दानीमा भने गिरावट आएको छ । असोज मसान्तसम्मको तथ्यांक हेर्दा सरकारले विदेशी अनुदान, अन्य आम्दानी तथा राजस्वमार्फत २ खर्ब ३२ अर्ब १२ करोड करोड रुपैयाँ आम्दानी गरेको छ ।

यो गत आर्थिक बर्षको पहिलो ३ महिनाको तुलनामा ४५ अर्ब ७२ करोड ७७ लाख रुपैयाँले कम हो । अर्थात सरकारले गत आवको पहिलो ३ महिनामा २ खर्ब ७७ अर्ब ८५ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको थियो । यो बर्षको पहिलो त्रैमासमा सरकारले कर राजस्व शीर्षकमा १ खर्ब ८९ अर्ब, गैरकर राजस्व शीर्षकमा १९ अर्ब २० करोड, विभिन्न अनुदान शीर्षकमा ७९ करोड ३० लाख र अन्य राजस्वतर्फ २२ अर्ब ७४ करोड रुपैयाँ आम्दानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL