Logo

तीन महिनामा कच्चा तेलको मूल्य ३० डलरले घट्यो, नेपालमा किन घट्दैन पेट्रोल-डिजलको मूल्य ?

तीन महिनामा कच्चा तेलको मूल्य ३० डलरले घट्यो, नेपालमा किन घट्दैन पेट्रोल-डिजलको मूल्य ?



काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा जूनको सुरुदेखि ओरालो लागेको कच्चा तेलको मूल्य हालसम्म प्रति ब्यारेल ३० डलरले घटेको छ । मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकी फेड रिजर्भलगायत धेरै देशका केन्द्रीय बैंकहरूले ब्याजदर बढाएका छन् ।

योसँगै अमेरिका र अन्य धेरै देशहरूमा मन्दी आउने सम्भावना छ । यसले आगामी दिनमा तेलको मागलाई असर गर्ने अपेक्षा गरिएको छ । धेरै वित्तीय र व्यापारिक सूचकहरूले पनि आगामी दिनमा ओरालो हुने संकेत गरिरहेका छन् । जसका कारण तेलको मूल्य एक सीमामा कारोबार भइरहेको छ

कच्चा तेलको मूल्यमा गिरावट

सोमबार ब्रेन्ट क्रुड प्रारम्भिक व्यापारमा ९७ सेन्ट बढेर ९२.३२ डलर प्रति ब्यारेलमा पुगेको छ । त्यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) ८४ सेन्टले बढेर ८५.९५ डलर प्रति ब्यारेल पुगेको छ ।

पछिल्लो समय यसको मूल्य स्थिर रहेको छ । यसको कारण अमेरिका र धेरै युरोपेली देशहरूमा मन्दीको सम्भावना साथै चीनमा कोरोना संक्रमित बढेसँगै आर्थिक गतिविधि प्रभावित हुने आँकलन भनिएको छ । यसले आगामी दिनमा तेलको मागलाई असर गर्न सक्ने भएकाले कच्चा तेलको मूल्य घटेको विज्ञहरु बताउँछन् ।

नेपालमा के छ अवस्था ?

नेपालले आफुलाई आवश्यक पर्ने पेट्रोलियम पदार्थ भारतबाट खरीद गर्दै आएको छ । नेपाल आयल निगम (एनओसी) ले माग र आपूर्तिका आधारमा भारतीय आयल कर्पोरेसन (आइओसी) सँग तयारी अवस्थाको पेट्रोलियम पदार्थ खरीद गर्दै आएको छ । नेपालमा रिफाइनरी नभएका कारण भारतले कच्चा तेल खरीद गरि त्यसमा प्रशोधन शुल्क जोडेर नेपाललाई पेट्रोलियम पदार्थ दिदै आएको छ । यसकारण नेपालमा पेट्रोलियम पदार्थको मूल्य आइओसीले हरेक अग्रेजी महिनाको १ र १६ तारिखमा पठाउने मूल्य सूचीबाट तय गरिन्छ ।

भारत आफैले पनि कच्चा तेल बाहिरबाट ल्याएर रिफाइन गर्ने भएकाले उसले तोक्ने मूल्य अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आधारित रहने गर्छ । यसरी हेर्दा अन्तरािष्ट्रय बजारमा कच्चा तेलको भाउ बढ्दा नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढछ भने घट्दा मूल्य घट्छ । तर, नेपालमा भने विगत केही महिनायता सरकारले लागु गरेको स्वचालित मूल्य प्रणालीअनुसार मूल्य घटबढ भएको छैन् । पछिल्लो समय निगमले पहिलेको सञ्चित घाटा देखाउँदै मूल्य घटेर आउँदा पनि समायोजनमा बेवास्ता गर्ने तर बढेर आउँदा बढाउने गरेको छ ।

भारतबाट घटेर आएपनि वेवास्ता

आइओसी यही सेप्टेम्बर १६ मा नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठायो । जसमा भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । (आईओसी) मूल्य घटेर आएको हो । नेपाल आयल निगमलाई आईओसील पठाएको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ६.५५ रूपैया घटेको छ । जसबाट निगमलाई पेट्रोल बिक्रीबाट प्रतिलिटर ८ रूपैयाँ फाइदा हुने भएको छ भने डिजेलको प्रतिलिटर ४४ पैसा घटेर आएको हो ।

हाल निगमले पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ र डिजेल १७८ प्रतिलिटर बिक्री गरिरहेको छ । हाल भारतबाट पेट्रोलको मूल्य घटेर आएपनि निगमले घाटा भएकोले तत्काल मूल्य घट्ने अवस्था नभएको निगम स्रोत बताउँछ । यसरी निगमले मूल्य घटेर आएको अवस्थामा पनि उपभोक्ताका लागि मूल्य घटाउन वेवास्ता गर्दै आएको देखिन्छ ।

नेपालमा कति छ मूल्य ?

नेपालमा हाल डिजेल र मट्टिलेन प्रतिलिटर १ सय ७८ रुपैयाँ, पेट्रोल १ सय ८१ रुपैयाँ, हवाई इन्धन १ सय ९० रुपैयाँ प्रतिलिटर र खाना पकाउने ग्याँस प्रतिसिलिण्डर १ हजार ८ सय रुपैयामा खरिदविक्री भईरहेको छ । पछिल्लो पटक नेपाल आयल निगमले पेट्रोलियमको मूल्य भदौ १६ मा बढाएको थियो । जसमा पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य यथावत राखिँदा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाईएको थियो ।

हाल नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर १४.१९ रुपैयाँ र डिजेलमा प्रतिलिटर २१.९२ रुपैयाँ घाटा व्यहोरिरहेको बताएको छ । यस्तै खाना पकाउने ग्याँस पनि प्रतिसिलिण्डर ५ सय ८२ रुपैयाँ ४२ पैसा घाटामा बेचिरहेको बताएको छ । निगमलाई मट्टितेल र हवाई इन्धनमा भने फाईदा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL